ताजा अपडेट »

बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी

आइतबार, १३ साउन २०८१, ११ : ४५
80 Shares
आइतबार, १३ साउन २०८१
80 Shares

बुटवल  । उच्च अदालत बार एशोसियसन बुटवल, समृद्धि सरोकार केन्द्र र बुटवल मिडिया प्रकाशन प्रा।लि। बुटवलको संयुक्त आयोजनामा ‘राजनीतिक स्थिरता र समृद्धिका लागि संविधान संशोधन’ विषयक विचार गोष्ठी शनिबार बुटवलमा सम्पन्न भएको छ ।

उच्च बार बुटवलका अध्यक्ष अधिवक्ता गोविन्द प्रसाद मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै वरिष्ठ अधिवक्ता तेज प्रसाद कंडेलले राजनीतिक स्थिरता र समृद्धिका लागि संविधान, ऐन कानूनका साथै असल नियतको आवश्यकता पर्ने बताए ।
संविधानविद् एवं राजनीतिज्ञ कंडेलले संविधानमा उल्लेख भएका कुराहरुको सही कार्यान्वयन हुन नसक्दा एकपछि अर्को गरी मुलुकमा  संकटको स्थिति उत्पन्न भएको चर्चा गर्दै समयको माग र आवश्यकता अनुसार संविधान संशोधन अपरिहार्य हुने बताए ।  अधिवक्ता महेन्द्र पाण्डेले संविधान जतिसुकै राम्रो भएपनि शासकहरुको नियत सफा नहुँदा सम्म सुशासन र समृद्धि जहिले पनि संकटमा पर्ने बताए ।
कार्यपत्र प्रस्तोता अधिवक्ता  पदम कार्कीले सैद्धान्तिक, मूल्य, मान्यता तथा जनताको माग अनुसार समयसमयमा संविधान बन्ने र संशोधन हुने विश्वव्यापी प्रचलन रही आएको बताउँदै  नेपालको संविधान संशोधन आवश्यक भएको बताए ।
कार्यक्रममा बोल्दै आयोजक संस्था बुटवल मिडिया प्रकाशन प्रा।लि।का कार्यकारी प्रमुख तथा प्रधान सम्पादक अधिवक्ता डा। बालकृष्ण चापागाईंले संविधान संशोधनको बहस प्रारम्भ भएको सन्दर्भमा किन र कसरी संशोधन भन्ने विषयमा गम्भीर बहसको खाँचो भएको बताए ।
 समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले राष्ट्रको आवश्यकता, जनअपेक्षा  र संविधान कार्यान्वयनको दश वर्षे अभ्यासले संविधान संशोधन अपरिहार्य भएको बताए । बृद्धिजीवी  तथा राजनीतिककर्मी बल बहादुर आचार्यले  संविधान भनेको समाजलाई व्यवस्थित रुपमा  सुसञ्चालन गर्ने दस्तावेज भएको बताउँदै  जनअधिकार र भावनाको सही प्रतिनिधित्व गर्न नसके संविधानप्रति जनताको अपनत्व नरहने बताए । त्यस्तैगरी राजनीतिककर्मी पुरुषोत्तम घिमिरेले सुशासनका लागि संविधानमा कठोर व्यवस्था आवश्यक भएको बताए ।
नेपाल उद्यान पार्क महासंघका अध्यक्ष खेमप्रसाद लुइटेलले  राजनीतिक नेतृत्वको  अदुरदर्शी र अकर्मण्डेताले गर्दा जनतामा निराशा छाएको हुँदा संविधान संशोधनका साथै नेतृत्व पनि सच्चिनुपर्नेमा जोड दिए । अधिवक्ता यमलाल खनालले  सुशासन र पारदर्शीताको अभावले मुलुक जर्जर बनिरहेको परिस्थितिमा संविधान संशोधनले सत्कर्ममा जोड दिनुपर्ने बताए । कार्यक्रममा लेखक तथा  बुद्धिजीवी क्रषि आजाद र  लिलाबल्लभ ढकालले जनअपेक्षा अनुसार संविधान संशोधन गर्नुपर्ने बताए ।
कार्यक्रमको सञ्चालन समृद्धि सरोकार केन्द्रका सचिव अधिवक्ता दामोदर घिमिरेले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।