ताजा अपडेट »

स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा थपिएपछि प्रसुती सेवा थप सहज

शुक्रबार, २५ साउन २०८१, ०८ : ४३
2.01K Shares
शुक्रबार, २५ साउन २०८१
2.01K Shares

दाङ । शान्तिनगर गाउँपालिका २ की पवित्रा शाहीलाई स्वास्थ्य चौकी बाघमारेमा भिडियो एक्स-रे हुन्छ, भन्ने थाहा थिएन । उनी भिडियो एक्सरे गर्नको लागि तुलसीपुर जाने तयारीमा थिइन । तर, स्वास्थ्य चौकी बाघमारेमा गर्भवती महिलाहरूको लागि ग्रामीण  भिडियो एक्सरे (ल्ट्रा साउण्ड) सेवा शुरु भएको स्थानीयले भनेपछि उनी स्वास्थ्य चौकी आएकी थिइन् । स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा पाउँदा शाहीले निकै खुशी लागेको  बताइन् ।  उनले भनिन्,‘ आफ्नै ठाउँमा  सेवा पाउँदा निकै खुशी लागेको छ । यो सेवा नहुँदा तुलसीपुर जानु पर्ने बाध्यता हुन्थ्यो । तर, यही पाउँदा हामी जस्तालाई पैसा, समय र जोखिम कम हुने भएको छ ।

तुलसीपुर बजार जाँदा पनि १५ सय जति खर्च भइहाल्थ्यो । बाटो पनि राम्रो छैन ।’ लुम्बिनी प्रदेश सरकारले मेसिन सहयोग गरेपछि स्वास्थ्य चौकीमा यही साउन १ गतेदेखि सञ्चालनमा आएको हो । स्वास्थ्य चौकीले पहिलेदेखि नै ‘बर्थिङ सेन्टर’  सेवा पनि दिँदै आएको छ । अब त्यसमा झन भिडियो एक्सरे सेवा शुरु भएपछि सेवाग्राही खुशी भएका छन् । शान्तिनगर २ कै अनिष मियाले श्रीमतीको डेलिभरी स्वास्थ्य चौकीबाट नै गराएको बताए । सेवा राम्रो पाएको भन्दै उनले आफ्नै गाउँ ठाउँमा यस्तो सेवा पाउनु राम्रो कुरा भएको समेत बताए ।

उनले भने,‘ यदि यहाँ यो सेवा नभएको भए । तुलसीपुर बजार लैजानु पर्ने थियो । गाडीमा लैजाँदा धेरै खर्च लाग्ने थियो । तर, यहाँ खर्च लागेन । एकदमै  खुशी लागेको छ ।’ स्वास्थ्य चौकीमा रुलर युएसी मेसिन आएको र  यही साउन १ गतेदेखि ग्रामीण भिडिओ एक्सरे सेवा शुरु भएसँगै अहिले ७ जना गर्भवती महिलाहरूले चेकजाँज गर्दै आएको स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक इच्छा महतले बताइन् ।  यो सेवाले गर्भवती महिलाहरू बाहिर जानु पर्ने उनको भनाइ छ । यस्तै उनले स्वास्थ्य चौकीले बर्थिङ सेन्टर सेवा दिँदै आइरहेको र नर्मल खालको डेलिभरी हुने गरेको र जटिल खालकालाई रिफर गर्ने गरेको बताइन्

। उनले भिडियो एक्सरे सेवाले बच्चाको अवस्थाको बारेमा जानकारी लिन सहज हुने हुँदा अझै राम्रो सेवा हुने बताइन् ।  गाउँपालिकामा रहेका ३ वटा स्वास्थ्य चौकी मध्य शान्तिनगर र धनौरी स्वास्थ्य चौकीमा गत आर्थिक वर्षदेखि नै ग्रामीण भिडियो एक्सरे सेवा दिँदै आएका छन् । शान्तिनगर गाउँपालिका ४ की पार्वती बूढाले पनि शान्तिनगर स्वास्थ्य चौकी चिराघाट भिडियो एक्सरे गर्न आएकी थिइन् । पहिला तुलसीपुर जानु पर्ने बाध्यता थियो, भने अहिले आफ्नै ठाउँमा सेवा निःशुल्क सेवा धेरै खुशी लागेको बताइन् ।

