ताजा अपडेट »

'बुटवलमा त भुइँ मान्छेले ठाउँनै नपाइने रैछ'

आइतबार, २० साउन २०८१, ०८ : ४५
6.29K Shares
आइतबार, २० साउन २०८१
6.29K Shares

बुटवल । फुटपाथमा व्यापार गर्ने एक महिलालाई शनिबार बुटवलको नगर प्रहरीले दुर्व्यवहार गरेको घटनापछि बिरोध भएको छ । अस्पताल लाइनमा डोकोमा फलफूल बेच्ने क्रममा महिलालाई पुरुष नगर प्रहरीले लखेटेर लगाएको कपडासमेत च्यातिदिएपछि नजिक रहेका प्रत्यक्षदर्शीले विरोध गरेका थिए । अस्पताल लाइनबाट नेपालगन्जरोडसम्म लखेट्दै गर्दा डोको बोकेको नाम्लो घाँटीमा झरेको र नगर प्रहरीले तान्दा घाँटीमा पासो लागेर झण्डै ज्यान गएको पीडित टिका श्रीस मगरले बताइन् । नगर प्रहरीले लछारपछार गर्दा टिकाको ब्लाउज च्यातिएर अर्धनग्न भएकी थिइन् ।

सुस्त मनस्थिती रहेका श्रीमान र छोराछोरीसहित आफ्नो छाक जुटाउन हरेक दिन नगरप्रहरीसँग लुकामारी खेल्दै डोको बोकेर हिड्ने जुना श्रीसको दैनिकी हो । बुटवल उपमहानगरपालिका–९ इट्टाभट्टीमा कोठा भाडामा बस्दै आएकी जुना छोरा छोरीको उच्च शिक्षा लिने रहर पूरा गर्न परिवारसहित बुटवल झरेकी हुन् । गुल्मीको मालिका गाउँपालिका–१ बाट छोरीले कक्षा १० सम्मको पढाई पूरा गरेपछि उनको उच्च शिक्षाका लागि जुनाले परिवारसहित बुटवल झर्ने निर्णय गरेकी हुन् । सिजन अनुसारका फलफूल तथा तकारी डोकोमा राखेर बुटवलको फुटपाथमा ग्राहक कुर्दै गर्दा कतिखेर नगरप्रहरीले झम्टीन आउने हुन् त्रासमै भए पनि व्यापार गर्नुपर्ने बाध्यता भएको जुनाले सुनाइन् । 

यस्तै घटना १ वर्षअघि योगीकुटीकी नर्मदा भण्डारीले पनि व्यहोर्नुपरेको थियो । नगर प्रहरीले लखेट्दा उनको दुर्घटना भई खुट्टा भाँचिएको थियो । नगर प्रहरीबाट बच्न खोज्दा कारले हानेर खुट्टा भाँचिएपछि ८ दिन अस्पताल बस्दासम्मको एक लाख ४० हजार कारधनीले दिएका तर त्यसपछिको करिब डेढ लाख आफ्नो खर्च भएको भण्डारीले बताइन् । अहिले पनि खुट्टाभित्र स्टिलको रड रहेको हुँदा उपचार जारी रहेको उनले बताइन् ।

अरू उपाय नभएर सडकमा सामान बेचेर गुजारा गर्ने नागरिकलाई लखेटेर, कुटपिट गरेर नभई निश्चित ठाउँ र समय तोकेर गरिखान दिनुपर्ने आफूहरूको माग रहेको उनीहरु बताउँछन् । शनिबार दुर्व्यवहारमा परेकी जुनाले गुनासो गर्दै भनिन्, ‘सटर भाडामा लिएर व्यापार गरौं, ५०÷६० हजार लगानी गर्ने हैसियत हामीसँग छैन, सडकमा व्यापार गरौं कतिखेर प्रहरीले झम्टिन आउने हो ठेगान छैन ।’ आफूजस्ता भुइँ मान्छेलाई बाच्नका लागि बुटवलमा ठाउँ नभएको गुनासो गर्दै उनले बाध्यताले त्रासमै भए पनि व्यापार गर्नुपरेको सुनाइन् । फुटपाथका लागि निश्चित समय तोकिदिने वा निश्चित ठाउँ व्यवस्था गरिदिए शुल्क तिरेर भए पनि आफूहरु बस्न तयार भएको बताउँदै जुनाले त्यस बाहेक कुनै रोजगार दिए पनि हुने उल्लेख गरिन् । 

अधिकारकर्मी रिमा बिसीले मर्यादित रूपमा बाँच्न पाउने हरेक नागरिकको नैसर्गिक मानवअधिकार हुने र हरेक नागरिकले आफूले रोजेको पेशा व्यवसाय गर्न पाउने बताउछिन् । शनिबारको घटना बारे उनले भनिन्, ‘राज्यका कुनै पनि निकायले नागरिकमाथि कुटपिट गर्नु, बल प्रयोग गर्नु धरपकड गर्नु मानवअधिकार उल्लंघन हो, भने महिलामाथि गरिने दुर्व्यवहार पनि हो कसैलाई पनि कुनै बहानामा बल प्रयोग गरी कुटपिट गर्ने लछारपछार गर्ने, महिलाहरूको कपडा च्यातिदिनु भनेको मानवता विरुद्धको गम्भीर अपराध हो उपमहानगर यसमा संवेदनशील र जबाफदेही हुनुपर्छ ।’

यता बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले व्यवसाय दर्ता गरेर सटरमा पसल चलाउनुपर्ने बताउँदै फुटपाथमा सामान बेच्न नदिन उपमहानगरले कडाइका साथ नियन्त्रण गरिरहेको प्रष्ट पारे ।
 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।