ताजा अपडेट »
लुम्बिनी प्रदेशः

प्रदेशसभा बैठकमा सासंद नियमित उपस्थित हुँदैनन् तर ११ सुविधा लिन्छन्

आइतबार, २० साउन २०८१, १३ : ४१
724 Shares
आइतबार, २० साउन २०८१
724 Shares
  • विधि निर्माण गर्ने जिम्मेवारीका लागि जनताद्वारा चुनिएका प्रतिनिधिहरू संसद्को बैठकमा ‘गयल’ हुनु भनेको आफ्नो मूल जिम्मेवारीप्रति उदासीन हुनु हो । हो, यस्तै आफ्नो जिम्मेवारीप्रति उदासीन देखिएका छन् लुम्बिनी प्रदेशसभाका सदस्यहरु । 

 बुटवल । लोकतन्त्रमा नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता हुनुपर्छ । नीति निर्माणको तहमा सबै जनता प्रत्यक्ष रुपमा सहभागि गर्न गराउन नसकिने भएकाले उनीहरुले आफ्ना प्रतिनिधिहरुलाई निर्वाचित गराएर नीति निर्माण गर्ने निकायमा पठाएका हुन्छन् ।

तर, जनताले यसरी चुनेर पठाएका प्रतिनिधिहरु नियम बनाउने थलोको रुपमा रहेको संसदको बैठकमै अनुपस्थित हुने गरेको पाइएको छ । विधि निर्माण गर्ने जिम्मेवारीका लागि जनताद्वारा चुनिएका प्रतिनिधिहरू संसद्को बैठकमा ‘गयल’ हुनु भनेको आफ्नो मूल जिम्मेवारीप्रति उदासीन हुनु हो । हो, यस्तै आफ्नो जिम्मेवारीप्रति उदासीन देखिएका छन् लुम्बिनी प्रदेशसभाका सदस्यहरु । 

शत प्रतिशत उपस्थित सांसद 

लुम्बिनी प्रदेशसभाको पहिलोदखि चौथो अधिवेशनको २३ औँ बैठकसम्म आउँदा कुल ६१ वटा बैठक बस्यो । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । जसमध्ये सभामुख तुलाराम घर्ति बाहेक सबै बैठकमा उपस्थित हुने सांसदको संख्या जम्मा २ मात्रै रहेको छ । प्रदेशसभा सदस्य खड्क बस्नेत र यमबहादुर नेपाली सार्की मात्रै प्रदेशसभाका हरेक बैठक अर्थात ६१ वटा बैठकमा नै सहभागि भएका छन् । 

धेरै वैठकमा उपस्थित सासंद
मेनुका खाँण, तुल्सी प्रसाद चौधरी, सिता शर्मा, भगवती अधिकारी, शान्ति लोध प्रदेशसभाको एउटा बैठकमा मात्रै अनुपस्थित हुने सांसदमा पर्छन् । अर्थात ५ जना सांसदहरु लुम्बिनी प्रदेशसभामा भएका ६१ बैठकमध्ये ६० वटा बैठकमा अथार्त् ९८ प्रतिशत प्रदेशसभाका बैठकमा सहभागि भएका छन् । 

तालिका हेरौँ,  प्रदेशसभा बैठकमा सांसद उपस्थितीको विवरण

 

