बुटवल । कुरा २०८१ आषाढ २९ गते साझ ५ बजे काे हाे । बुटवलको मिलनचोकमा रहेको शान्त तथा आनन्ददायी वातावरण भएको "चियाचौतारी बुक क्याफे" मा आदरणीय ब्यक्त्तित्वहरु सरिता श्रीस, दिपक बिश्वकर्मा, विनोद परियार, सिपि खनाल, रमेश अर्यालज्यूहरूको साथमा फिल्म हेर्ने र चिया पिउदै फिल्मी गफगाफ गर्ने मौका मिल्यो। उक्त कार्यक्रममा धेरै साहित्य प्रेमी महानुभावहरु संगै म जस्तो भर्खर साहित्यिक जमघटहरुमा रुचि राख्न थालेकाहरुको पनि उपस्थिति थियो।
कार्यक्रमका लागि जम्मा रु.१०० प्रवेश शुल्क राखिएको थियो। खासगरि आफ्नो चियाको खर्च आफैले ब्यहोर्ने गरेर उत्त मुल्य तोकिएको रहेछ। सबै भेला भएर चलचित्र हेर्ने र मिठो चियाको चुस्किसगै फिल्मको बारेमा छलफल गर्ने भनेर यो कार्यक्रम राखिएको थियो।
चलचित्रको नाम | पानीफोटो |
निर्देशक | खगेन्द्र लामिछाने |
निर्माता | रोजिना सिटौला, रबिन्द्र बज्राचार्य |
मुख्य भुमिका | अनुप बराल , मालिका महत, मेनुका प्रधान र खगेन्द्र लामिछाने |
भाषा | नेपाली |
प्रदर्शन मिति | ०७९ साउन १३ |
यस चलचित्रमा माओवादी द्वन्द्वकाल र त्यसबाट प्रभावित नेपाली समाज, सामाजिक घटनाक्रम बारे चर्चा गरिएको छ र त्यसबाट प्रभावित सामाजिक मनोविज्ञान देखाउने प्रयास गरिएको छ। तत्कालीन माओवादी समुहमा युवा तथा बलबालिकाहरु कसरि मिसिदै गए र त्यसपछि ती बालबालिका र युवाहरूको परिवारले खेप्नुपरेको मानसिक, शारीरिक र सामाजिक समस्याहरुलाइ निकै उत्कृष्ट र कलात्कम शैलीमा ब्यक्त गरेको छ।
चलचित्रमा कृष्णका आमाबाबु माओवादी द्वन्द्वकालमा बेपत्ता भएको आफ्नो छोरा खोज्दै भौतारिन्छन्। चलचित्रको प्राबिधिक पक्ष एकदमै सबल लाग्यो मलाई । म चलचित्र हेरेर अलिक भावुक पनि भए।आफ्नो सन्तानको लागि सबै हद पार गर्ने ती बाबुआमालाई देख्दा मलाई आफ्नी आमाप्रती अझ धेरै माया र सम्मान उर्लेर आयो। आफ्ना आमाबुबाले जस्तो निस्वार्थ माया अरु कसैले पनि गर्न सक्दैन जस्तो लाग्यो । नायिका मेनुका प्रधानको पात्रले पनि गहिरो प्रभाव पार्यो। बाबुआमाको सन्तान प्रतिको प्रेम यति गहिरो हुने रहेछ कि बर्षौसम्म बेपत्ता रहेको सन्तान घर फर्किने आश जिवनभर लाग्दो रहेछ्।
