ताजा अपडेट »

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित

शनिबार, १९ साउन २०८१, २२ : ३९
230 Shares
शनिबार, १९ साउन २०८१
230 Shares

काठमाडौं । नेपाली महिला भलिबलले शनिबार देशलाई अर्को एउटा कीर्तिमानी खुसी थपिदिएको छ। करिब ६ दशक लामो गर्विलो इतिहास बोकेको नेपाली भलिबल टिमले भलिबलको पावरहाउस मानिएको भारतलाई  किर्तिमानी पराजित  गर्दे खुशी थपिदिएको हो । आफ्नै कभर्डहलमा समेत कहिल्यै खेल्न नपाएका नेपाली टोलीका महिला खेलाडीले शनिबार चुनौतीपूर्ण मानिएको छिमेकी मुलुक भारतसँग ऐतिहासिक जित दर्ता गरेक छन। 

दक्षिण एसियाली पावर हाउसका रुपमा रहेको भारतसँग यसअघि धेरै पटक स्तब्ध बनेको नेपाली टोलीले घरेलु मैदान र दर्शकको साथमा कीर्तिमानी जितको खुसी दिएको हो।  जारी काभा महिला भलिबल नेसन्स लिग अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिग चरणको आफ्नो दोस्रो खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गर्‍यो। 

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने २५–१२ ले गुमाउन पुगेको थियो । तेस्रो सेटमा नेपालले २५–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमन गर्यो तर चौथो सेट भने नेपालले २५–१८ ले गुमायो। निकै प्रतिस्पर्धात्मक पाँचौ तथा अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै  नेपालले ऐतिहासिक जित निकाल्यो। 

खेलपछि नेपाली टोलीकी कप्तान अरुणा शाहीले भारतीय टोलीविरुद्ध डरले सुरुवात गरेपनि खेल जित्ना साथै स्तब्ध भएको बताइन्। उनले भनिन्, ‘सुरुवातमा राम्रो गरेपनि दोस्रो सेटमा केही कमजोरी हुँदा अंक गुमाउन पुग्यौँ। भारतविरुद्ध रिसिभ र डिफेन्स राम्रो गर्नुपर्छ भनेका थियौँ त्यसमा सफल भयौँ।’

भारतलाई हराउँदा नेपाली समर्थकहरुलाई पनि ठूलो अर्थ राख्ने भएकाले यसले आफूहरूलाई पनि खुसी मिलेको बताइन्। कप्तान अरुणाले यो जित भलिबललाई माया गर्ने सम्पूर्णलाई समर्पण गर्दै आउने दिनमा पनि यस्तै साथ र माया दिन आग्रह गरिन्। 

नेपालले अब लिग चरणमा इरान र माल्दिभ्सविरुद्ध खेल्न बाँकी छ। टेक्निकल रुपमा बलियो रहेको ईरानी टोली काभामा सबैभन्दा बलियो टोली हो। 

नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ भने लिगचरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।