बुद्वबहादुर बस्नेत सरले बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापन गर्न थालेको पनि रजत वर्ष कटिसक्यो । त्रिभुवन विश्वविद्यालयले उनलाई २५ वर्षसम्म अटुट शिक्षण–सेवा गरेवापत यसै वर्ष दीर्घसेवाबाट सम्मानित हुने अवसर दिएको छ ।
अर्थशास्त्र विषयका उपप्राध्यापक बस्नेत सर, बुटवल बहुमुखी क्याम्पसमा मानविकी संकायतर्फको चारपटक सहायक क्याम्पस प्रमुख र तीन महिना निमित्त क्याम्पस प्रमुख समेत बनेर आफ्नो शैक्षणिक एवम् व्यवस्थापकीय क्षमता प्रदर्शन गरिसकेका छन् ।
उनीसँग क्याम्पस सञ्चालक समितिको सदस्य–सचिव र परीक्षा प्रमुख बनिसकेको गतिलो अनुभव छ । शालीन,अध्ययनशील र मिलनसार व्यक्तित्वका रुपमा आफ्नो पहिचान बनाईसकेका उनले साविक दोभान गाविस, वडा नं.५ को वडाध्यक्ष भएर जनसेवकका रुपमा आफूलाई स्थापित गराई सकेका छन् ।
अर्थशास्त्रमा एमए,कानूनमा स्नातक र एक वर्षे बिएड् गरेका उनले यतिबेला बुटवल बहुमुखी क्याम्पसबाहेक कहिंकतै प्राध्यापन र नीजि एवम् संस्थागत कलेजहरुमा लगानी गरेका छैनन् । आफ्नो क्याम्पसलाई नै सरस्वतीको मूलमन्दिर मानेका छन् । क्याम्पसको निर्माण तथा मूल्याङ्कन समितिका अध्यक्ष बनेर गतिशीलरुपमा अघि बढिरहेका छन् ।
फुर्सदमा घरको काममा व्यस्त हुन्छन् । पत्रपत्रिका र पुस्तक पढ्न ओैधी रुचि राख्ने बस्नेत सरले देश,विदेशको राजनीतिक,आर्थिक एवम् सामाजिक परिवेश बुझ्न टेलीभिजनको सहारा लिने गरेको बताउँछन् ।
बुटवलको गोलपार्क नजिकै उनको घर छ । घरको छतमा उनले तीन वर्षदेखि कृषिकर्म गरेका छन् । करिव ५० वटा ड्राईगनफ्रुटका बोट लगाएका छन् । गतवर्ष ६÷७ वटा बोटहरुले फल दिएपनि यसवर्ष २० बढी बोटले फल दिन थालेपछि फ्रुट खाँदाखाँदा हैरान भएको बस्नेत सरले बताए । छिमेकी,पाहुना,ईष्टमित्रहरुलाई फ्रुट बाँड्दै ईष्ट राख्न पाईएको कुरा समेत उनले सुनाए ।
उनको छतको बारीमा Miyazaki जातको आँप पाईन्छ । जुन जातको आँपको एउटा बेर्ना किन्दा एक हजार आठ सय खर्चिएको बताए । उनका बारीमा बेलौती,एप्पल बयर,कागती, अनारलगायतका फलफूल र मौसमी तरकारीहरु घिरौैला,लौका,भिन्डीसमेत फलेका छन् । अर्थ बुझेका उनलाई मौसमी तरकारीले यो आर्थिक संकटका बेला आर्थिक भारबाट जोगाएको छ । पहँला,राता,हरिया फूलहरु फुलेको देख्दा बस्नेत सरलाई आनन्द लाग्छ र प्रकृतिप्रेमी भएको महसुस् हुन्छ रे !
क्याम्पसबाट फर्केपछि दैनिकरुपमा विरुवामा पानी राख्ने,गोडमेल गर्ने र आवश्यकता अनुसार प्राङ्गरिक मलहरु समेत राख्ने गरेको सुनाए ।
उनी भन्छन् – सानो परिवारलाई छतको बारीमा फलाएको तरकारी,फलफूलले आर्थिक भारमात्र घटाएको छैन । श्रम,सीप र समय खर्चिएर स्वाबलम्वी बन्न समेत सिकाएको छ । सबैले यसो गर्न सकेमा तरकारी,फलफूलको आयात घट्न सक्थ्यो कि !
उनकी श्रीमती कमला जीसीले पनि फुर्सदमा बस्नेत सरको तरकारी बारीमा सहयोग गर्छिन् । तिनाउ गाउँपालिकाकी कर्मचारी उनले आफूहरुलाई बारीको उत्पादित तरकारीले धेरै राहत मिलेको बताईन् ।
प्रकृतिमा रमाउन रुचाउने बस्नेत सरले सिद्धबाबा मन्दिरको अध्यक्ष रहँदासम्म सिद्धबाबा धार्मिक वनमा वृक्षरोपण, गोडमेल र दालचिनी रोपण गरि आर्थिकउपार्जन हुने विरुवामा जोड दिएको भेटिन्छ । सुरुसुरुमा अंगुरखेती र कुखुरापालन गरी नमूना कृषकका रुपमा समेत आफूलाई उभ्याएका बस्नेत सरले यतिबेला बिएडमा अध्ययनरत विद्यार्थीलाई शिक्षण विधि पढाउँछन् । पढाउनमा नामी बुद्व सरलाई उनको क्याम्पसमा नचिन्ने विरल्लै होलान् !
खोज,अध्ययन र अनुसन्धानमा विशेष रुचि राख्ने बस्नेत सरले एकक्षण पनि आफूलाई खालि राख्न रुचाउँदैनन् । उनले आफ्नो बारीमा लगाईएका हरेक बोटबिरुवाको फुल्ने,फल लाग्ने र उत्पादन हुने समय,लाग्न सक्ने रोग र रोकथामका बारेमा राम्रो हेक्का राख्ने गरेका छन् । व्यवसायिक फलफूल तथा तरकारी खेती नगरेपनि उत्पादनले घरखर्चलाई पुराउँदै आएका बस्नेत सरले आफूले जानेको ज्ञान,सीप र क्षमता अरुलाई समेत बाँड्न चाहन्छन् ।
प्रतिक्रिया