ताजा अपडेट »

पूर्व माओवादी मिल्ने कुरा !

शुक्रबार, २५ साउन २०८१, १६ : २३
434 Shares
शुक्रबार, २५ साउन २०८१
434 Shares

नेकपा (माओवादी) को सत्ता वहिर्गमन पछि पूर्व माओवादीहरु एकिकृत हुन पर्ने कुरा उठेको छ । विप्लवजीले यो कुरा सार्वजनिक मञ्चबाटै उठान गर्नु भएको छ । गंगा श्रेष्ठजी एकिकरणको निम्ति तम्तयार अवस्थामा रहनु भएको छ । एमालेबाट निराश भएर मणि थापाजी पनि यतै फर्कने कुरा गर्नु भएको छ ।

यी सबै सकारात्मक सुचकहरू हुन्, एकता हुने कुरा स्वागत योग्य छ, पुराना सबै साथि, युद्धमा सहभागी भएका साथिहरु, गणतन्त्र प्राप्ती भन्दा पहिले नै एकाकार भएका साथिहरु, इतिहासमा लामो भुमिगत जिवन बिताएका साथिहरू, जेलनेल र यातना भोगेका साथीहरु, अठार वर्षसम्म सत्ताको अनुभव बटुलेका साथिहरु, सत्ता बाहिरबाट सत्ताको दृश्य अवलोकन गरिरहेका साथिहरु, गणतन्त्र प्राप्ति पछि पनि भोको पेट लिएर हिड्ने साथिहरु, संसद विघटनको बिरोधमा सगैं रहेका साथिहरु, एउटै भावना, एउटै विचार र एउटै पार्टी बनाएर अगाडि बढ्न पाउदा कति आनन्द आउथ्यो होला ।

हो!  यो आजको आवश्यकता हो, वस्तुस्थितिले माग गरेको कुरा पनि हो, जनताको आवाज पनि हो ।  देशको आवश्यकता पनि हो, हामि त भन्छौ, पूर्व माओवादी मात्र किन!नेकपा (एस) किन अलग बस्ने ! वहाँहरुको छुट्टै पहिचान के छ जो एकता गर्न सकिदैन। त्यसैले वहाँहरु पनि सम्मिलित हुन पर्दछ, उपेन्द्रजी एकाउन्न सिटबाट खुम्चेर चार सीटमा झर्नु भएको छ, हामि सबैले पार्टी फोरेर सात टुक्रा बनाएका छौं, अब पनि समिक्षा नगर्ने, अब पनि एकाकार किन नहुने ! अशोक राइजिहरु अलग बसेर के प्राप्त गर्न सकिन्छ, बाबूरामजी लगाएत हामिहरु किन अलग बस्ने! हामि एक्ला एक्लै बसेर कसैको पनि अस्तीत्व थामिने वाला छैन, यो आजको युगको मागको कुरा हो तर यो कुरा आवस्यकताले मात्र, भावनाले मात्र सम्भव हुदैन ।

आजको एकताको वाधक भनेको वस्तुगत आवश्यकता र चेतना बिचको अन्तर बिरोध नै हो। आजको बहस कांग्रेस कि कम्यूनिष्ट, माओवाद कि विचारधारा, जनयुद्ध कि जनसघंर्ष, खुला हुने कि भुमिगत , पुष्पलालकी विपी, आन्तरीक प्रधानकि बाह्य, यी मध्ये कुनै पनि हाम्रा बहसका विषय होइनन् । यि विषयहरुले राष्ट्र र जनताका समस्यासँग सम्बन्ध राख्दैनन । पार्टीको नेता को हुने! प्रचण्ड की माधव या बाबूराम की विप्लव, यो पनि बहसको विषय होइन र जनताको सरोकारको विषय पनि होइन । चुनाव चिन्ह तिम्रो कि मेरो ! झण्डा तिम्रो कि मेरो! यो  पनि जनताको चासोका विषय होइनन्। आजको चासोको विषय भनेको देशको ओरालो यात्रालाई कसरी रोक्ने! गिर्दो अर्थतन्त्रलाई कसरी माथि उठाउने ।