अर्को महत्त्वपूर्ण कुरा के लाग्यो भने माओवादी द्वन्द्वकालमा दुवै तर्फबाट कति मानिस मारिए, कति बेपत्ता भए भन्ने कुरा आजसम्म पनि सुन्दै आएकी मैले, फिल्ममा केही मानिसहरु फर्केर आफ्नो घर आएको देख्दा खुशी लाग्यो। तराई भेगको रुपन्देही जिल्लामा जन्मेकि म, चलचित्रमा स्याङ्जा र रोल्पा जिल्लाको त्यो पहाडि मनमोहक दृश्यहरु देख्दा मन सारै आनन्दित भयो। फिल्ममा एउटा पात्र धन कमाउन बाहिरी मुलुक गएको देखाइन्छ । त्यो देख्दा लाग्यो आफैले लडेर ल्याएको ब्यवस्था भएपनि हिजोको द्वन्द्वको असर पुर्णरुपमा नसकिएर त होला युवाहरू बिदेश पलायन हुन अझै नरोकिएको।
आमा पात्रले कहिले बाख्राको सानो पाठोमा आफ्नो बेपत्ता छोरा कृष्णको झल्को मेटाएको जस्तो लाग्यो त कहिले ठेगानाकै भरमा एक्लै छोरा खोज्न हिड्ने दृश्य देख्दा एउटा मसिनो आशाको किरणकै भरमा पनि जीवन अघि सर्दो रहेछ भन्ने बुझेर अचम्म पनि लाग्यो। फिल्मको अन्त्यमा पनि कृष्ण फर्किन्छ कि फर्किदैन भन्ने कुरा नदेखाइएकाले अलिकती खिन्न महसुस भएतापनी चलचित्र" पानीफोटो" निकै राम्रो लाग्यो मलाई ।
चलचित्र सकिएपछि छलफलको क्रममा उत्त हलमा उपस्थित हामी सबैजना गोलार्ध भएर बस्यौं र सुरुवात गर्नुभयो सरिता श्रीसले, मैले पनि आफ्ना केही कुराहरू राखे । आदरणीय रमेश अर्याल सर (उहालाई मैले झन्डै ५ बर्षपछी भेट्ने मौका पाएकि थिए ) उहाले पनि आफ्ना कुरा हरु राख्नु भयो। त्यहि कार्यक्रममा आफ्नो प्रिय मित्र अर्जुन अर्याललाइ भेट्न पाउँदा सारै खुशी लाग्यो। फिल्म हेर्दै गर्दा उपस्थित प्रीयंका दिदी निकै भावुक हुनुभयो। कुरा बुझ्दै जादा फिल्ममा देखाइएको दृश्यहरु उहाँकै आफ्नै मावली गाउँ पो रहेछ। साथै अन्य उपस्थित दर्शकहरुले त्यो समयमा आफू र आफ्ना साथीभाइले भोगेका घटनाहरु सुनाउनु भयो।
फिल्म हेर्ने बेलामा झमझम पानी परेकोले पात्रहरुको संवाद बुझ्न अलि कठिनाइ भयो भन्ने कुरा पनि कसैकसैले राख्नु भयो । म आफुलाई ब्यक्त्तिगत रुपमा द्वन्द्वकालको त्यति सम्झना नभए पनि त्यहाँ उपस्थित ब्याक्तित्वहरु को अनुभव सुन्दा मैले धेरै कुराहरु बुझ्न बाकी रहेछ भन्ने लाग्यो। नेपाली समाज, यहाको वस्तुस्थिति र यसले भोगेको द्वन्द्व, त्यसैसित जोडिएका सम्झनाहरु लगायत धेरै पाटोहरु बारे मैले धेरै बुझ्नुपर्नेछ सायद्।। जे होस, यो फिल्मले द्वन्द्वमा बेपत्ता भएकाहरुको परिवारमा सानो भएपनि एउटा आशाको दियो बालेको महशुस भयो।
चियाचौतारी मा भएको "फिल्मी चिया गफ" मा धेरै कुराहरु जान्ने मौका पाएकोमा यसको चाजोपाजो मिलाउने दिलिप ज्ञवाली, सविन बटौली लगायत सम्पुर्ण आयोजक टिमलाई धन्यबाद ।
प्रतिक्रिया