ताजा अपडेट »

काभा महिला भलिबल : लिग चरणमा नेपालले आज अन्तिम खेल माल्दिभ्ससँग खेल्दै

सोमबार, २१ साउन २०८१, ०८ : ४२
538 Shares
सोमबार, २१ साउन २०८१
538 Shares

बुटवल । काभा महिला नेसन्स लिग भलिबलमा आज पनि दुई खेल हुँदै छन् । आजका २ खेलसँगै लिग चरणका सम्पूर्ण खेल तथा समीकरण पूरा हुने छन् ।  दशरथ रंगशालाको कभर्ड हलमा श्रीलंका र भारत तथा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ।

हालसम्म नेपालले ३ खेलबाट ६ अंक बनाउँदा भारतले ७ अंक बनाएको छ । इरानले ४ खेलबाट ७ अंक बनाउँदा श्रीलङ्काले ३ खेलबाट ४ अंक बनाएको छ । ४ खेलमा कुनै पनि अंक बनाउन नसकेको माल्दिभ्सको सेमिफाइनल यात्रा रोकिएको छ । सेमिफाइनल प्रतिद्वन्दी लिग चरणका खेल सकिएपछि आज तय हुनेछ । लिगको शीर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ।

यसै बीच अपराजित यात्रा कायम राख्ने नेपालको सपनालाई हिजो आइतबार भएको खेलमा इरानले ब्रेक लगाएको थियो । इरानले नेपाललाई ३-२ को नतिजामा हराएको हो । नेपालले इरान विरूद्ध सुरूवात राम्रो गर्न सकेन । तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर बन्यो । इरानले १६-१० को अग्रता बनायो र नेपालले कुनै पनि समय कमब्याक गर्न सकेन । नेपाललले पहिलो सेट १६-२५ ले गुमायो ।

तर दोस्रो सेटमा नेपालले सानदार सुरूवात गर्दै ७-० को अग्रता बनायो। यही अग्रतालाई निरन्तरता दिदै दोस्रो सेट २५-१६ ले जित्दै खेललाई १–१ को बराबरीमा पुर्यायो। तेस्रो सेटको सुरूवातमा नेपालले ७-२ को अग्रता बनाएपनि यो अग्रतालाई निरन्तरता दिन सकेन। इरानले ९-९ को बराबरीमा पुर्याएपछि यो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ इरानले तेस्रो सेट २५-२३ ले जित्यो र खेल २-१ को अग्रता बनायो।

चौथो सेटमा नेपाल सम्हाल्ने प्रयासमा थियो। ११-८ को अग्रता लिएपछि नेपालले यो अग्रतालाई बढाउँदै लग्यो। सहजै चौथो सेट नेपालले २५-१५ ले आफ्नो पक्षमा पार्दा खेल दुई दुईको बराबरीमा पुग्यो। खेलको निर्णय पाँचौ सेटबाट भयो।

पाँचौ सेटमा इरान नेपाललाई दबाबमा राख्न सफल भयो। युवा टोली भएपनि इरानले देखाएको आत्मविश्वासी प्रदर्शन तारिफयोग्य रहयो। सानदार डिफेन्समा इरानले पाँचौ सेट १५-१३ ले जित्दै नेपाललाई हराउन सफल भयो।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।