ताजा अपडेट »

बाङ्ग्लादेशमा सरकारविरोधी प्रदर्शन उत्कर्षमा, मृतकको सङ्ख्या ९० नाघ्यो

सोमबार, २१ साउन २०८१, ०८ : ५८
126 Shares
सोमबार, २१ साउन २०८१
126 Shares

काठमाडौं । बाङ्ग्लादेशमा पुनः चर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार कम्तीमा ९० जनाको मृत्यु भएको छ। मारिनेमा १३ जना प्रहरी रहेको बीबीसी बाङ्ग्लाले जनाएको छ। सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहरू मारिएको बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ। आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन।

स्थिती नियन्त्रणमा लिन सरकारले साँझ छ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ। गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरेर कर्फ्यू घोषणा गरेको हो। गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरहरूका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्कन रोक लगाइएको छ। यसअघि लगाइएको कर्फ्यू आइतवार बिहान ६ बजेबाट राती नौ बजेसम्म खुकुलो बनाइएको थियो। तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि पुन: कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन्।

राजधानी ढाकामा मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट बन्द गरिएको छ। बाङ्ग्लादेशको दूरसञ्चार नियामक निकायका अधिकारीले फोरजी इन्टरनेट बन्द गरिएको बीबीसी बङ्ग्लासँग बताएका छन्। फेसबुक र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाइएको विवरण आएका छन्।

प्रदर्शनमा उत्रिएकाहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन्। प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानहरूमा अश्रुग्याँस र रबरको गोली चलाएको छ। आइतवारको प्रदर्शनका क्रममा करिब २०० जना मानिसहरू घाइते भएको विवरण आएका छन्। राजधानी ढाकाको मुख्य चोकमा हजारौँ मानिसहरू भेला भएका छन्।

सहरका अन्य भागमा पनि हिंसात्मक घटनाहरू भएको विवरण आएका छन्। सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्। केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको माग सहित सडकमा उत्रिएका हुन्।


के भन्छिन् प्रधानमन्त्री हसिना ? 
यसअघिको प्रदर्शनका क्रममा २०० जना भन्दा धेरैको ज्यान गएको थियो। विद्यार्थीहरूको प्रदर्शन नियन्त्रणका लागि पछिल्ला केही साता मात्रै करिब १० हजार विपक्षी दलका समर्थक र विद्यार्थीहरूलाई नियन्त्रणका लिइएको थियो।

आइतवारबाट सुरु भएको अवज्ञा आन्दोलनका क्रममा विद्यार्थीहरूले सार्वजनिक सवारी र कलकारखानाहरू बन्दको आह्वान समेत गरेका थिए। 
प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगले पनि आइतवार नै देशैभरि र्‍यालीको आयोजना गरेको थियो। दुवै पक्षको प्रदर्शनका कारण बाङ्ग्लादेशमा आगामी केही दिनहरू तनावपूर्ण रहने ठानिएको छ।

विपक्षी दलहरूको बहिष्कारकाबीच गत ज्यानुअरीमा भएको निर्वाचनबाट हसिना चौथो पटक देशको प्रधानमन्त्रीमा चुनिएकी थिइन्। तर प्रदर्शनकारीहरूले उनको सत्तालाई चुनौती दिइरहेका छन्। प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाले प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई “आतङ्कवादी”को संज्ञा दिएकी छन्। उनले आफ्नो इलाकामा प्रदर्शन हुन नदिन देशवासीहरूलाई आह्वान गरेको बीबीसी बाङ्ग्लाले जनाएको छ।

विगत १६ वर्षदेखि बाङ्ग्लादेशको सत्ता हाँकिरहेकी शेख हसिना देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन्। शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्। सन् २००९ यता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी छन्। उनी बाङ्ग्लादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्। पछिल्लो कार्यकाल सकिँदा हसिना ८१ वर्षकी हुने छिन्। -बीबीसी नेपाली

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।