ताजा अपडेट »

बुटवललाई आर्थिक राजधानी बनाउन प्रादेशिक अस्पताल लाइफलाइनः मन्त्री सारू

मंगलबार, २२ साउन २०८१, २२ : ३३
312 Shares
मंगलबार, २२ साउन २०८१
312 Shares

बुटवल। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बुटवललाई आर्थिक राजधानी बनाउन लुम्बिनी प्रादेशिक अस्पताल लाइफलाइन भएको बताएका छन् । मंगलबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री सारूले प्रदेश सरकारको गौरव आयोजनाको रुपमा रहेको १२ सय शैयाको भवन निर्माण सम्पन्न गरी पूर्ण क्षमतामा अस्पताल सञ्चालनमा आएपछि बुटवल चलायमान हुने बताए । ‘प्रदेश राजधानी बुटवलबाट दाङ स्तान्तरण भएपछि प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानी बनाउने भनेको छ त्यसलाई पुरा गर्न प्रादेशिक अस्पताल लाइफलाइन बन्नेछ ।’, मन्त्री सारुले भने । 

अस्पतालको नयाँ भवन निर्माणको काम समयमै सम्पन्न गर्नुका साथै यहाँको सेवामा समेत थप गुणस्तरीयता ल्याउनु पर्नेमा उनले जोड दिए । प्रदेशको मात्रै नभएर देशकै गौरवको अस्पताल बनाउने गरी प्रदेश सरकार अघि बढेकोले नयाँ भवन निर्माणका लागि बजेट अभाव नहुने उनले बताए । अस्पताल र शिक्षा क्षेत्र संम्वेदनशिल भएकाले अस्पतालको सुधारका लागि सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर काम गर्न आग्रह गर्दै उनले जनतालाई दिने सेवामा कुनै पनि सम्झौता नगर्न निर्देशन दिए । सेवाग्राहीले सबै स्वास्थ्य सुविधा प्राप्त गरेर पनि उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स, कर्मचारी वा कुनै एक जनाले गर्ने गलत व्यवहार वा बोलीका कारण उनीहरुको आत्मसम्मानमा ठेस पुग्न सक्ने भएकोले त्यसलाई ध्यान दिएर काम गर्न आग्रह गरे । 

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले पछिल्लो समय सरकारी अस्पतालको सेवाप्रति नागरीकको विश्वास गुम्दै गइरहेको अबस्थामा  विरामीको मन जित्नेगरी सेवा प्रदान गर्नुपर्ने बताए । कर्मचारी बिचको आन्तरीक द्धन्द्धले सेवाग्राहीले दुःख पाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए । अस्पतालको बिकासका लागि आवश्यक सहयोग वा कुनै नीति नियम सुधार गर्नुपर्ने भएमा मन्त्रालयमा आउन आग्रह गरे । 

यस्तै अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन डा.इन्द्र ढकाललेले सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयको सहयोगको अपेक्षा गरे । जनशक्ति, उपकरण तथा स्रोत साधनको तुलनामा ठूलो जनसंख्यालाई सेवा प्रदान गर्नुपर्ने भएकाले जनताबाट गुनासाहरु सुनिरहनु पर्ने बाध्यता रहेको डा. ढकालले गुनासो गरे । ४ सय वेडको स्वीकृती पाएपनि अहिले ६२० वेड सञ्चालन गरी सेवा प्रदान गर्दै आईरहेको उनले बताए । अनलाइनबाट ओपीडी टिकट सेवा सञ्चालनसँगै सेवाग्राहीले टिकटकै लागि घण्टौंसम्म लाइन बस्नुपर्ने समस्या हटेर गएको उल्लेख गरे । अब छिट्टै डिजिटल भुक्तानी सेवा समेत शुभारम्भ गर्ने तयारी रहेको उनले जानकारी गराए । अस्पतालमा शल्यक्रिया उपचारका लागि महिनौ पालो कुर्नुपर्ने अवस्थालाई कम गर्न भदौ १५ सम्ममा प्रसुती सेवातर्फको शल्यक्रिया कक्ष छुट्टै बनाएर शल्यक्रिया सेवालाई प्राथमीकता दिने उनले बताए ।

यस्तै अस्पतालले प्रदान गर्दै आएका विभिन्न सेवाहरुबारे जानकारी गराउँदै रात्रिकालिन डायलाइसिस सेवा, नवजात शिशुको बहिरो जाँच, मेडिकल वार्डको क्षमता विस्तार गर्ने तयारी गरीएको उनले बताए । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा अस्पताल प्रमुख डा. विनोद गिरीले अस्पताललाई व्यवस्थीत गरी विरामीलाई सहजरुपमा सेवा प्रदान गर्न आबश्यक काम भईरहेको बताए । प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले राजनीतिक नियुक्तीमा सरकार परिवर्तन सँगै कार्याकाल नसकिँदै हटाउने प्रचलन रहेकाले पुरा कार्यकाल काम गर्न दिनेगरी नियुक्ति गर्न आग्रह गरे । अस्पतालमा केही उपकरणको कमि हुँदा बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने अबस्था आउने भन्दै नयाँ भवनमा सबै उपकरणको व्यवस्था गरी बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न प्रदेश सरकारले आबश्यक समन्वय गर्नुपर्नेमा जोड दिए । अस्पताल सञ्चालन कार्यविधि सच्याउन आबश्यक रहेको उनको भनाई थियो । अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा भएको कार्यक्रममा अस्पतालका बिभिन्न विभाग प्रमुख, चिकित्सक, स्टाफनर्स, कर्मचारी लागायतको सहभागीता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।