क्र..   सासंदको नाम, थर जम्मा उपस्थित संख्या
  तुलाराम घर्ती (सभामुख) ६१
  यमबहादुर नेपाली सार्की ६१
  खड्क बस्नेत ६१
  तुल्सीप्रसाद चौधरी ६०
  भगवती अधिकारी ६०
  मेनुका खाँण केसी ६०
  सिता शर्मा ६०
  शान्ति लोध ६०
  खेम बहादुर सारु ५९
१०   भुवनेश्वर चौधरी ५९
११   मिना बुढा मगर ५९
१२   इन्द्रकुमार ग्रहतराज ५८
१३   जमुना ढकाल ५८
१४   दिनेश पन्थी ५८
१५   नवराज लामिछाने ५८
१६   लोकीकुमारी विक ५७
१७   अम्बिका काफ्ले ५७
१८   अर्जुन कुमार केसी ५७
१९   धनबहादुर मास्की ५७
२०   डिल्लीराज भुसाल ५७
२१   भोजप्रसाद श्रेष्ठ ५७
२२   राजुप्रसाद श्रेष्ठ ५७
२३   विश्वप्रेम पाठक ५७
२४   हेमा बेल्वासे (केसी) ५६
२५   तारा थापा ५६
२६   दिलकुमारी बुढा ५६
२७   रत्नबहादुर खत्री ५६
२८   शुशिला बादी ५६
२९   भण्डारीलाल अहिर ५५
३०   मिनाकुमारी श्रेष्ठ ५४
३१   कृष्णा कुश्मा थारु ५४
३२   चिन्तामणि पाण्डे ५४
३३   देविप्रसाद चौधरी ५४
३४   निर्मलादेवि थारु (चौधरी) ५४
३५   बसन्ती न्यौपाने ५३
३६   जन्मजय तिमिल्सिना ५३
३७   जानकी न्यौपाने ५३
३८   जोखबहादुर महरा ५३
३९   दुर्गाप्रसाद चौधरी ५३
४०   धनलक्ष्मी श्रेष्ठ ५३
४१   धर्मबहादुर चौधरी ५३
४२   मालती सोढारी ५३
४३   सुरुल पुन ५३
४४   यमुना रोका तामाङ ५३
४५   निमा गिरी ५१
४६   मिनाकुमारी बोहोरा ५१
४७   रामजिप्रसाद घिमिरे ५१
४८   राजकुमार चौधरी ५०
४९   राजु खनाल ५०
५०   चन्द्रकेश गुप्ता ५०
५१   चेतनारायण आचार्य ५०
५२   प्रचण्डविक्रम न्यौपाने ५०
५३   भगवती कुमारी थरुनी ५०
५४   रेखाकुमारी शर्मा ५०
५५   बादशाह कुर्मी ४९
५६   इन्द्रजीत थारु ४९
५७   तुल्सी चौधरी ४९
५८   कृष्णा केसी ४९
५९   विरबहादुर राना ४८
६०   दिपेन्द्र कुमार पुन मगर ४८
६१   सन्जुकुमारी चौधरी ४८
६२   विष्णुप्रसाद पन्थी ४७
६३   माया पुन  ४७
६४   सरोज थापा ४६
६५   सन्तोष कुमार पाण्डेय ४५
६६   सरिता पुन ४५
६७   डिल्लीप्रसाद चौधरी ४५
६८   नरमाया ढकाल ४४
६९   सुधाकर पाण्डेय ४३
७०   कन्यौहा बनिया ४१
७१   धनेन्द्र कार्की ४१
७२   भुमिश्वर ढकाल ४१
७३   लिला गिरी ४१
७४   सुमन शर्मा रायमाझि ४१
७५   सायरा बानो ४०
७६   आशिष कुमार चौधरी ३९
७७   वैजनाथ कलवार ३८
७८   गिरधारीलाल न्यौपाने ३८
७९   जानकीप्रसाद यादव ३८
८०   धनबहादुर केसी ३७
८१   अब्दुल रजाक गद्धी ३७
८२   वसीउद्धीन खाँ ३४
८३   मधुसुदनशरण चौधरी कुर्मी ३३
८४   अनुराग खड्का ३२
८५   आदेश कुमार अग्रवाल ३२
८६   देवकरण प्रसाद कलवार ३१
८७   गिता गुरुङ २७

के भन्छन् बैठकमा धेरै उपस्थित हुने सांसद ?
लुम्बिनी प्रदेशसभाका शतप्रतिशत बैठकमा सहभागि भएका सासंदहरुले जनताप्रति उत्तरदायी भएर प्रत्येक बैठकमा आफुहरु जाने गरेका बताउँछन् । शतप्रतिशत प्रदेशसभाका बैठकमा सहभागि भएका सांसद यमबहादुर नेपाली सार्कीले ५ वर्षका लागि आफु जनताको सेवा गर्न भनेर निर्वाचित भएकाले हरेक बैठकमा सहभागि भएको बताए ।  

