ताजा अपडेट »
आध्यात्म प्रवचन

भागवत वाचनमा जमेकी २३ बर्षिया नेपाली चेली “देबी प्रतिभा”

भारतमा आध्यात्म प्रवचन दिनेमा तेस्रो नम्बरमा छिन उनि

सोमबार, १४ साउन २०८१, ०८ : ०९
242 Shares
सोमबार, १४ साउन २०८१
242 Shares

काभ्रेपलाञ्चोक ।  ‘देवी प्रतिभा’ अर्थात् प्रतिभा पराजुली, कम उमेरमै आध्यात्म अङ्गीकार गर्दै देशविदेशका धार्मिक कार्यक्रममा प्रवचनमा प्रखर बनिरहेकी काभ्रेली चेली हुन उनी । छिमकी राष्ट्र भारतको आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा चिनिएकी २३ वर्षीया प्रतिभा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा जन्मिएकी हुन् । विशेषगरी नेपालमा कथावाचन तथा प्रवचनमा प्रसस्त पुरुषहरु भइरहँदा कम उमेरमै प्रतिभाले आफ्नो प्रभाव जमाउँदै गरेकी छन् ।

भारतको बृन्दावनमा रही प्रवचनमा स्थापित देवी प्रतिभा अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा सामेल हुँदा नेपालीजनमा उनको प्रवचन र प्रचारप्रसार अझ चुलिएको छ ।

मानवसेवा फाउण्डेशन नेपाललगायतका संस्थाद्वारा आयोजित एकमहिने उक्त कोटीहोममा उपस्थित भक्तजनबाट प्राप्त माया र सद्भावले आफूलाई थप ऊर्जा मिलेको प्रतिभा बताउँछिन् । यस कोटीहोममा नेपालमा ख्याती कमाएका प्रवचकहरू राधिका दाशी, पण्डित दीनबन्धु पोखरेल र देवी प्रतिभालगायत विदेशमा समेत ख्यातिप्राप्त पाँच कथावाचकले प्रवचन दिइरहेका छन् ।

prativa-devi1

काभ्रेपलाञ्चोकमा जन्मिएर करिब एक दशकदेखि भारतका विभिन्न प्रान्तहरुमा आध्यात्मिक प्रवचन दिइरहेकी प्रतिभाप्रति उनका छिमेकी र जिल्लावासीहरु प्रफुल्लित देखिन्छन् । उनको प्रतिभा देखेर गौरवान्वित भएकाले गृहनगर मण्डनदेउपुर लगायत जिल्लाका विभिन्न स्थानमा प्रतिभाको अभिनन्दन समेत गरिएको छ ।

२३ वष प्रतिभा साधुराम पराजुली र इन्दिरा पराजुलीको माइली छोरीका रूपमा जन्मेकी हुन् । बाबु साधुरामका अनुसार प्रतिभा सानै उमेरदेखि आध्यात्मिक सोच राख्ने गर्थिन् । पारिवारिक वातावरण पनि आध्यात्मिकता रहेको अवस्थामा सानैदेखि ‘पण्डित’ बन्ने प्रतिभाको धोको पूरा भएको परिवारले बताएको छ । “छोरीले म एक दिन मेरो बुबाआमालाई आफैँले श्रीमद्भागवत कथा वाचन गरेर सुनाउँछु भन्थिन् ।” प्रतिभाको आफ्नो सोच, चाहना पूरा भएकामा साधुराम गर्व गर्छन् ।

prativa-devi

बृन्दावनमा संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन गरेकी प्रतिभा गीतसङ्गीतमा पनि निपूर्ण थिइन् । कोटीहोममा पनि प्रवचनका क्रममा धार्मिक गीतसङ्गीतमा श्रद्धालु भक्तजनलाई छमछमी नचाउनसक्ने खुबी उनको छ । उनी संलग्न धार्मिक कार्यक्रममा भीडभाड हुने गरेको छ भने उनीलाई पछ्याउनेहरु पनि त्यत्तिकै देखिन्छन् । अहिले पशुपति कोटीहोममा पनि उनलाई १०–१२ जना अङ्गरक्षकले सुरक्षा दिनुपर्ने बाध्यता रहेको आयोजकले स्पष्ट गरेको छ । सुरक्षाकर्मीलगायत भजनमण्डलीमा करिब ५० जनाको टिम उनीसँग छ । प्रतिभा २३ वर्षको उमेरमै धेरै व्यस्त छिन् ।

बुवा साधुरामका अनुसार सुरुको विद्यालय शिक्षा बनेपास्थित पञ्चकुमारी बोर्डिङ स्कुलबाट लिएकी प्रतिभाले गाउँकै नवप्रतिभा बोर्डिङ स्कुलमा केही समय अध्ययन गरी काठमाडौँको वाल्मीकि विद्यापिठमा केही समय अध्ययन गरेको बताउँछन् । प्रतिभाको इच्छाअनुसार परिवारले उनलाई उच्च शिक्षा अध्ययनका लागि भारतको बृन्दावनमा पठाएको थियो ।

452589854_1039602237772877_8953443488352850852_n-1536x1024

भागवत् पढ्न छ महिनामै सिकेको अनुभव प्रतिभा सुनाउँछिन् । अध्ययनकै क्रममा प्रवचन दिन थालेकी प्रतिभाले कैयौँ धार्मिक कार्यक्रममा प्रवचन दिएकी छन् । आगामी दिनमा पनि प्रवचनलाई निरन्तरता दिने सोच रहेको उनी बताउँछिन् । कथा वाचनको शिलशिलामा सात वर्षपछि प्रतिभा नेपाल आएकी हुन् । उनको प्रवचनको सार ‘धर्म मानवलाई नियममा बाँध्ने एउटा सूत्र’ हो । “सेवाभावले जनजनमा धार्मिक गतिविधि प्रचार गर्न सकियोस् भन्दै म यस क्षेत्रमा लागेको हो”, उनी भन्छिन् । “पत्थरले पनि मूर्तिको आकार पाउन निकै चोट सहनुपर्छ”, उनी भन्छिन्, “मेरो जीवनमा पनि यस्ता समस्या धेरै आए, म ती दिनहरु भुल्न सक्दिनँ ।”

प्रतिभाले काभ्रेपलाञ्चोकमा आइतबार आयोजित अभिनन्दन कार्यक्रममा आफू संसारका जुनसुकै ठाउँमा पुगे पनि आफ्नो संस्कार, जन्मिएको ठाउँ, आफ्ना समस्त नेपाली दाजुभाइलाई कहिल्यै नबिर्सने बताउँछिन् । उनीको रुचि अनुसार पढाइको व्यवस्था गर्न परिवारलाई धेरै मिहेनत गर्नुपरेको थियो । प्रतिभा सानो छँदा जिद्दी स्वभावको रहेको बताउने बाबु साधुराम उनको जिद्दी नराम्रो कामका लागि भने नरहेको बताउँछन् ।

“हामी उनको चाहनाविपरीत गएनौँ, उनी आफैँले एउटा बाटो समाएकी छिन्, अरुलाई पनि प्रेरणा दिएकी छिन्, देशविदेशमा नाम कमाएकी छन्, उनी हाम्रो छोरी मात्र होइन, मण्डनदेउपुरको छोरी, काभ्रेपलाञ्चोकको सान र देशकै एउटा नाम जस्तै प्रतिभा भएकामा हामी निकै खुसी भएको छौँ”, बाबु साधुरामले भने । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।