ताजा अपडेट »

बुटवल आम्दा अस्पतालमा २० वर्षअघि बनेको भवनलाई काँग्रेस नेताको नाममा जोडेपछि विवादित

शुक्रबार, २५ साउन २०८१, १२ : ०५
1.10K Shares
शुक्रबार, २५ साउन २०८१
1.10K Shares

बुटवल । बुटवलको आम्दा अस्पतालमा २० वर्षअघि निर्माण भएको भवनलाई काँग्रेस नेताको नामसँग जोडेर नामाकरण गरेपछि विवादित बनेको छ । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को प्रशासनिक भवनलाई नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको नाममा नामाकरण गर्ने निर्णयप्रति नेकपा एमाले बुटवल उपमहानगर कमिटीले आपत्ति जनाएको छ । साउन १६ गते बसेको अस्पताल व्यवस्थापन समितिको बैठकमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले उक्त प्रस्ताव पेश गरी निर्णय गराएका थिए ।

पाण्डेय अस्पतालको स्थानीय व्यवस्थापन समिति अध्यक्ष हुन् । उक्त समितिमा उपमहानगर प्रमुख पदेन अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष पदेन उपाध्यक्ष रहने व्यवस्था छ । स्थानीय व्यवस्थापन समिति सेरेमोनीयल भूमिकामा सहजिकरणको मात्रै काम गर्ने संयन्त्र भएपनि मेयर पाण्डेयले राजनीतिकरण गरी प्रशासनिक भवनको नाम सूर्यप्रसाद प्रधानसँग जोडेर राख्ने निर्णय गर्नु  अत्यन्तै त्रुटिपूर्ण निर्णय भएको एमाले नगर अध्यक्ष किसन ज्ञवालीले विज्ञप्ति जारी गर्दै भनेका छन् । ‘२० वर्ष पहिले निर्माण भईसकेको प्रशासनिक भवनलाई हाल आएर अमूक राजनितिक व्यक्तिको नाममा नामाकरण गर्ने अत्यन्तै त्रुटि पूर्ण निर्णय भएको छ, अतः पुरानो प्रशासनिक भवनलाई व्यक्तिसँग जोडेर नामाकरण गर्ने निर्णयप्रति हाम्रो पार्टीको गम्भिर असहमति रहेको व्यहोरा जानकारी गराउँदै उक्त अपरिपक्क निर्णय तत्काल फिर्ता लिई आम्दा अस्पतालको गुरुयोजना अनुसार सेवा विस्तार तथा प्रभावकारी सञ्चालनको काम अगाडि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ’–विज्ञप्तिमा भनिएको छ ।

२०५५ सालमा बुटवल ७ दिपनगरमा स्थापना भई सञ्चालनमा आएको अस्पताल जापानको आम्दा इन्टरनेशनल र नेपाल सरकारको सहयोगमा निर्माण भएको हो । स्थानीय व्यवस्थापन समितिका उपाध्यक्ष एवं बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरिप्रसाद अर्यालले सूर्यप्रसाद प्रधानले अस्पताल स्थापनामा खेलेको भूमिकाको सम्मानका लागि प्रशासनिक भवन उनको नाममा नामाकरण गर्ने प्रस्ताव नगर प्रमुख पाण्डेयले बैठमा ल्याएका र आम्दा नेपाल तथा आम्दा इन्टरनेसनलका प्रतिनिधिले पनि समर्थन गरेर निर्णय भएको बताए । उक्त समितिमा बुटवलका पूर्व मेयर पनि पदेन सदस्य हुने व्यवस्था छ ।  पुर्व मेयर शिवराज सुवेदी बैठकमा अनुपस्थित भएको मौका छोपेर अस्पताललाई राजनीतिकरण गर्ने गरी भएको निर्णय एमाले लगायत अन्य दललाई स्वीकार्य नहुने एमाले नगर अध्यक्ष ज्ञवालीले बताए । यस सम्बन्धमा अन्य दलहरुसँग बैठक बसेर थप निर्णय लिइने उनले बताए ।

यसअघि नगरप्रमुख पाण्डेयले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको नाम गिरिजाप्रसाद कोइराला नामारण गर्ने निर्णय उपमहानरको कार्यपालिका बैठकबाट पारित गराएका थिए । तर नेकपा एमाले लगायतका दलले चर्को विरोध गरेपछि उक्त निर्णय कार्यान्वयन हुन सकेन ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।