ताजा अपडेट »

को हुन् लुम्बिनीका प्रदेश प्रमुख घर्ती ?

मंगलबार, १५ साउन २०८१, ०७ : ०९
758 Shares
मंगलबार, १५ साउन २०८१
758 Shares

बुटवल । सोमबार बसेको मन्त्री परिषद बैठकले लुम्बिनीसहित ३ प्रदेशका प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको छ । जस अनुसार लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरिएको छ । 

६५ वर्षीय घर्ती नेपाली काँग्रेसमा रहेर आफ्नो राजनीतिक जीवन बिताएका छन् । दुई श्रीमती र ७ जना छोराछोरी रहेका घर्तीको अहिले भने दुवै श्रीमतीको मृत्यु भइसकेको छ । रोल्पा जिल्ला माओवादीको किल्ला मानिए पनि कांग्रेसलाई बलियो बनाउन घर्तीमगरले मेहनत गरेको उनका समर्थकहरूले प्रशंसा गर्दछन् ।

सशस्त्र युद्धको समयमा पनि कांग्रेसमै टिकिरहेका उनी जनस्तरमा भिजेका नेताको रूपमा चिनिन्छन् । २०४९ सालमा गाविस अध्यक्ष भएपछि हालसम्म लाभको पदमा नगएका उनलाई यसअघिको निर्वाचनमा समानुपातिक सांसदको सूचीमा राखिएको थियो । हाल घर्तीमगरको बसाई जिल्ला सदरमुकाम लिवाङमा छ ।

२०१६ माघ १० गते जन्मिएका उनले २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसंघबाट राजनीति सुरु गरेका थिए । विभिन्न आन्दोलनमा जेल जीवन बिताएका घर्ती २०४९ मा साबिक घर्तीगाउँ विकास समितिको अध्यक्ष भएर जिविस सभापतिमा लडे पनि झक्कुप्रसाद सुवेदीसँग हारेका थिए । २०४७ मा पार्टीको जिल्ला समिति सदस्य हुँदै सचिव बनेका थिए घर्ती । २०४८ देखि २०७२ सम्म महासमिति सदस्य रहेका उनी २०५९ देखि २०७२ प्रजातान्त्रिक कांग्रेसमा रहेका थिए । उनी २०५९ मा आमन्त्रित केन्द्रीय सदस्य र पछि केन्द्रीय सल्लाहकार बनेका थिए ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा वडामै पराजित भएका रोल्पाका कृष्णबहादुर घर्ती नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा लुम्बिनी प्रदेशको प्रदेश प्रमुख भएका हुन् । रोल्पाको माडी गाउँपालिका वडा नं २ बाट उनी नेपाली कांग्रेसको १४ महाधिवेशनमा प्रतिनिधि छनौटमा पराजित भएका थिए ।

पार्टीमा अहिले संस्थापन समूहमा रहेका घर्ती जिल्लामा अहिले बलियो बनेको इतर समूहको लडाइँमा पराजित भएका हुन् । त्यसो त घर्तीले पहिलेबाट नै देउवालाई काँध थाप्दै आएका नेता हुन् । नेपाली कांग्रेस विभाजन भएको बेला शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेसको रोल्पा सभापति भएका घर्ती १२ औँ महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

अहिले कांग्रेस प्रदेश सभापति रहेका अमरसिंह पुनलाई हराउँदै उनी १२ औँ महाधिवेशनमा जिल्ला सभापति भएका थिए । १३ महाधिवेशनमा अमरसिंह पुन जिल्ला सभापति हुँदा प्रतिनिधि बन्न इच्छुक रहे पनि नछानिएका उनी १४ औँ महाधिवेशनमा वडामै पराजित भएर रोकिएको नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले बताए । आचार्य १४ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनी इतर समूहका हुन् ।

पार्टी सभापति देउवासँग निकटस्थ रहेका कृष्णबहादुरलाई पछिल्लो निर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक सूचिमा राखिएको थियो तर उनको नाम पछाडि भएकाले अट्न सकेनन् । कांग्रेस लुम्बिनीका अध्यक्ष अमरसिंह पुन र कृष्णबहादुर घर्ती नाताले मामा भान्जा तथा ससुरा ज्वाइँसमेत हुन तर पुन पार्टीको कोइराला समूहमा र घर्ती देउवा समूहमा पहिलेबाटै भएकाले दुवैबीच आन्तरिक सम्बन्ध बलियो भने छैन ।

संक्षिप्त जीवनी

जन्मः २०१६ माघ १० गते।
२०३६ सालको विद्यार्थी आन्दोलन नेविसंघबाट राजनीति सुरु भएको।
विभिन्न आन्दोलन जेलनेल भोगेको। २०४९ मा साविक घर्तीगाउँ विकास समितिको अध्यक्ष।
२०४७ जिल्ला कमिटि सदस्य। त्यसपछी सचिव।
२०४९ जिविस सभापती लडेको। झग्गुप्रसाद सुवेदी संग चुनाव हारेको। तर, सुवेदी उनका मिल्ने जेल जीवनका साथि थिए।
२०४८ देखी २०७२ सम्म महासमिति सदस्य।
२०५९ देखी २०७२ प्रजातन्त्रीक कांग्रेस।
आमन्त्रीत केन्द्रिय सदस्य २०५९, केन्द्रिय सल्लाहर पनि।
दुई छोरा, चार छोरी।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।