ताजा अपडेट »
व्यावसायिक कृषि

किवीकाे व्यावसायिक खेतीमा रमाउँदै सिन्धुपाल्चोकका सापकोटा

बुधबार, २३ साउन २०८१, ११ : ००
36 Shares
बुधबार, २३ साउन २०८१
36 Shares

सिन्धुपाल्चोक । केही समय अगाडी खासै चर्चामा नआएको किवी अहिले नेपालमा व्यावसायिक रुपमा उत्पादन र उपभोगमा वृद्धि हुन थालेको छ । यस्तै व्यावसायिक रुपमा किवी खेतीमा लागेका छन सिन्धुपाल्चोक भाेटेकाेशीका अर्जुनबहादुर सापकोटा । भूकम्प र भोटेकोशी बाढीले तातोपानी नाका ठप्प भएपछि नाका सम्बद्ध व्यापारीहरू बैकल्पिक पेशामा लागेका छन् । वर्षौंदेखि गर्दै आएको व्यवसायमा संकट पर्न थालेपछि उनीहरूले आय आर्जनको वैकल्पिक पेशा अँगालेका हुन् । यस्तै एउटा उदाहरण हुन्– भोटेकोशी गाउँपालिका–१ लिस्तीका अर्जुनबहादुर सापकोटा ।

२०७२ को भूकम्प अगाडी सम्म सापकोटाले तातोपानी नाकामा खासा व्यापार गरेर वार्षिक २० लाख कमाउँथे । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन अरनिको रुटको अध्यक्षसमेत रहीसकेका  सापकोटा नेपाल ट्रक कन्टेनर संघमा आबद्ध ९६६ ओटा ट्रकमा काम गर्ने चालक, सहचालक र मजदूरहरूको नेता पनि भए ।

Untitled-2

२०५७ देखि २०७२ सालसम्म उनले खासाको व्यापार समेत गरे । समयले कोल्टे फेर्‍यो । भूकम्प र भोटेकोशी बाढीले नाकादेखि बाह्रबिसेसम्म नराम्राे गरी क्षति पुर्‍यायो । कोदारी राजमार्गको अवस्था अहिले पनि उस्तै छ । तातोपानी नाका पटकपटक बन्द हुने समस्या देखिएपछि उनले विकल्पको रूपमा कृषि पेशा अपनाएका हुन् ।

सापकोटाले १ करोड ५ लाख लगानी गरेर ३७ सय किवीको बिरुवा लगाएका छन् । गतवर्ष किवीबाट पाँच लाख आम्दानी भएको उनले सुनाए । ‘भर्खर फल्न शुरू भयो,’ उनले भने, ‘केही वर्षभित्र किवीबाट वार्षिक २५ लाख आम्दानी हुन्छ ।’ लिस्तीको सेमुङ र चतलीमा ३३० रोपनी जमीन भाडामा लिएर सापकोटाले किवीसँगै आलु तथा लसुन खेती र बाख्रापालन गरिरहेका छन् । उनले उन्नत जातका १०० बाख्रा पालेका छन् । ग्लोरियस एग्रो प्रालि नामक कम्पनी दर्ता गरेर सापकोटा कृषि कर्ममा जुटेका छन् ।

Untitled-1

सापकोटाको किवी खेतीमा १० जनाले नियमित रोजगार पाएका छन् । आफूमात्र होइन, उनले गाउँका १०० घरपरिवारलाई पनि आधुनिक कृषि प्रणालीमा जोडेका छन् । अहिले गाउँका १०० घर मिलेर ५०० रोपनी जमीनमा सामूहिक आलुखेती र १०० रोपनीमा लसुन खेती गरेका छन् । यस वर्ष सामूहिक खेतीमा ५० लाखको आलु र १० लाखको लसुन उत्पादन भएको छ ।

२३ सय ४० मिटर उचाइमा रहेको लेकाली जमीन छेउमा पानी भए पनि सरकारका कुनै निकायले सहयोग नगर्दा सिँचाइ सुविधा नपुगेको उनको गुनासो छ । हामीजस्ता कृषि पेशामा लाग्नेहरूलाई काम गर्ने वातावरण अझै बन्न सकेको छैन, सापकोटा भन्छन्, जिल्ला र गाउँपालिकामा रहेका कृषि कार्यालयले वास्तविक किसानलाई सहयोग गरेका छैनन् ।’ भैरवकुण्डमुनि रहेको सेमुङ र चतलीमा १ हजार रोपनी जमीन बाँझै छ । स्थानीय सरकारले आधुनिक कृषि पेशामा लाग्ने किसानलाई सहयोग गर्न नसकेको सापकोटाले बताए ।

Untitled-1

गाउँपालिका र कृषि कार्यालयहरूले सहयोग गरे लिस्तीलाई किवी, आलु र स्याउको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य रहेको सापकोटाले बताउँछन् । कोदारी सडकको डाक्लाङ क्षेत्रबाट सेमुङ र चतली जाने बाटो पहिरोले बन्द भएकाले उत्पादित आलु र लसुन विक्री गर्न नपाएको सापकोटाले बताए । लेकाली भूमिमा फलेको स्वादिलो र कमलो आलुको माग जिल्लाकै बजार क्षेत्रमा बढी छ । तर, बाटो बन्द हुँदा किसानले आलुलाई बजारसम्म ढुवानी गर्न पाएका छैनन् ।

बस्तुमाथि छगाम र बगाममा रहेका ३०० आनीले आधा जति आलु किनेर लगेको र आधा परिमाणको आलु विक्री हुन नसकेको गुनासो उनले गरे । ‘उत्पादन भएको कृषि उपज स्थानीय सरकारले विक्री वितरणको व्यवस्था मिलाउने हो भने युवाहरू कृषि पेशामा आकर्षित हुन्छन्,’ सापकोटा भन्छन्, ‘युवालाई पलायन हुनबाट जोगाउन पनि स्थानीय सरकारले नीति तया योजना बनाउन जरुरी छ ।

’कृषिमा लगानी बढाउन सरकारले सहयोग गर्नुपर्छ अनुदान सहयोग रकम सहि किसानले सदुपयोग गर्नुपर्छ । साथै बैक बितिय संस्थाले पनि कृषि कर्जा आयोजना मूल्यांकनको आधारमा लगानी सजिलो र सहुलियतपूर्ण ब्याजमा उपलब्ध गराउनु पर्छ, अनि मात्र कृषि क्षेत्रमा युवा आकर्षक बढ्न सक्छ,'अनि मात्र देशमा कृषि क्षेत्रबाट आर्थिक बिकासमा सहयोग पुग्छ सापकोटाको बुझाइ छ । #(कृषिप्रेस)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।