देख्दा सर्लक्क शरीर । हेर्दा मझ्यौला कदका । सधैं हँसिला । उनै प्रेमबहादुर अर्यालले फोटोग्राफी पेसामा नै जीवन समर्पण गर्ने निधो गरेका छन् । २०७२ सालमा बुटवल बहुमुखी क्याम्पस अघि ‘प्रेम डिजिटल फोटो स्टूडियो’ खोले । अहिले स्टूडियोमा आफू र श्रीमती तुलसा स्वरोजगार भएका छन भने तीनजना युवाहरुलाई रोजगार पनि।
बुटवलको ब्राइटर फोटो स्टूडियोमा उनले फोटो तथा भिडियोग्राफी सिक्दै त्यहीं जागिरे पनि बनेका थिए । गुल्मी, मालिका गाउँपालिका–४, अर्खबाङ्ग गाउँमा जन्मि हुर्केका उनले २०६१ सालमा अर्खबाङ्ग माविबाटै दोस्रो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् । बुटवल बहुमुखी क्याम्पसबाटै स्वास्थ्य विषय लिई एमएड् उत्तीर्ण उनी २०७५ सालमा त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएका छन्।
पढ्न बुटवल झरेका उनी फोटोग्राफी पेसामा निरन्तर गतिशील छन् । पाँच लाख रुपैयाँ पुँजीबाट स्टूडियो सुरु गरेका उनले यतिबेला वार्षिक २० लाख बढीको आर्थिक कारोवार गर्दै आएको सुनाए ।
स्टूडियोको कमाईबाट आफ्नो विहेमा आफै खर्च जुटाए । दुईवटी बहिनीहरुलाई शिक्षादीक्षा र विहे गरि दिए । दमकी बिरामी आमा खीमालाई ओखती उपचार गर्दागर्दै बचाउन भने सकेनन् प्रेमले । यही छ उनको सधैं घिड्किसो ।
सोही स्टूडियोबाट उभ्रेको पैसाले टेक्ने थलो किनेका छन् र भविष्यमा ओत हाल्ने योजना बुनेका छन् उनले । त्यतिमात्र होईन, साझा कलर ल्यावमा सकेको पैसा मिसाएर उनी शेयर सदस्य बनेका छन् । बुटवलकै चिया चौतारी बुक क्याफेमा लगानी गरेर सञ्चालक भईसकेका छन् । प्रेमले काठमाडौबाट तुलसा लम्सालसँग अन्तरजातीय प्रेमविहे गरे । बुटवल बहुमुखी क्याम्पसबाट तुलसाले अर्थशास्त्रमा एमए गरेकी छिन् । उनै दम्पतीका सम्पत्ति, ६ वर्षे छोरोले शिशु ज्ञानकुञ्जमा युकेजी पढ्दैछ । दुबैजना मिलेर स्टूडियोलाई उकास्ने काम गरेका छन् ।
फोटोग्राफी पेसाले सेवा दियो, नगद आम्दानी दियो र समाजमा प्रतिष्ठा नि दिएकै कारण अन्यपेसामा जाने रहर गरिनँ– प्रेमबहादुर अर्याल भन्छन् । उनी थप्छन् – घाँटीमा क्यामेरा भिरेपछि जस्तोसुकै भीडमा पनि राष्ट्रपति, प्रधानमन्त्रीका अघि पुगेर फोटो खिच्न कसैले छेक्दैन । शानै अर्काे ! आफ्नो पेसामा उनले थुप्रै समस्या र चुनौती देखेका छन् । डिजिटल प्रविधि दैनिक नयाँनयाँ आएका छन् । क्यामेरा नयाँनयाँ भित्रिएका छन् ।
नयाँ सोच र शैलीमा आफूलाई रुपान्तरण गर्न नसक्दा पेसाबाट हात धुनुपर्ने हो कि चिन्ताले मनमा घडेरी जमाएकै छ । कहिलेकाही कम्प्युटर नै फर्म्याट भईदिंदा टाउको समाउनुबाहेक अरु विकल्प हुँदैन । पीडा पोख्दै थिए । समयसापेक्ष आफ्नो स्टूडियोमा नयाँ खालका क्यामेरा,लाईट,कम्प्युटर खरिद गरि अघि बढेका प्रेमले गतवर्ष १० लाख बढी लगानी गरेका थिए ।
विहेमा भिडियो खिच्न कहिले धरान, धनकुटा पुगे । कहिले कैलाली– कञ्चनपुर । बाग्लुङ, गुल्मी, पाल्पा त पानीपँधेरा भईगए । त्यतिमात्र होईन भारतको रक्सौल, लखनउसम्म विहे खिच्न पुगेका रहेछन् उनी । लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीको सदस्य, कोषाध्यक्ष र सचिव भईसकेका उनी यतिबेला लेखा समितिको सदस्यभई पेसागत कर्ममा समेत क्रियाशील छन् ।
स्वदेशमै आफ्नो पेसालाई मर्यादित र स्तरोन्नति गर्ने सपना साँचेका उनले राम्रो आर्थिक उन्नति गरेर विदेश घुम्न जाने कुरा सुनाउँदै थिए । तर,कामको खोजीमा वैदेशिक रोजगारमा भने नजाने सोंच गराएका रहेछन् ।
उनी कहिले क्लव,कहिले भोज–भतेरहरुमा, कहिले स्कुल,कलेज, क्याम्पसहरुमा फोटो तथा भिडियो खिच्न पुग्छन् । नयाँ पिंढीहरुसँग नयाँ तरिकाले समन्वय र सहकार्य गरि अघि बढ्छन् । फोटो खिचेर बेलबासबाट बुटवल आउँदा ३ वर्ष अघि मंसिरमा उनी सडक दुर्घटनामा परेका थिए । ८ लाख भन्दा बढी उनले उपचारमा खर्च गरेर उनले नयाँ जिन्दगी पाए ।
प्रमेको फाटोग्राफिमा मात्रै होइन, राजनीतिमा पनि रुचि थियो । कुनैसमय उनले डा. बाबुराम भट्टराईको ‘नयाँ शक्ति’लाई समर्थन गर्न पुगेपनि यतिबेला, राजनीतिक माहोल उपयुक्त हुन नसकेको गुनासो छ ।
भविष्यमा फोटोग्राफीबाटै नौलो पहिचान बनाउँदै अघि बढ्ने सपना बुनेका प्रेमलाई व्यवसायिक प्रगतिको शुभकामना ।
प्रतिक्रिया