गत आर्थिक वर्षमा ३६६ जनाले भिडियो एक्स-रे सेवा लिए
गाउँपालिकाका ३ वटा स्वास्थ्य संस्थाहरूमा ग्रामीण भिडियो एक्सरे सेवाले गर्भवती महिलाहरूमा भएको समस्या पहिचान गरी स्थानीय ठाउँ मै समाधान गर्न मद्दत पुगेको गाउँपालिकाका स्वास्थ्य शाखाका निमित्त प्रमुख घनश्याम पाण्डेले बताए । उनका अनुसार भिडियो एक्सरे ४ पटक सम्म गर्ने गरिन्छ । यदि कसैलाई जटिल देखिएमा बाहिर रिफर गरिन्छ । यसले गर्दा धेरै राम्रो भएको छ । यस्तै गत आर्थिक वर्षमा शान्तिनगर र धनौरीमा गरी ३६६ जना गर्भवती महिलाले भिडियो एक्सरे सेवा लिएको र ५७ जनाले प्रसूति सेवा लिएको उनले बताए । उनले भने,‘ हाम्रो  ३ वटै स्वास्थ्य संस्थामा २४ सै घण्टा प्रसूति सेवा रहेको छ । पहिला भिडियो एक्सरे सेवा नहुँदा स्वास्थ्यकर्मीले छामेर सेवा दिने गरेका   थिए । अहिले भिडियो एक्सरेबाट हेर्ने र नर्मल भए सोही संस्थामा डेलिभरी गराउने र जटिल भए बाहिर पठाउने गरेका छन् । यसले गर्दा पनि सेवा प्रभावकारी भएको छ ।’

उनका अनुसार स्वास्थ्य चौकीमा प्रत्येक दिन २र  ३ जना गर्भवती महिलाले निःशुल्क भिडियो एक्सरे सेवा लिन गरेका छन् । ३ महिनादेखि बच्चा नजन्मिएसम्म ४ पटक सम्म भिडियो एक्सरे गरेर आमा र बच्चाको अवस्था जानकारी लिने गरेको भन्दै उनले कुनैलाई केहि समस्या भएमा पनि सेवा दिइरहेको बताए ।   गत आर्थिक वर्षमा शान्तिनगर र धनौरी स्वास्थ्य चौकीबाट ३३६ जनाले भिडिओ एक्सरे सेवा लिएको र तिन वटै स्वास्थ्य संस्थाबाट ५७ जना महिलाले प्रसूति सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखाका निमित्त प्रमुख घनश्याम पाण्डे बताउनु हुन्छ ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर काम गर्दै आइरहेको  गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले बताए ।  निःशुल्क भिडिओ एक्सरे  सेवाले शान्नितरका मात्र नभइ छिमेकी गाउँपालिकाका केहि वडाका नागरिकहरुले सेवा लिने गरेको उनले  बताए । उनले  अन्य स्थानीय भन्दा गाउँपालिका स्वास्थ्य क्षेत्रमा माथि रहेको समेत बताए ।

उनका अनुसार शुरुमा भिडियो एक्सरे सेवा शान्तिनगर स्वास्थ्य चौकीबाट शुरु गरिएको थियो । त्यसपछि साविक धनौरी गाविसका नागरिकहरुलाई मध्यनजर गरी धनौरी स्वास्थ्य चौकीबाट शुरु गरिएको थियो । यस पटक भने साविक बाघमारे गाविसका नागरिकहरुका लागि स्वास्थ्य चौकी बाघमारेबाट सेवा शुरु भएको उनले बताए ।  यस्तै उनले गाउँपालिकाले यो सेवा शुरु गरेसँगै उनीहरुको आर्थिक बचत, जोखिम पनि कम भएको बताए ।
उनले भने,‘ एक पटक भिडियो एक्सरे गर्नको लागि तुलसीपुर बजार जानु पर्ने हुन्थ्यो । गाडि भाडा, भिडियो एक्सरे खर्च गरेर  एक हजार ५ सयसम्म खर्च हुन्थ्यो, भने सडकको अवस्था राम्रो नहुँदा गाडिमा जाँदा गर्भवती  महिलालाई जोखिम पनि उत्तिकै हुन्थ्यो, निःशुल्क भिडियो एक्सरे सेवा यो सबै सहज भएको छ ।’  यि  सबै भिडियो एक्सरे मेसिन प्रदेश सरकारले सहयोग गरेको र एउटाको मूल्य १४ लाख जति पर्ने उनको भनाइ छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी