ताजा अपडेट »

निजी क्षेत्रले मन खोलेर लगानी : सरकारको छैन स्पष्ट योजना

मंगलबार, १५ साउन २०८१, १२ : १९
302 Shares
मंगलबार, १५ साउन २०८१
302 Shares

रुपन्देहीको बुटवल भैरहवा र आसपासमा यहाँको पर्यटन र आर्थिक बिकासका क्षेत्रलाई चलायमान गराउन निजी क्षेत्रले मन खोलेर जति लगानी गरेको छ त्यसका तुलनामा तीन तहका सरकारले यस क्षेत्रको बिकासमा स्पष्ट योजना बनाएर चासोका साथ अगाडि बढ्न सकेको छैन  ।

पछिल्लो समय दलीय गुट र अस्थीर राजनीतिको दवदवामा रहेको बिकासको सोचमा ब्यापक सुधार आवश्यक छ । वर्तमान राजनैनिक दल र तीनका जनप्रतिनिधिको सोचाईमा व्यापक परिवर्तन हुन सकेन र पुराना नेताकै पुरानो सोचाईाबाट मुलुक अगाडी बढे मुलुक अझ पछाडि पर्ने निश्चित छ ।

अब पुरानै राजनीतिक सोच र पारालले देश समाज बदलिँदैन । अहिलेको समाज, युवा पिढी धेरै अगाडि छ । उनीहरुले बिकसित देशका कथा र सम्भावनाहरु बुझिरहेका छन् । जसका कारण हाम्रा जनप्रतिनिधि पनि आफ्नो क्षेत्रको बिकासका लागि स्पष्ट मिसन, भिजन र गोलसहित अगाडि बढ्दै आफ्नो ठाउँको बिकासका मोडेल खोज्न आवश्यक छ ।

सरकारले लाईसेन्सको कार्ड, नागरिक परिचय-पत्र दुई वर्षमा पनि दिन सकेको छैन । यसैबाट स्पष्ट हुन्छ हाम्रो कामगर्ने परिपाटी फेल छ । यदि कामगर्ने ईच्छाशक्ति हुने हो भने एक महिनामै यो वितरण गर्ने ब्यवस्था गर्न सकिन्छ ।

सबैभन्दा महत्वपूर्ण सवाल बिकास निर्माणको कामको ठेक्कापट्टा आफ्ना भन्दा राम्रालाई दिन पर्छ भनि कुनैपनि काममा ¥याल काढ्ने वानी हट्न र कमिशन तोक्ने जस्ता सवाल बन्द नै हुन आवश्यक छ ।

भ्रष्टाचार र बेथीतीले आम जनमानमा निरासा छाएको छ । नेताप्रति बितृष्णा बढाएको छ । ठूला पुराना भनिएका दलको मानसिकता बढी कमाउनतिरै देखिन्छ । छिटो छिटो सरकार बदलिँदा राजनितिक अस्थिरताको मौका छोप्ने हाम्रा नेताको वानीले झन भ्रष्टाचार र बेथिती बढाएको छ ।

हाम्रा अधिकांस नेतामा नैतिकताको खडेरी देखिन्छ । विश्व  परिवेस हेर्दा ८÷१० वर्ष अगाडिको बिकास र अहिलेको विकास हेर्दा शिक्षा, स्वास्थ्य, सम्पदाको संरक्षण, सरसफाई, कृषि, सडक जस्ता विकासका सवालमा धेरै छलाङ मारेको देखिन्छ । तर हामीकहाँ संघीय लोकतान्त्रीक गणतन्त्र आएको लामो समयहुँदा पनि बिकासले आसातित गति लिनसकेको छैन । जसको कारण दलका नेता र उच्च पदस्त कर्मचारीको मानसिकता कमाउर र भ्रष्ट हुनु हो  ।  

निजिक्षेत्रले मन खोलेर लगानीः
बिकासका सवालमा हेर्दा बुटवल भैरहवा सम्भावना भएर पनि पछाडि पर्दै गएको तथ्याङ्क र ब्यवहारले पुष्टी गर्न थालेको छ ।

यो आर्थिक मन्दिका बेलापनि निजी क्षेत्रबाट यस क्षेत्रमा मन खोलेर लगानी गरेको देखिन्छ । बुटवलदेखि पाल्पा बसन्तपुर र नुवाकोट जोड्ने दुईवटा केवलकार अरवौं लगानीमा निर्माण सम्पन्न भएका छन् । यो मन्दिका बेला निजी क्षेत्रबाट यस्ता संरचना निर्माण हुनु चानचुने कुरा हुँदै होइन । तर राज्य आफूले साथ र सहयोग दिनपर्ने पक्षेमा पटक्कै गैरजिम्मेवार देखिएको छ ।

यो केवलकारले आन्तरिक र वाह्य पर्यटक भित्राउँदै यस क्षेत्रलाई चलायमान गराउन महत्वपूर्ण भूमिका खेल्दछ । सफल ब्यवसायी नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका लुम्बिनी केवलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो क्षेत्रमा हात हाल्नु यस क्षेत्रको लागि महत्वपूर्ण विषय हो । केवलकारको टप स्टेशनमा कामाख्या मन्दिर निर्माण भईसकेको छ भने पाँच तारे होटल निर्माण हुँदैछ यसले प्रसस्त भारतीय पर्यटक भित्रने सम्भावना रहेको अध्यक्ष ढकालको भनाई छ ।

बुटवलका प्रतिष्ठीत उद्योगी ब्यवसायी कमल किशोर मालपानी र चुन्न प्रसाद पौडेलले ठूलो लगानी गरेर यस क्षेत्रकै ठूलो सुबिधा सम्पन्न पाँच तारे होटल सिके निर्माणको अन्तिम तयारीमा छ । भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माणले यस क्षेत्रमा पर्यटक भित्रने आशामा अन्य होटल ब्यवसायीले पनि मन खोलेर ४० अर्व बढीको लगानी गरेको तथ्याङ्क छ । तर भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको छैन । यस्ता सवालमा यस क्षेत्रका स्थानीय तथा केन्द्रीय नेताहरुको चासोका साथ ध्यान जान नसकेको आम ब्यावसायीहरुको गुनासो छ  । 

सिद्धार्थ नगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सरकार उद्योगी ब्यवसायी मैत्री बन्न नसकेको गुनासो गर्दै कतिपय पालिकाले यो विषम परिस्थीतिमा मनपरि कर लगाएको र जसलेगर्दा रुपन्देहीबाट राजधानी दाङ सर्दा निरास बनेका उद्योगी ब्यवसायि झन निरास भएको बताउँछन् । उनले यो क्षेत्र आर्थिक राजधानी बन्छ भनिएपनि ब्यवहारमा त्यस्तो नभएको तर्क गर्छन् । 

यस्तै स्वास्थ्यको क्षेत्रमा निजी क्षेत्रबाट चुन्नु पौडेल परिवारले करिव ५० करोडको लगानीमा बुटवल मैत्री पथमा आधुनिक सुबिधा सम्पन्न बुटवल हस्पिटल हालैमात्रमा निर्माण सम्पन्न गरि संञ्चालनमा ल्याएको छ । उता तिलोत्तमा नगरपालिकाको मणिग्राममा निजीस्तरबाट करिव २० करोडको लगानीमा ३ बिगाहा क्षेत्रफलमा १ सय ७८ वटा आधुनिक सुबिधा सहितको सटर भएको लुम्बिनी कृषि उपज थोक बजार संचालनमा आएको छ । जुन आधुनिक बजारलाई प्रयोग गरेर लुम्बिनी प्रदेशका अर्गानिक कृषि पैदावर बिदेश निर्यात गर्न सकिने राम्रो सम्भावना देखिन्छ ।

भैरहवाको अञ्चनपुरमा यो आर्थिक मन्दीका बेला सिद्धार्थ ग्रुपले ५ तारे होटल भिलासा सञ्चालनमा ल्याएको छ । भारतीय पर्यटक लक्षित गरि निर्माण गरिएको यो होटल केही महिना अगाडिनै सञ्चालन भैइसकेको छ ।  अन्य कतिपय तारे होटल निर्माणकै क्रममा पनि छन् । यस क्षेत्रको शिक्षा क्षेत्रमा पनि निजीस्तरबाट मन खोलेर लगानी गरेको देखिन्छ । तर सरकार निजी क्षेत्रमैत्री भएर योजना सहित हातेमालो गरि अगाडि बढ्न सकेको देखिँदैन । उद्योग ब्यापार व्यवसायका लागि आवश्यक पूर्वाधार र सुबिधा दिन सकिरहेको छैन ।

बुटवल उद्योग बाणिज्यसंघका अध्यक्ष हरिप्रसाद अर्याल भन्छन्–‘बुटवल  भैरहवा चलयमान गराउन बुटवल–भैरहवा सडक ब्यवसाय मैत्री भन्दा पनि सबारी मार्ग जस्तो भयो । जसजे उपभोक्ता र ब्यवसायीलाई आवत जावतमै समस्या छ ।’ अध्यक्ष अर्यालले यो जटिल परिस्थितीमा नयाँ उद्यमी  ब्यावसायीलाई प्रोत्साहन दिने नीति तीनै तहका सरकारले ल्याउन सकेको छैन । जसका कारण लगानी मैत्री वातावरण बन्न सकेको छैन भने पुराना ब्यावसायीहरु ऋणको ब्याजको मारमा परिरहेका कारण नयाँ उद्योग ब्यापारमा लगानी गर्न सक्ने अवस्थामा नरहेको बताउँछन् ।  

तर सरकार यस क्षेत्रको सम्भावना पहिचान गरेर बिकास निर्माणका नयाँ काम गर्न नसकेको मात्र होईन यहाँका महत्वपूर्ण बिकासका काम अधुरा काम पूरा गराउन समेत सकेको देखिदैन ।

अधुरा आयोजनामा देखिएन चासो :
राजनीतीक दलका नेताहरुको कमजोरी कै कारण २९ वर्ष हुँदा पनि बुटवल–झुम्सा खानेपानी आयोजना अलपत्र हुँदा नगरवासी तिनाउको धमिलो पानी पनि मुस्किलले पाउने गरेका छन् । जसका कारण उपभोक्ता महंगो जारको पानी प्रयोग गरिरहेका छन् । पानी जीवनको आधार हो । यस्ता सबालमा भन्दा बिकास निर्माणको अन्य कामले प्रसय पाईरहेको अवस्था छ ।

२० करोड भन्दा बढीको लगानी भएको बुटवलको आधुनिक बधशाला उद्घाटन भएर पनि गति लिन सकेको छैन । यहाँका जनप्रतिनिधिहरुको कमजोरी कै कारण एडिबिको करिब २५ करोडको आधुनिक अटो भिलेज निर्माण, डम्पिङ साईड निर्माणको काम फिर्ता गयो । तीन पटक उद्घाटन भएको भैरहवाको सेजले अझ गतिलिन सकेको छैन ।

रुपन्देहीको चिलियामा रहेको टाइगर प्यालेन्स रिसोर्ट पनि पटक पटक बिभिन्न समस्याले कहिले बन्द हुने त कहिले खुल्ने गरेको छ । सरकार पिच्छे यो पाँच तारे होटलले समस्या भोगिरहेको छ । ६ सय बढीलाई प्रत्यक्ष रोजगार दिएको यो होटलको समस्याबारे स्थानीय र संघीय सरकार गम्भिर  भएर स्पष्ट नीति दिन सकेको छैन । जुन होटल रोजगार र राजस्व आम्दानीका हिसाबले निकै महत्वपूर्ण छ ।

यसैगरी बुटवलको प्रदर्शनी स्थलमा बनेको अन्तर्राष्ट्रिय सभागृह पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेको दुई वर्ष वितिसक्दा पनि कार्यबिधी बन्न नसक्दा बेवारिसे जस्तै भएको छ । बुटवलको ६ लेन सडक बिगत ८ वर्षदेखि अधुरै छ । बुटवल–नारणगढ सडक निर्माणमा ढिलाई हुँदा यात्रु र चालकले भोग्दै आएको समस्या जगजायर नै छ ।   

योजना पार्नुमात्र ठूलो विषय होईन त्यो योजनाको काम कसरी भईरहेको छ ? किन समयमा काम हुन सकेन ? कसरी समयमा काम गराउने भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । यी त केही उदाहरण मात्र हुन । अव सरकारले स्थानीयको रोहबरमा फास्टट्रयाकमा काम गर्ने परिपाटीको बिकास गर्न आवश्यक छ भने असारे बिकास रोक्न त्यत्तिकै जरुरी देखिन्छ ।

केही  नयाँ सम्भावनाः
काठमाण्डौमा बालेनको प्रबेशपछि बिकासले छलाङ मार्न थालेको देखिन्छ । काठमाडौंका मेयर बालेन्द्र शाह, भक्तपुरका मेयर सुनिल प्रजापति, ललीतपुरका मेयर चिरिबाबु महर्जन, धरानका मेयर हर्क सामपाङ, धनगढीका गोपी हमालको कामगर्ने शैली केहिलाई मन नपर्न सक्ला तर तिनिहरूले स्पष्ट भिजन र मिसनसहित गरेको कामले अधिकांस जनताबाट स्यावासी पाएका छन् । र, उनीहरुको काममा भ्रष्टाचार र बेथीती पनि सार्वजनिक भएको छैन । अव अन्य क्षेत्रका  जनप्रतिनीधि  पनि  स्पष्ट योजनाका साथ जन बिश्वासका आधारमा अगाडि बढ्न आवश्यक छ । 

बुटवल भैरहवालाई चलायमान गराउन केही नयाँ महत्वपूर्ण सम्भावनाहरु पनि देखिन्छन । खासमा यस क्षेत्रको बिकासका लागि बुटवल, भैरहवा, तिलोत्तमा, देवदह लगायत अन्य केही पालिका जोडेर महानगरपालिकाको अवधारणामा काम गर्न आवशयक देखिन्छ । 

बुटवलको गोलपार्कदेखि भैरहवाको, बेलहीया, सुनौली नाकासम्म मेट्रो ट्रेन संञ्चालन गर्न सके यसले भारतीय पर्यटकलाई आर्कषण गर्छ तर यसका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले संघीय सरकारको चासो जान आवश्यक छ । बुटवलका दुई केवलकार थप चलयमान गराउन केवलकारका टप स्टेसनमा पर्यटकका लागि समय लम्ब्याउन थप आर्कषणका कुराहरु र सपिङ्ग सेन्टर स्थापना गर्न आवश्यक हुन्छ ।

केही वर्ष अगाडि म मलेसिया पुग्दा मलेसियाको जेन्टिन हाइल्याड केवल कारबाट जादा माथि टप स्टेशनमा सपिङ्ग महल, होटल, क्यासिनो लगायतका संंरंचनाहरुले बसाई थप लम्ब्याएको अनुभव गरेको थिए । यस्तोे सुबिधा हुनु यूवा पिढी र समयको माग पनि हो । 

यहाँको अर्को सम्भावना भनेको बुटवलको ऐतिहासिक जित गढि किल्ला पर्यटक आर्कषण गर्न थप योजना ल्याउन आवश्यक देखिन्छ । यहा सिमेन्ट र फलामका निर्माण थप्ने होईन । त्यसका लागि तिनाउ नदिमा तीन चार किलोमिटर बाँधबाधेर बोटिङको ब्यवस्था गर्न सकिन्छ ।, जितगढि किल्ला वारपार गर्न तिनाउमा आर्कषक झोलुङ्गे पुल निर्माण गरी आकर्षण गर्न सकिन्छ । अनि जितगढि किल्ला परिसरमा नेपाली फौजले अग्रेज फौजलाई हराएका गति बिधिहरु र नेपाली सेनाका कमाण्डर उजिर सिँह थापा तथा युद्धका बारेमा जानकारी दिने ब्यवस्था गर्न सके पर्यटक आर्कषण गर्न सकिने सम्भावना देखिन्छ  ।

हुन त बुटवल भैरहवा भित्रने पर्यटकहरुलाई गौतम बुद्धको  जन्मस्थल लुम्बिनी, पाल्पाको पर्यटकीय आर्कषणको केन्द्र  तानसेन र यस आसपासका वरिपरिरहेका महत्व पूर्ण स्थल, पार्क, मठमन्दिर घुमाउने प्याकेजको समेत ब्यवस्था गर्न सके पर्यटकको बसाई लम्ब्याउन सकिन्छ । जसले यस क्षेत्रको धार्मिक, आर्थिक र पर्यटन बिकासलाई थप बल पुग्ने आशा गर्न सकिन्छ ।  

दामोदर खनाल
लेखकको बारेमा
दामोदर खनाल
स्तम्भकार