ताजा अपडेट »

कलाघरकी कलाकार

आइतबार, १३ साउन २०८१, १० : ५६
624 Shares
आइतबार, १३ साउन २०८१
624 Shares

ट्याम्को बजाउँछिन् गजवले । हुन त उनले नौमती बाजामा पर्ने अन्य बाजाहरु पनि धेरैथोरै बजाउँछिन् । सानैदेखिको उनको रहर कलाकार बन्ने नै थियो ।  चार वर्षको उमेरदेखि नै सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नं. २  को तारुखाेलामा बस्दै आएकी छिन् । मामाघरमा हुर्केर,पढ्दै आएकी उनले शिक्षाशास्त्र संकायतर्फ स्नातकको पढाई अन्तिम चरणमा पुराएकी छिन् । 

साहित्यप्रतिको रुची अगाध छ । कविता,भावना,गजल र मुक्तक कोर्छिन् । साहित्यिक पुस्तक पढ्न हुरुक्क गर्ने उनले आफूलाई साहित्य अनुुरागी ठान्छिन् । प्रोल्लास सिन्धुलीय, धनमाया राई लगायतका अग्रज साहित्यकारहरुसँगै साहित्य–यात्रामा आफूलाई समाहित गरेकी छिन् ।  सडक–नाटक र कचहरीमा कलाकार बनेर अभिनय गरेकी छिन् । सिन्धुलीमा देखाइएको पहिलो रङ्गमञ्चीय नाटक ‘निधार’मा बेजोड अभिनय गरेकी थिइन् । सिन्धुली कलाघरको आधिकारिक च्यानलबाट प्रदर्शन गरिएका भिडियोहरुमा अभिनय गरेकी उनले अभिनयकलामा आफूलाई खरोरुपमा उतार्न पहल गरेकी छिन् । 

d6d74322-6e20-4cbf-b1be-89b9976d5cf2

नृत्य सिकेकी छिन् र सिकाउँछिन् पनि । गीत गाउँछिन् । दोहोरीमा उनको गीत फुर्छ । बाजा बजाउँदै आफ्नो प्रतिभा सबैसँग पस्केकी छिन् । जीवन नै कला हो भन्ठान्छिन् । सानैदेखिको कलाकार बन्ने रहर यतिबेला पूरा भएको छ । २०७५ सालदेखि सिन्धुली कलाघरमा जोडिएकी उनी यतिबेला सोही कलाघरकी सचिव समेत छिन् । 

कुनै समय उनलाई शिक्षक बन्ने रहरले मनमा हुटहुटी खेल्थ्यो रे ! त्यही भएर शिक्षाशास्त्र संकायतिर लम्केकी रहेछिन् । निमावि तहको शिक्षण लाइसेन्स समेत लिएर शिक्षक बन्न तम्सेकी उनी यतिबेला कलाघरमा व्यस्त छिन् । कलाले उनलाई आनन्दमात्र होइन,गरी खाने आधार दिएको छ । बाँच्ने टेको बनेको छ । जीवनलाई मनोरञ्जनमात्र होइन, कलाले नयाँ संस्कार र सभ्यता पनि सिकाएको छ ।

18843f10-0dbe-4199-8a2f-387fdacd1e22 

उनै कलाकार हुन् रीता ‘प्रकृति’ थिङ् । प्रकृति उनको साहित्यिक उपनाम हो । रीताले स्नातक भ्याएपछि शिक्षा विषयमा नै स्नातकोत्तर गर्ने रहर बुनेकी छिन् । तर उनले अब स्कूलमा शिक्षक बनेर पढाउने छैनन् । बरु आफ्नै कलाघरले कल्पना गरेको सांस्कृतिक पाठशालामा कलासम्बन्धी सिकाउने छिन् । गुरुमा बन्ने छिन् । 

रीताको विगत दुःखको भकारी हो । उनी फुकाउन चाहन्नन् । बरु भविष्यमा कला  र अभियनमार्फत आफू अब्बल कलाकार बन्ने अठोट लिएकी छिन् । प्रतिवद्ध भएर कलामा पोखिएकी छिन् । जीवनलाई सुन्दर बनाउने नै कला हो ठान्छिन् । कलामार्फत देश, दुनियाँलाई जागृत बनाउने उनको सपनामा सिन्धुली कलाघर सारथी बनेको छ । आधार बनेको छ । 

रीता, घरकी जेठी छोरी हुन् । एउटा भाइ र बहिनी एउटी बहिनी छिन् । उनीहरुले पढ्न छाडीसके । बाबा–आमा उतै सर्लाहीतिरै घरगृहस्थीमै व्यस्त छन् । यता सिन्धुलीतिर रीताले हजुरआमाको सेवा गर्दै कलामा पारङ्गत हुँदैछिन् । हजुरबाबा बितिसके । सहाराका रुपमा रीता छिन् । वृद्धा हजुरआमाको स्याहारसुसार गर्दै आफूलाई कलामा समाहित गर्दै आइरहेकी छिन् । 

dc6870b7-fcd7-4e48-abe9-09f8130d7041

अग्रज कलाकार सुमन थापामगरको नेतृत्वमा रीताले सचिव बनेर सिन्धुली कलाघरमा साथ दिइरहेकी छिन् । कलाघरमा रहेर संसारका ६ वटा देश पुगेकी छिन् । देशका सबै स्थानमा कलामार्फत पुग्ने उनको सपना सिन्धुली कलाघरले पूरा गर्नेछ । 

रीता हँसिली छिन् । रीस कुन चराको नाम हो थाहा छैन उनलाई । खुसी हुँदा संसार जित्छिन् । दुःखले उनलाई पहिल्यै पाठ पढाएर गइसकेको छ । कलामार्फत सुखको सपना साँचेकी छिन् । आफूपछिका कलाकार भाइबाहिनीलाई आफूजस्तै प्रतिभावान कलाकार बनाउने जिम्मा समेत उनको काँधमा आइपरेको छ । कलाघरमा उनीहरुले कलामात्र सिक्दैनन् बरु उनीहरुले भाडामा लिएको जग्गामा कोदो रोप्छन् । श्रम गर्छन् । सीप पोख्छन् । 

309be037-758f-4637-bc3e-8f530c83c2bb

 भविष्यमा सिन्धुली कलाघरलाई संसारकै कलाघर बनाउने सपना सबैको छ । साझा सपना पनि हो । यसमा रीताको सपना पनि मिसिएको छ । रीताले आफ्नो कितावी ज्ञानलाई कला र अभियनयमार्फत यहीँ प्रस्तुत गर्ने सपना बुनेकी छिन् । परिवार नै कलाघरलाई ठानेकी छिन् । जीवनको अन्तिमसम्म कला आश्रममा बसेर कला र अभिनयको सेवा गर्ने प्रतिवद्धता जनाएकी छिन् । 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार