ताजा अपडेट »

रीताका रहर

मंगलबार, १५ साउन २०८१, १४ : ५१
340 Shares
मंगलबार, १५ साउन २०८१
340 Shares

मायालुपाराले बोलाउँदै सबैले रीतु भन्छन् । उनको खास नाम रीता विश्वकर्मा हो । १२ कक्षा उत्तीर्ण भएपनि स्नातक पढ्ने मेसो मिलेको छैन उनलाई । कारण घरको आर्थिक अवस्था र सिन्धुली कलाघरलाई दिने समय पनि हो । सिन्धुली बजारतिरै बसेर पढ्छु भन्ने रहर नभएको पनि होइन उनलाई । रीतु २०७८ सालमा सिन्धुली कलाघरमा जोडिन आइपुगेकी थिइन् । अहिले सोही कलाघरको कार्यसमिति सदस्य छिन् । 

रीतुको घर,सिन्धुली जिल्ला,कमलामाई नगरपालिका,वडा नं. ३,चपौली नजिकै गाउँमा छ । गम्भीरबहादुर र कल्पना विश्वकर्माका जेठी सन्तान हुन् उनी । बहिनीको विहे भई सक्यो । भाइले समेत १२ कक्षा उत्तीर्ण गरिसके । रीतुभने सक्षम,चर्चित र प्रभावशाली कलाकार बन्ने धूनमा छिन् । सानैदेखि उनलाई गायिका बन्ने रहर थियो । स्कूले जीवनमा विद्यालयमा आयोजना हुने गायन कार्यक्रमहरुमा सहभागी हुन्थिन् । स्थानीय एफएममा गीत गाएर थुप्रै पुरस्कार हात पारेकी उनले सिन्धुली कलाघरले तयार पारेको गीतमा स्वर भरेकी छिन् । 

गीत गाउँदै आफ्नो स्वर माँझेकी छिन् । कलाघरको अफिसियल यूट्युव च्यानलमा प्रत्यक्ष दोहोरीगीत गाएर दुनियाँलाई चकित तुल्याएकी छिन् । गायन प्रतिभा बेजोड छ । सफल एवम् सक्षम गायिका बनेर आफ्नो गायन–प्रतिभा सबैका सामू पु¥याउने उनको सपना छ । रहर छ । प्रयास र अभ्यास जारी राखेकी छिन् । उनको गायनकलालाई सफल बनाउनका कलाघरका अध्यक्ष एवम् सांस्कृतिक अभियन्ता नेपाली बाबु ‘सुमन’को सक्दो सहयोग र हौसला रहेको रीतुले सुनाईन् । 

रीतुले कलाघरमा बसेर नौमती पञ्चेबाजा बजाउँछिन् । उनले बजाउने खास बाजा भने ढोलकी नै हो । ढोलकी बाजा बजाउन उनले थुप्रैपटक तालिम लिएकी छिन् । यतिबेला उनको ढोलकीमा विशेष क्षमता छ । ढोलकीमा पारङ्त छिन् । सुरुमा उनले झ्याम्टा बजाउँथिन् । रीतुले नौमती बाजाभित्र पर्ने सबै बाजाहरु मज्जाले बजाउँछिन् । नृत्य उनको रहर र बाध्यता दुबै होइन । तैपनि ढोलकी बजाउँदै नृत्य गरेको उनको दृश्यले सबैको मन खिचिरहेको पाउँछौं । 

घरकी जेठी छोरी हुन् रीतु । घरायसी आवश्यकता छन् धेरै । तैपनि कलाकार बन्ने रहरमा भौतिक आवश्यकतालाई समाधान गर्दै कलायात्रामा गतिशील छिन् । सुरुसुरुमा गाउँलेहरुले उनीहरुलाई कलाघरमा जाने,नाँच्ने,उफ्रिने त हो नि भनेर कुरा काट्थे रे ! तर यतिबेला उनीहरुको सांस्कृतिक अभियानले नेपाललगायत विश्वका धेरै स्थानहरुमा प्रभाव जमाइसकेको र भौतिक रुपमा समेत उपस्थित भई कला प्रस्तुति गरेकै कारण चर्चाको शिखरमा पुगेकाले पहिला कुरा काट्ने गाउँले अहिले चकित छन् । दङ्ग छन् । सहयोगी बन्दै आएका छन् । 

कलाघरका पवित्रा,सञ्चिता लगायतका अग्रजहरुबाट नृत्य र गायन सिकेको बताउने रीतुले आफ्नो कला भारतका विभिन्न सहरहरुमा समेत प्रस्तुत गरिसकेकी छिन् । बाजा बजाउँदा नयाँ भाइव आउने र जोश,जाँगर अनि उमङ्गले सगरमाथा छोएको अनुभव हुने बताउँदैथिइन् रीतुले । दैनिक  रुपमा उनीहरु कलाघरमा बाजा बजाउने अभ्यास गर्छन् । राम्रो  नृत्यका लागि प्रयास गर्छन । गायनका लागि रियाज गर्छन् । त्यसैले उनीहरुको कला तिखारिदै गएको पाइन्छ । 

प्रगतिशील प्रतिभा केन्द्रको विकसित रुप सिन्धुली कलाघरमा सुमन दाइले फलामको काम गर्दैगर्दा रीतुले रङ्रोगन गर्छिन् । सक्दो सहयोग गर्छिन् । साउन महिनामा महिलाका हातमा मेहेन्दी हुँदा रीतुका हातमा फलामे कामका काला एवम् घोइँसे हात हुन्छन् । काम गर्दा उनी झन् सुन्दर देखिन्छिन् । हाइटी शरीर,चश्मा लगाउँदा त रीतु अवर्णनीय हुन्छिन् । बोली उस्तै मीठो । व्यवहार उत्कृष्ट । सायद कलाघरको सिकाई हुनुपर्छ । अर्थात् कलाघरका पाहुर नै हुन् ती सबै । 

रेडियो सिन्धुली आवाजमा रीतुले लोकगीतसम्बन्धी उकाली–ओराली कार्यक्रम आठ महिनाजति चलाइन् । रेडियोको रहर पनि पूरा गरिन् । २०७४ सालमा गाउँकै जलकन्या माविबाट एसईई बी ग्रेडमा उत्तीर्ण गरेकी थिइन् ।  स्वास्थ्य तथा जनसंख्या विषय लिई १२ पास गरेकी उनले जनसंख्या बढाउने वैवाहिक योजना बुनेकी भने छैनन् । यतिबेला कलाघरमा नै कर्म गरिरहेकी छिन् । कलाघरलाई नै सर्वस्व ठानेकी छिन् । कलाघरलाई नै मन्दिर मानेर आफूहरु कलाका पुजारी बनेका छन् । 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार