ताजा अपडेट »

काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’ सहित बजारीकरण सुरु

शनिबार, १९ साउन २०८१, २१ : ५१
64 Shares
शनिबार, १९ साउन २०८१
64 Shares

काभ्रेपलाञ्चोक । काभ्रे जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा आलुको ‘ब्राण्डिङ’ सुरू गरीएको छ । आलुको लागि ‘हब’ मानिने यो जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारण सहितको ‘प्याकेजिङ’ थालिएको हो । ‘आलु सुपरजोन’का रुपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गरी स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्न ब्रान्डिङ गर्ने उदेश्यले प्याकेजिङ सुरु गरिएको जनाइएको छ ।

प्रारम्भिक चरणमा हाल दुइ किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्राण्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफुल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताएका छन । थापाका अनुसार स्थानीयस्तरमा उत्पादित आलुको ब्रान्डिङ सहित बजारीकरण सुरू गरीएको हो ।

भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (सुपरजोन)को आर्थिक सहयोगमा भन्डारण कक्ष निर्माण सहित प्याकेजिङ गरिएको आलुलाई बजारीकरण गर्न लागिएको उनलेे बताए ।

‘हाललाई एकतले भवनबाट भण्डारणसहित प्याकेजिङ सुरु गरेका छौँ, अब चालु आर्थिक बर्षमा भवनको निर्माण थप्दै प्याकेजिङको परिमाण पनि बढाउदै जानेछौँ’, उनले भने । उद्योगलाई भन्डार कक्ष तथा प्याकेजिङ सुरुआतका लागि परियोजनाले गत आ.व.मा पहिलो चरण अन्तर्गत १४ लाख रुपैयाँ सहयोगमा गरेको थियो ।

केही दिनअघि आलु प्याकेजिङ लाई जिल्ला स्थित बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमनसमेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारीले बताए । उद्योगले ‘काभ्रेको चिनारी पोषिलो आलुको तरकारी’ को नारासहित हाललाई प्रतिकिलो ८० रुपैयाँका दरले प्याकिङ गरि आलु बजार पठाएको हो ।

‘आलुको गुणस्तर कायमै राखी बजारको मागअनुसार फरकफरक तौलमा प्याकिङ गर्ने योजना बनाएका छौँ’, संचालक अधिकारीले भने । उनकाअनुसार उद्योगले फरकफरक जातको आलु ‘ग्रेडिङ’ गरी बजार पठाएको छ । उपभोक्ताले आफुलाई मन पर्ने जातको आलु किनेर लैजान सक्नेगरी प्याकेजिङ तथा ब्राण्डिङ गरीएको उनले बताए ।

सुपरजोन समन्वय समितिका प्रमुख सुमन नेपालले सबैलाई ढुक्क भएर काभ्रेपलाञ्चोकमा प्याकेजिङ गरिएको आलु खान आग्रह गरे । उनले भने, ‘काभ्रेमा उत्पादित आलु गुणस्तरीय रहँदै आएको छ, उपभोक्ताले विना संकोच किनेर खान सक्नुहुन्छ ।’ आलु ब्राण्डिङ कार्यक्रमले अन्य ब्यवसायिक कृषकलाई उत्प्रेरण मिलेको पाइएको समन्वय समिति संयोजक नेपाल बताउछन ।

सुपरजोन कार्यालयले काभ्रेपलाञ्चोकमा आलुको व्यवसायीक उत्पादन तथा उत्पादनमा बृद्धि, मल्चिङ प्रविधि लगायतमा सहयोग गर्दै आएको जनाएको छ । आलुको बिउ र मल्चिङ तथा नस्ल सुधार लगाएतका कार्यक्रम कार्यालयले सन्चालन गर्दै आईरहेको छ ।

सुपरजोन कार्यालय प्रमुख जय महतोले आगामी दिनमा जिल्लाको अन्य क्षेत्रमा आलुको प्याकेजिङ र ब्राण्डिङ बिस्तार गर्न कार्यालयले सहजीकरण गर्ने बताए ।

जिल्लाको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् । आलुको पकेट क्षेत्र मानिएको काभे्रकोनौ हजार हेक्टर क्षेत्रफलमा बार्षिक करिब एक लाख ७५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।