कोरोना रोग जस्तै महामारीको  रूप लिदै गइरहेको भष्ट्राचारलाई कसरी रोक्ने, बालुवाटार र सिंह दरबारलाइ भष्ट्राचारमुक्त कसरी बनाउने ,विदेशीने युवा युवतीको पलायन लाई कसरी रोक्ने, निरन्तर बन्द हुदै गरहेका उद्योग र साना उद्योगहरु लाइ कसरी संचालनमा ल्याउने, शिक्षा र स्वास्थ्यमा निरन्तर भइरहेको निजिकरणलाई नियन्त्रण गर्दै कसरी जनताको पहुचमा ल्याउने, वर्षमा पटक पटक सरकार परिवर्तन हुने परम्पराको अन्त्य कसरी गर्ने, यि हुन आजका सार्वजनिक महत्वका छलफलका विषयहरु यी सोचका साथ अगाडि बढेउ भने मात्र हामि निष्कर्षमा पुग्न सक्दछौ, त्यस्को लागी हामीमा रहेको अहंकार, हामिमा रहेको इगो र सामन्ती सोचको त्याग गर्न जरुरी छ। 

हामि आवश्यक परे नेतृत्व छाड्न तैयार रहनु पर्दछ ,सङ्गठनलाइ आफ्नो विर्ता र विरासत सम्झने सत्वको विघटन हुन जरुरी छ। मेरा आदरणिय, सम्मानीय नेतृत्व ज्युहरु! यो आवश्यकतालाई आत्मसात गरौं र हिम्मत गरौं। समयको आवस्यकतालाइ बुझौं । कार्यकर्ताको चाहनालाई आत्मसात गरा। यसरी अगाडि नबढीकन हामि लक्ष्यमा पुग्न सक्ने छैनौ। उपेन्द्रजीले महीनौ लगाएर तिनसयको हाराहारीमा केन्द्रिय समितीको घोषणा गर्नु भएको छ । 

यसै गरी त्यति नै सख्याँको कमिटी माधवजीहरुको, दुईसय माथिको बाबूरामजीको, त्यो भन्दा अझ माथि माओवादीको खै के काम छ ती केन्द्रिय कमिटीहरुको!बेरोजगारहरुको उत्पादन, यो नेता मुखी चिन्तन, यो सामन्तवादी संस्कृतीबाट उत्पन्न विचारलाई भत्काउ, मुलरुपमा नेताहरूको दिमागबाट यो चेतनालाई भत्काउने साहस गरौं । 

हामि सबै तल बस्ने हिम्मत गरौं, त्यहि बिन्दुबाट नयाँ संस्कृतिको जन्म हुनेछ, हामिहरु संगठनलाई आफ्नो निजि सम्झेका छौ । त्यसैको माध्यमबाट सत्तामा उक्लने र झर्ने जुन साधन बनाएका छा । त्यस्लाइ त्याग गरौं, विसाल हृदयले सोचौ,  अब आखाँ खोलौ, आखा खोल्ने समय आएको छ , होसको औषधि खाने समय आएको छ। यदि हामि रूपान्तरण हुँदैनौं । हामि यथास्थीतीबाट माथि उठ्न चाहदैनौ भने आआफ्नो डायरीमा लेखेर राखौँ । 

आउने निर्वाचनमा हाम्रो पराजयलाइ कसैले रोक्न सक्ने छैन । जनताको दृष्टिमा हामि सबै खराबीमा गणना भएका छौ, यदि हामिले नयाँ केहि गर्न सकेनौं । निरन्तरतामा क्रमभंग गर्न सकेनौं भने खराबि हरुको थुप्रोको विचबाट नै रोज्नु पर्ने अवस्था आयो भने जनता बलियोलाइ रोज्ने छन् कमजोरलाई होइन, तपाइ हामि भन्दा कांग्रेस एमाले नै बलिया छन्, यो तितो यथार्थ हो ।  जनताले दुइटा कुरा हेर्छ, राम्रो र बलियो, यदि हामि राम्रो पनि हुन सकेनौ र बलीयो पनि हुन सकेनौं भने जनताले कमजोर लाई छान्न सक्दैन। यो अनुभव सिद्ध ज्ञानको कुरा हो । आउने निर्वाचनमा यहि यथास्थीती मै एक्ला एक्लै अगाडि बढ्ने हो भने हाम्रो बिनासलाई कसैले रोक्न सक्ने छैन। हेक्का राखौँ ।  दर्शनले, विचारले र चर्का चर्का शब्दावलीहरुले मात्र कोही क्रान्तिकारि बन्दैन । 

विचारले मात्र हुन्थ्यो भने हिटलर पनि राष्ट्रवादको नारा बोकेको थियो, तिस वर्षसम्म सत्ताको नेतृत्व गरेका ज्योती बसु बुद्धदेव भट्टाचार्यहरु पनि साम्यवादको विचार बोकेका थिए । मोहन बैधजीहरु पनि यो व्यवस्थामा सहभागी हुनुभएको छैन, चाउचेस्कुले  पनि त साम्यवादको झण्डा उठाएका थिेए। के काम लाग्यो, व्यवहार बिनाको दर्शन, नैतीकता बिनाको विचार ।  त्यसैले विचारलाई व्यवहारमा प्रयोग गरौं, यतिवेला  संविधानसभाका उठानकर्ताहरू सबै सबै एकै ठाउ हुने वेला आएको छ । आफुले स्थापित गरेका एजेण्डाहरू माथि अर्कैले बलात्कार गर्ने दुष्शाहस गरिरहदा हामि टुक्राटुका बनेर छिरौलीएर कसरी वस्न सक्छौ । 