यो ५ वर्षको अवधिमा आफ्ना घरायसी काम, पेशा व्यवसायको काममा भन्दा पनि सदनमा जनताका कुरा उठान गर्ने र त्यसलाई कार्यान्वयनका लागि पहल गरिरहने उनको भनाई छ । ‘जनताले मलाई ५ वर्षका लागि जिम्मेवारी दिएर पठाउनुभएको हो । यसकारणले मैले घरायसी काम, पेशा व्यवसायको कामभन्दा पनि सदनमा जनताका कुरा उठान गर्न र कार्यान्वयन गर्न पहल गर्नुपर्छ भनेर म हरेक प्रदेशसभाका बैठकमा सहभागि भएको हुँ,’ सासंद नेपालीले भने । यस्तै प्रदेशसभाका आगामी सबै बैठकमा पनि जाने उनले प्रतिबद्धता व्यक्त गरे । 

यस्तै प्रदेशसभाको एउटा मात्रै बैठकमा अनुपस्थित रहेकी सांसद भगवती अधिकारीले संसदको गरिमा कायम गर्नका लागि पनि सांसद प्रत्येक बैठकमा उपस्थित हुनुपर्छ भनेर हरेक जसो बैठकमा आफु जाने गरेको बताइन् । ‘म  सबै बैठकमा नै गएकी छु । एक दिन अलि ढिला भएको थियो । सो बैठकमा हाजिर नगरेको हुँदा अनुपस्थित देखिएको होला । म अहिलेसम्म बसेका सबै बैठकमा नै उपस्थित छु,’ उनले भनिन् ‘संसदको गरिमा कायम गर्नका लागि सांसद उपस्थित हुनुपर्छ भन्ने सोचेर म सबै बैठकमा जाने गरेकी छु ।’

यी हुन् सबैभन्दा धेरै अनुपस्थित सासंद
प्रदेशसभाको बैठकमा सबैभन्दा धेरै अनुपस्थित हुनेको सूचिको पहिलो नम्बरमा जनमत पार्टीकी सांसद गिता गुरुङ् छिन् । सासंद गुरुङ कुल ६१ बैठकमध्ये जम्मा २७ बैठक अर्थात ४४ प्रतिशत बैठकमा मात्रै उपस्थित भएकी छिन् । यस्तै देवकरण प्रसाद कलवार प्रदेशसभाको बैठकमा अनुुपस्थित हुने सांसदको दोस्रो नम्बरमा पर्छन् । सांसद कलबार ३१ वटा वैठकमा मात्रै उपस्थित छन् । 

सांसद अनुराग खड्का र आदेश कुमार अग्रवाल पनि अनुपस्थितमा अघि छन् । सासंद खड्का र अग्रवाल समान ३२ बैठकमा मात्रै उपस्थित भएका छन् । मधुसुधन शरण चौधरी कुर्मी ३३, वसिउद्धीन खाँ ३४, सरोज थापा ३६, धनबहादुर केसी र अब्दुल रजाक गद्धी ३७ बैठकमा गयल  सांसदहरु हुन् जो कम उपस्थित हुने सूचिको टप टेनभित्रैमा पर्छन् ।

त्यसो त मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री तथा मन्त्रीहरुदेखी विषयगत समितिका सदस्यहरु पनि बैठकमा त्यति धेरै नजाने गरेको पाइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्य ५० वटा बैठकमा सहभागि भएका छन् भने पूर्वमुख्यमन्त्री लिला गिरी ४१ वटा बैठकमा मात्रै सहभागि भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीप्रसाद चौधरी ४५ र माओवादी केन्द्रका संसदीय दलका नेता तथा निर्वतमान मुख्यमन्त्री जोखबहादुर महरा ५३ वटा वैठकमा मात्रै सहभागी भएका छन् ।  

