ताजा अपडेट »

टाइगर रिसोर्टमा श्रमिकहरु आन्दोलित : कालो ब्यानरसहित धर्ना

आइतबार, २० साउन २०८१, १५ : १०
792 Shares
आइतबार, २० साउन २०८१
792 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर १५ स्थित टाइगर प्यालेस रिसोटमा पूर्व कर्मचारीहरु आन्दोलित भएका छन् । यहांबाट निष्कासन गरिएका श्रमिकहरुले श्रम अदालतमा दिएको रिटमा हारिसकेको र श्रम अदालतले फैसला गरेको कार्यान्वयन गर्न गम्भीर नदेखिएको भन्दै कर्मचारी आन्दोलित भएका छन् ।

उनीहरुले श्रमिकहरुसँग २०८० पुस १३ गते गरेको सम्झौता पत्रको कार्यान्वयनमा व्यवस्थापन पक्षले चासो नदिएको भन्दै आन्दोलित भएका हुन । उनीहरुले रिसोटको बाहिर धर्ना सुरु गरेका छन् । कोरोनाकालमा निष्कासन गरिएका र अहिले पुनर्बहाली गरेका कर्मचारीहरुले आउनु पर्ने बक्यौता रकम सम्झौता पत्रमा पाउनुपर्ने उल्लेख भए पनि हालसम्म नपाएको उनीहरुको भनाई छ ।

श्रम अदालतले गरेको फैसला अनुसार क्षतिपूर्तिसहित प्रतिव्यक्ति १२ देखि १५ लाखसम्म कम्पनीले दिनुपर्ने भएपनि कर्मचारीहरुले कम्पनीको अवस्थालाई हेर्दै नयाँ व्यवस्थापन टिमसँग सम्झौता गर्दा प्रतिव्यक्ति राजीनामाको हकमा २ लाख ७० हजार र पुनर्बहालीको हकमा १ लाख ६५ हजार दिनुपर्ने सहमति गरिएको संघर्ष समितिका संयोजक चित्रबहादुर भण्डारीले बताए । राजीनामा दिएकाहरुलाई तत्कालै भुक्तानी दिनुपर्ने र पुनर्बहाली नभएकाहरुलाई किस्ताबन्दीमा दिनुपर्ने उल्लेख भए पनि हालसम्म कम्पनीले सम्झौतालाई कार्यान्वयन नगरेकाले आन्दोलन गर्नु परेको उनको भनाई छ ।

कोरोनाको बेला निष्कासन गरिएकाहरुमध्ये क्यासिनोमा ४३ जना र होटलतर्फ २२ जनालाई पुनर्बहाली गरिएकोमा अझै क्यासिनोतर्फ १८ जना र होटलतर्फ चार जनालाई पुनर्बहाली गरिएको छैन । उनका अनुसार आफूहरु अन्याय हुँदा पनि कतैबाट साथ नपाएको अवस्था छ । १ लाख ६५ हजारको दरले ८७ जनाको बक्यौता पारिश्रमिक जोड्ने हो भने ३६ लाख ३० हजार ६५ हजार रुपैयाँ बक्यौता देखिन्छ ।

यता श्रम अदालतले गरेको फैसला हेर्ने हो भने निकालिएकोदेखि पुनर्बहाली गरेको समयसम्म खाइपाई गरी आएको तलब गरी प्रतिव्यक्ति १२ लाख २५ हजार देखिन्छ । यसरी बक्यौता रकम जोड्ने हो भने १० करोड ६२ लाख ७५ हजार हुन आउँछ । तर स्थानीय स्तरमा पाँचतारे होटेल सञ्चालनमा रहेको र होटलको पछिल्लो अवस्था अत्यन्तै दयनीय भएको भन्दै पीडित श्रमिकहरुले होटलको अवस्था हेरेर आफूहरुले कम हिसाब गरे पनि टाइगर वान प्रालिले उक्त रकम समेत नदिने आलटाल गर्दै आएको संयोजक भण्डारीको भनाई छ । यता कम्पनीको सिइओ दीपक लेखकले भने यस बारे प्रतिक्रिया दिन चाहेनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।