ताजा अपडेट »

काभा वुमन्स भलिबल : भारतलाई जितेर ईतिहास रच्ने दाउमा नेपाल

बुधबार, २३ साउन २०८१, ०७ : २६
336 Shares
बुधबार, २३ साउन २०८१
336 Shares

बुटवल । काभा वुमन्स नेसन्स लिगमा आज नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्दै छ । सेमिफाइनल खेलमा नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि आमने(सामने हुन लागेका हुन् ।

सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर हुने छ । यही प्रतियोगितामा शनिबार लिग चरणको खेलमा भारतलाई हराएकाले नेपाली टिम उच्च आत्मबलकासाथ मैदानमा उत्रने छ । प्रतियोगितामा सहभागी सबै टिमलाई हराएको हुनाले नेपाल उच्च मनोबलमा रहेको प्रशिक्षक जगदिश भट्टले बताए ।

नेपालले लिग चरणमा भारत, माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने इरानसँग हार व्यहोरेको थियो । इरानसँग लिग चरण्मा भेगेको पराजयले कमजोरी सच्याउने अवसर पाएको भट्टले बताए । कमजोरी सच्याएरनै सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्न सफल भएको उनले बताए । भारतसँग यसअघि पटक पटक प्रतिस्पर्धा गरिसकेको र भारतका धेरै खेलाडीले नेपालमा लिग खेलेकाले उनीहरुबारे धेरै जानकारी रहेको भट्टको भनाइ छ । ‘उनीहरुको ब्लक र स्पाइक राम्रो छ । नेपालले सर्भिस र डिफेन्स बलियो बनाउँदै सोझो सेटमा जित निकाल्ने रणनीति बताएको उनी बताउँछन् । 

मंगलबार इरानसँगको सेमिफाइनल खेलमा पहिलो सेट २५–२१, दोस्रो सेटमा २८–२६ र तेस्रो सेट २५–२० ले जितेको थियो । मंगलबारको खेलमा स्पाइकरहरु उषा भण्डारी र निरुता ठगुन्नाले राम्रो प्रदर्शन गरेका थिए ।

दक्षिण एसियाली स्तरको धेरै खेलकुदमा नेपालको मुख्य प्रतिस्पर्धी भारत रहँदै आएको छ । अहिलेसम्म नेपालले महिला भलिबलमा एक पटक मात्र भारतलाई हराएको छ । त्यो पनि गत शनिबार यही काभा वुमन्स लिगमा हो । त्यसैले भारतविरुद्धको खेल जित्दा नेपाली समर्थक धेरै नै उत्साहित हुने गर्छन् । भारतीय टिमबारे धेरै जानकारी रहेको भन्दै प्रशिक्षक भट्ट इरानसँग भन्दा सहज हुने बताउँछन् । 

सन् २०१९ को दक्षिण एसियाली खेलकुद र सन् २०२३ को काभा वुमन्स च्यालेन्ज कपमा नेपालले घरेलु मैदानमा भारतसँग हारका कारण उपाधि गुमाएको छ । यसपटक भने भारतको खेललाई राम्ररी विश्लेषण गर्दै खेल्ने र गल्ती नदोहोर्यार्उने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।