ताजा अपडेट »
बंगलादेश संकट

बाङ्ग्लादेशमा मोहम्मद युनुसको नेतृत्वमा सेना समर्थित अन्तरिम सरकार गठन

विहीबार, २४ साउन २०८१, २२ : ५७
108 Shares
विहीबार, २४ साउन २०८१
108 Shares

बङ्गलादेश । बङ्गलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि आन्दोलनकारी विद्यार्थीहरूको मागबमोजिम ८४ वर्षीय प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको थियो। उनले देशका राष्ट्रपतिबाट बिहीवार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन्।

उनको मन्त्रिपरिषद्‌मा १६ जना सदस्यहरू हुनेछन्। त्यसमध्ये ढाका बाहिर रहेका बाहेकको शपथग्रहण गराइएको थियो। सेनाको समर्थनमा अस्थायी रूपमा सत्ताको नेतृत्व गर्ने जिम्मेवारी पाएका उनको काँधमा देशमा स्थिरता कायम गर्ने चुनौती छ।

ढाका विमानस्थलमा मोहम्मद युनुस

 ग्रामीण लघुकर्जामार्फत् गरिबहरूको जीवनस्तर उकास्न भूमिका खेलेकोमा संसारले प्रशंसा गरेका यी अर्थशास्त्रीलाई विगतको निरङ्कुश सरकारले राजनीतिक शत्रु करार गरेको थियो। युनुस बिहीवार नै स्वदेश फर्किएका थिए र लगत्तै उनले "गर्नुपर्ने काम धेरै भएको" टिप्पणी गरेका थिए।

"जनताहरू उत्साहित छन्," फ्रान्सबाट ढाका पुगेको केही क्षणपछि युनुसले बीबीसीसँग भनेका थिए।यसैबीच बङ्गलादेशको सेनाले एउटा सर्कुलरमार्फत आफ्नो सहयोगमा देशभरका सबै प्रहरी चौकीका गतिविधिहरू आगामी २४ घण्टामा सुरु हुने बताएको छ।

मोहम्मद युनुस

सेनाका प्रमुखसहित नवनियुक्त प्रहरी महानिरीक्षक र अन्य सुरक्षा अधिकारीहरूको बैठकपछि अराजकता, आगजनी, ध्वंस र विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न कडा कदम चालिने निर्णय भएको जनाइएको छ। सरकारी जागिरमा आरक्षण प्रणाली विरुद्ध सुरु भएको विद्यार्थीहरूको असन्तुष्टिले हिंसक आन्दोलनको रूप लिएपछि निरन्तर १५ वर्ष सत्तामा बसेकी हसिना पदत्याग गर्दै विदेश पलायन भइन्।

गत ज्यानुअरीमा भएको निर्वाचनपछि गठित संसद्‌बाट हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेकी थिइन्। शेख हसिनाको सत्ता ढलेपछि बङ्गलादेशमा राजनीतिक शून्यता उत्पन्न भएको थियो।
यद्यपि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए। राष्ट्रपतिले संसद् पनि विघटन गरे। हसिना अहिले भारतमा छिन्।

राष्ट्रपति मोहम्मद शाहबुद्दिन र वरिष्ठ सैन्य अधिकारीहरूले आन्दोलनकारी विद्यार्थीहरूसँग वार्ता गरेपछि मोहम्मदलाई अन्तरिम सरकारको नेता छान्ने निर्णय भएको थियो। विद्यार्थीहरूले सेनाले बनाएको सरकार अस्वीकार्य हुने घोषणा गरेका थिए। युनुसको नेतृत्वमा बङ्गलादेश अधिनायकवादी शासनबाट प्रजातान्त्रिक पद्धतिमा फर्किने अपेक्षा गरिएको छ।

युनुसले के भने?
ढाका आइपुगेपछि उनले बङ्गलादेशको पुनर्निर्माणका लागि "अनुशासन" आवश्यक भएकोमा जोड दिए। "कडा परिश्रम र कार्य सम्पन्न," विमानस्थलबाट हाँस्दै निस्किँदा युनुसले भने। "नयाँ अवसरहरू आएका छन्।"  "आज हाम्रा लागि गौरवको दिन हो," उनले पछि संवाददाताहरूसँग भने।

बाङ्ग्लादेशले "दोस्रो पटक स्वतन्त्रता" प्राप्त गरे जस्तै भएको भन्दै उनले देशमा शान्ति सुव्यवस्था कायम गर्न आह्वान गरे। केही सातादेखि बङ्गलादेश अशान्त रहँदै आएको छ। जुन महिनामा सरकारविरुद्ध आन्दोलन सुरु भएपछि ४०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

Untitled-3

युनुसले मृतकहरूप्रति सम्मान प्रकट गर्दै उनीहरूले "देशको रक्षा गरेको" र हसिनाको शासनपछि बाङ्ग्लादेशलाई "नयाँ जीवन" प्रदान गरेको टिप्पणी गरे। हसिनाले प्राध्यापक युनुसलाई "समाजको शत्रु" भन्दै आएकी थिइन्। आर्थिक अपचालनको अभियोगमा दोषी ठहर गर्दै अदालतले युनुसलाई छ महिनाको जेल सजाय पनि सुनाएको थियो। धरौटीमा छुटेका युनुसले उक्त सजाय विरुद्ध पुनरावेदन गरेका छन्।

युनुस र उनका समर्थकहरूले राजनीतिक दुराशयबाट प्रेरित भएर मुद्दा चलाइएको दाबी गर्दै आएका छन्।उनले युवाहरूलाई देश पुनर्निमाणमा सहभागी हुन आह्वान गरे।"बङ्गलादेश सुन्दर देश बन्न सक्छ, तर हामीले ती सम्भावनाहरू भत्कायौँ," उनले भने।

आफ्नो स्वागत गर्न आइपुगेका विद्यार्थीहरूतिर सङ्केत गर्द उनले भने, "हामीले फेरि ब्याड बनाउनुपर्छ, त्यो नयाँ ब्याड उनीहरूले बनाउने छन्।" #BBCNepali
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।