ताजा अपडेट »

स्वास्थ्यका दरबन्दीबेगरका कर्मचारीसँग बुटवलले गर्‍यो छलफल

बुधबार, २३ साउन २०८१, २० : २८
152 Shares
बुधबार, २३ साउन २०८१
152 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले दरबन्दीभन्दा धेरै रहेका स्वास्थ्यका कर्मचारीहरुसँग छलफल गरेको छ। बुटवल उपमहानगरपालिकामा १६ जना स्वास्थ्य तर्फका कर्मचारीको दरबन्दी रहेपनि थप २३ जना कर्मचारी कार्यरत रहेकोमा त्यसको व्यवस्थापनका लागि उपमहानगरले छलफल गरेको हो।

दरबन्दीभन्दा धेरै कर्मचारीलाई तलबभत्ता उपलब्ध गराएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएपछि बेरुजु हुन नदिनका लागि कर्मचारीको दरबन्दी थप गर्ने वा कर्मचारी फिर्ता गर्ने भन्ने विषयमा उपमहानगरपालिकाले छलफल गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए। 

उनले कार्यरत कर्मचारीहरुको दिगो व्यवस्थापनका लागि कर्मचारीको दरबन्दी थप गर्ने वा कर्मचारीलाई स्वेच्छिक रुपमा फिर्ता हुने विकल्पका लागि कर्मचारीसँग छलफल गरिएको बताए। 'हामी यहाँ कार्यरत रहेका कर्मचारीहरुलाई फिर्ता गर्न चाहेका छैनौं-उनले भने-बुटवलमा कार्यरत रहेका कर्मचारीहरुको तलबभत्ता विधिसम्मत भएन भनेपछि गत वर्ष हामीले स्वास्थ्य मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा पनि विधिसम्मत तरिकाले व्यवस्थापन गर्ने प्रयास गरेका थियौं, तर त्यहाँबाट कानुन अभावले निकास निस्कन नसकेको भन्ने कुरा आयो, त्यसपछि हामीले अब के गर्ने भन्ने विषयमा निर्णय गर्न जरुरी देखिन्छ।' 

उनले संघ र प्रदेश सरकारमा यसबारे समाधानको प्रयास गरिने र त्यसअनुसार अगाडि बढ्ने बताए। बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले कर्मचारीहरुको सहजताका लागि कार्यालयले सहजीकरण गरिदिने बताइन्। उनले कानुन अभावमा कर्मचारीहरुको व्यवस्थापनमा चुनौती देखिएकोले स्थानीय सरकारलाई समस्या परिरहेको बताइन्।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले कार्यालयले विधि र प्रक्रियालाई अबलम्बन गर्नुपर्ने भएकाले सोहीअनुसार दरबन्दी बेगरका कर्मचारीको व्यवस्थापनको लागि छलफल गरिएको र यसको सहज समाधान गर्ने बताए। 
लेखा प्रमुख लेखनाथ पोखरेलले दरबन्दी बेगरका कर्मचारीलाई दिइएको तलबभत्तामा महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको बताए। 
कार्यक्रममा कर्मचारीहरु उमा थापा, कल्पना भट्टराई पौडेल, सिद्धार्थ आचार्यलगायतले बोल्दै दरबन्दीको समस्या समाधानका लागि पहल गर्नका लागि कार्यालयलाई अनुरोध गर्दै आवश्यक सहयोग गर्ने बताएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।