के भन्छन् बैठकमा धेरै अनुपस्थित हुने सांसद ?
प्रदेशसभाको बैठकमा धेरै अनुपस्थित हुने सांसदहरुले विभिन्न पारिवारिक समस्या र विरामी भएर उपस्थित हुन नसकेको बताउँछन् । लुम्बिनी प्रदेशसभाको बैठकमा सबै धेरै अनुपस्थित भएकी सासंद गिता गुरुङ पारिवारिक कारणले गर्दा प्रदेशसभाको धेरै बैठकमा अनुपस्थित भएको बताइन् । ‘घरमा मृगौला र पोस्टेट रोगबाट पीडित ७२ वर्षीय बुबा हुनुहुन्छ । उहाँको नियमित चेकजाँचका लागि काठमाडौँ लगिरहनुपर्छ,’ उनले भनिन्, ‘काठमाडौँ नियमित चेकजाँजका लागि जाँदा बैठकमा जान नपाएकी हुँ । अन्य समयमा नियमित रुपमा नै प्रदेशसभाको बैठकमा गइरहेकी छु ।’

प्रदेशसभाका ६१ बैठकमध्ये ३१ बैठकमा मात्रै उपस्थित भएका सांसद देवकरणप्रसाद कलवारले स्वास्थ्यमा समस्या देखिएका कारणले बैठकमा उपस्थित हुन नसकेको बताए । ‘म अहिले पनि स्वास्थ्य जाँचका लागि काठमाडौँमै छु । म प्रेसर लगायतका रोगबाट पीडित छु । यसको नियमिति चेकजाँचका लागि मलाई नियमित रुपमा काठमाडौँ आइरहनुपर्छ । चेकजाँचमा आउँदा बैठक संचालन हुँदा म बैठकमा जान नसेको हुँ,’उनले भने । 

यस्तै प्रदेशसभाका ६१ बैठकमध्ये ३२ बैठकमा मात्रै उपस्थित रहेका सांसद अनुराग खड्काले पनि आमाको उपचारका लागि नेपाल बाहिर जानुपरेकोले बैठकमा अनुपस्थित भएको बताए । ‘म सभामुख ज्यूसँग अनुमति लिएर नै ६८ वर्षीया आमाको उपचारको लागि लण्डन गएको थिए । त्यहि बेला हाउस पनि चलेकाले बैठकमा उपस्थित हुन नसेको हुँ,’ उनले भने ।

‘बैठकमा नजानु जनताप्रति बेइमानि’
संसदलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि सबै सांसद बैठकमा अनिर्वाय उपस्थित हुनुपर्ने प्राध्यापक नुरजंग केसी बताउँछन् । यदि कुनै सांसद बैठकमा अनुपस्थित हुन्छ भने त्यो देश र जनताप्रतिको बेइमानि भएको प्राध्यापक केसीले बताए । ‘संसदलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि सबै सांसद उपस्थित हुनुपर्छ । यदि कुनै सांसद बैठकमा अनुपस्थित हुन्छ भने त्यो देश र जनताप्रतिको बेइमानि हो,’ उनले भने । 

यस्तै संसदको बैठकमा अनुपस्थित भई विभिन्न प्रकारका सेवा तथा सुविधा लिनु भनेको एक प्रकारको भष्ट्राचार नै हुने प्रध्यापक केसी बताउँछन् । ‘कसैले पनि विना काम र विना योगदान सेवा सुविधा लिनु हुँदैनल। बैठकमा अनुपस्थित हुने सांसदले हरेक प्रकारका सेवा सुविधा लिन्छन् भने त्यो पनि एक प्रकारको भष्ट्राचार नै हो,’ उनले भने । 

तर, पनि ११ शिर्षकमा सेवा सुविधा 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार मुख्यमन्त्री, मन्त्री र राज्य मन्त्रीहरुले विभिन्न ११ वटा शीर्षकबाट सुविधा पाउँछन् । मुख्यमन्त्रीले ६० हजार ९ सय ७० मासिक पारिश्रमिक बापत रकम पाउँछन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले मासिक २४० लिटर पेट्रोल र दैनिक भ्रमण भत्ता (स्वदेश) प्रतिदिनको २ हजार ५०० तथा विदेश भ्रमण भत्ता बापत दैनिक २२५ अमेरिकी डलर पाउँछन् । साथै अतिथि सत्कारका लागि मुख्यमन्त्रीले मासिक १५ हजार रुपैयाँ प्राप्त गर्दछन् ।