इतिहासको समीक्षा गरौँ, हामि आफैको आत्म समिक्षा गरौं, अरुतिर होइन हामि आफुतिर फर्कौ, पहिलो संविधान सभामा हामि अकल्पनीय परिणामका साथ अग्रस्थानमा थियौं, १२० स्थानमा विजय गरिका थियौ भने अधिकांश स्थानहरूमा दोश्रो स्थान हासील गरेका थियौ, दोश्रो संविधान सभामा हामिले जनतावाट विस्वाश गुमाइ सकेका थियौँ । हामि पराजित भयौं तर यो कुरा हामिले मानेनौं, हामिले सेनालाई दोषी ठहरायौं, सेनाले वाकस साटेर हामिले हारेउ भनेर हाम्रो कमजोरी लुकायौँ । त्यो नै हाम्रो ओरालो यात्रा थियो, तेस्रोमा हामी एमाले मतको सहारामा थियौं भने चौथोमा हामि कांग्रेसको मतको सहारामा । 
त्यसैले अब अरुतिर होइन आफूतिर फर्कौ, निर्मम समिक्षा गरौं । चुनबाङ्गको इतिहासलाइ सम्झौ, अब फेरि चुनबाङ्ग जस्तै मन माझामाझ गर्ने समय आएको छ  सबैले प्रायश्चीत गर्न पर्ने भएको छ, तपाई नेतृत्वका साथिहरु सबै जिवनको उत्तरार्धमा हुनुहुन्छ, बाँकी बचेको, जीवनलाई इतिहासको पुनर्निमाणमा लगानी गरौं,अब एक्लै माघवजी, एक्लै बाबुरामजी, एक्लै विप्लवजी एक्लै प्रचण्डजी, एक्लै उपेन्द्रजी जनताको विचमा गएर केहि हुनेवाला छैन  । 

दिनको दुइसय किलोमिटरको रफतारमा दौड लगाए पनि परिणाम आउने छैन । आज सत्ता सम्हाली रहेकाहरुलाई सत्तो सराप  गरेर मात्र पनि केहि परिणाम आउने छैन किनकि हिजो सम्म हामि  पनि त सत्ता मै थियौं, त्यसैले विप्लवजीको आवाज सुनौ, गंगाजीको आवाज सुनौ, जनताको आवाज सुनौ, हामि सबैको आवाज सुनौँ । आजका सत्तासिनहरुको विपक्षमा अर्को शशक्त अग्रगामी विचार र योजना सहीतको नयाँ पार्टीको निमार्ण गरौं । हामि सबैलाइ यो कुरा पनि ज्ञान छ कि पुरानो नभत्काइकन नयाँ बन्ने गर्दैन।  

अतः परम्परालाई भत्काउ, बिरासतलाई भत्काउ,सत्वलाइ भत्काउ, मेरोलाइ भत्काउ,पुराना सङगठनात्म सोचहरु भत्काउ, हामि र हाम्रोमा फर्कौ, केहि क्षणको लागि सहि आध्यात्मको भनाई  जुन यर्थाथ पनि हो हामि नाङ्गै आएका थियौं र जाने वेलामा पनि हामि नाङ्गै जाने छौं भन्ने सत्यलाई स्मरण गरौं। यदि हामि सामूहिक रूपमा आत्मसमिक्षा सहित अगाडि बढेउ भने हाम्रो विजयलाई कसैले रोक्न सक्ने छैन । 
यदि यसो गर्न सक्यौ भने हामि सत्तरीको वरपर पुगेका जेष्ठ नागरिकहरुको शरिरमा पनि अभुतपुर्व रक्त संचार हुनेछ, मानसिक रोगमुक्त हुनेछौँ ।आफ्ना इतिहासका अनुभवहरु नयाँ पुस्तालाई सुनाउदै देश दौडाहामा निक्लने छौ,कास! मेरा सबै आदरणीय सम्माननिय,समकक्षी सबै नेतृत्वहरुमा यो चेतनाको बिकास होस्, हामी सबैले कामना गरौं।
 

विष्णुहरि शर्मा
लेखकको बारेमा
विष्णुहरि शर्मा
रतम्भकार