ताजा अपडेट »

एमाले सचिवालय बैठक बस्दै : नेताहरुको कार्यविभाजन तोक्ने तयारी

विहीबार, १७ साउन २०८१, ०७ : २१
74 Shares
विहीबार, १७ साउन २०८१
74 Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । 

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो । 

एमालेले २०८१ को कार्ययोजना लागू गर्दैछ। यसअघि जिल्ला अधिवेशनहरू नसकिएकाले नयाँ कार्ययोजना लागू हुन थाती रहेको थियो। ११ वटा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ। ती जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न एमाले संगठन विभागले परिपत्र गरिसकेको छ। त्यस्तै साउन मसान्तभित्र सदस्यता नवीकरण गरिसक्न पनि निर्देशन दिएको छ। एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान सुरू गर्दैछ। त्यस्तै एमालेले पार्टीका जिल्ला इन्चार्जहरू पनि परिवर्तन गर्दैछ। त्यस्तै २२ वटा विभागका प्रमुख, उपप्रमुखहरू पनि परिवर्तन गर्ने तयारी गरेको छ।

यसअघि फरक जिल्ला कार्यक्षेत्र हुने गरी तोकिएको कार्यविभाजन यसपटक परिवर्तन हुने एमालेले जनाएको छ। फरक भूगोल हुने गरी इन्चार्जको जिम्मेवारी दिँदा आफ्नो निर्वाचन क्षेत्र, जिल्लामा काम गर्न नपाएको गुनासो आएको थियो। त्यस्तै एमालेले राजकीय जिम्मेवारीमा रहेकाहरूलाई पार्टीका विभागहरूमा जिम्मेवारी नदिने तयारी पनि गरेको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बाहेकको हकमा अब एक व्यक्ति एक पद लागू हुनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।