यस्तै लुम्बिनी प्रदेश सरकारका मन्त्रीले ५२ हजार, राज्यमन्त्रीले ४९ हजार र सहायक मन्त्रीले ४८ हजार १०० रुपैयाँ मासिक पारिश्रमिक पाउँछन् । यस्तै मन्त्रीले आवास सुविधा अन्तर्गत मासिक ३० हजार, राज्यमन्त्री र सहायक मन्त्रीले २५ हजार पाउँछन् । राज्यमन्त्री र सहायक मन्त्रीले सरकारी घरको बन्दोबस्त नभएरमा फर्निचरको व्यवस्थापनका लागि ७५ हजार रुपैयाँ, मन्त्री, राज्यमन्त्री र सायहक मन्त्रीले १/१ वटा सवारी साधन पाउनुका साथै मासिक २०० लिटर पेट्रोल र १० लिटर मोबिल पाउँछन् ।

मन्त्रीले टेलिफोन इन्टरनेट र पत्रपत्रिकाको लागि मासिक ३ हजार पाउँछन् भने राज्य मन्त्री र सहायक मन्त्री २ हजार पाउने व्यवस्था छ । यस्तै मन्त्रीले धारा र विजुलीको शुल्क बिल अनुसार तथा राज्यमन्त्री र सहायक मन्त्रीले मासिक २ हजार रुपैयाँ पाउँछन् । मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले दैनिक तथा भ्रमण भत्ता (स्वदेश) प्रतिदिनको २ हजार तथा विदेश भ्रमण भत्ता बापत दैनिक २२५ अमेरिकी डलर पाउँछन् । साथै अतिथि सत्कारका लागि मन्त्रीले मासिक १५ हजार रुपैयाँ र राज्यमन्त्री र सहायक मन्त्रीले मासिक ५ हजार प्राप्त गर्दछन् ।

सभामुखको मासिक पारिश्रमिक ५३ हजार, उपसभामुख र विपक्षी दलको नेताको ५० हजार, सत्ता पक्ष, प्रतिपक्षका प्रमुख सचेतक, विषयगत समितीका सभापति र दलको प्रमुख सचेतकले ४८ हजार रुपैयाँ पाउँछन् भने प्रदेशसभा सदस्यले ४५ हजार रुपैयाँ पाउँछन् ।

प्रदेशसभा सदस्यदेखि सभामुखले प्रति बैठक भत्ता १ हजार पाउने व्यस्था रहेको छ । आवास सुविधा अन्तर्गत विपक्षी दलको नेता मासिक २५ हजार, सत्ता पक्ष, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितीका सभापति, दलको प्रमुख सचेतक र प्रदेशसभा सदस्यले मासिक १७ हजार रुपैयाँ पाउँछन् । यस्तै सरकारी घरको बन्दोबस्त नभएमा फर्निचरको लागि ४५ हजार पाउँछन् ।

सभामुखलाई मासिक २४० लिटर पेट्रोल, उपसभामुख र विपक्षी दलको नेताले २०० लिटर, सत्ता पक्ष, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितीका सभापति, दलको प्रमुख सचेतकलाई १५० लिटर पेट्रोल र मोविल १० लिटर पाउँछन् भने प्रदेशसभा सदस्यले बैठकको दिन यातायात खर्च बापत ५०० प्राप्त गर्दछन् ।

साथै सत्ता पक्षको सचेतक र दलको प्रमुख सचेतकले यातायात खर्च वापत मासिक १५ हजार पाउँछन् । विजुली धारा वापत सभामुख र उपसभामुले विल अनुसार र विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यले मासिक १५ सय पाउँछन् । संचार सुविधा अन्तर्गत सभामुखले विल अनुसार र उपसभामुख, विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यले मासिक २ हजार प्राप्त गर्छन् ।

आन्तरिक भ्रमण खर्च बापत सभामुखले २ हजार ५०० र उपसभामुख, विपक्षी दलको नेतादेखि प्रदेशसभा सदस्यले दैनिक २ हजार पाउँछन् भने वैदेशिक भ्रमण खर्च वापत सभामुखले २२५ अमेरिकी डलर र उपसभामुख, विपक्षी दलको नेताले दैनिक १७५ अमेरिकी डलर प्राप्त गर्छन् ।
 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।