ताजा अपडेट »

बिमा ठगी गर्न आफ्नै पसलमा आगो लगाउने दुई जना पक्राउ

सोमबार, २१ साउन २०८१, ११ : ०३
192 Shares
सोमबार, २१ साउन २०८१
192 Shares

पोखरा । कास्की प्रहरीले बिमा ठगी गर्न आफ्नै पसलमा आगो लगाउने र त्यसमा सहयोग गर्ने गरी दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पोखरा महानगरपालिका वडा नं। ६ लेक साइड, नारेश्वरस्थित आफ्नै सपिङ सेन्टरमा आगो लगाउने पोखरा–१७ निवासी २६ वर्षीय सुजन गहतराज र गहतराजलाई सघाउने ४३ वर्षीय पवन नेपाललाई शनिवार पक्राउ गरेको थियो ।

गहतराजको मुक्तिनाथ सपिङ सेन्टरमा साउन १६ गते राति सवा २ बजे आगलागी भएको थियो । नेपाल र गहतराजले पहिला योजना बनाई राति आगो लगाएको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए।“उहाँहरूले योजना बनाएर राति गएर आगो लगाएको देखियो । बिमाका लागि आफ्नो व्यवसायमा आफैँ आगो लगाएको घटना कास्कीका लागि नयाँ हो,” उनले भने । आगलागी लगत्तै गएको प्रहरी टोलीले सवा ३ बजे राति आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीको भोलिपल्टै साउन १७ गते गहतराजले बिमामा क्षति दाबी गरी निवेदन दिएका थिए। घरधनीले करिब ७५ क्षति भएको उल्लेख गरेको र गहतराजले डेढ करोड क्षति भएको दाबी गरी निवेदन दिएको खुलेको छ । 

मुक्तिनाथ सपिङ सेन्टरको सन् २०२४ मार्च १५ मा दुई करोड १० लाखको बिमा गरिएको थियो । पसल नचलेको, स्टक धेरै रहेको भनी नेपाल र गहतराजले मिलेर आगो लगाएको खुलेको छ । नेपालले गत वर्ष आफ्नो कृषि फर्ममा यसरी नै आगो लगाएर ३१ लाख क्षतिपूर्ति लिइसकेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।