ताजा अपडेट »

सिन्धुली कलाघर घुमेर हेर्दा...

शुक्रबार, ११ साउन २०८१, १२ : ५२
628 Shares
शुक्रबार, ११ साउन २०८१
628 Shares

काम विशेषले काठमाडौं थियौं । काम सकियो मध्यान्हमा । सुन्धारामा साथीहरु बटुल्लिएर बुटवलतिर आउनु पर्ने हामी काभ्रेको बनेपा,धुलिखेलहुँदै सिन्धुली हान्नियौं । सिन्धुली गढी हेरेका थियौं केही साथीहरुले । तर हामीसँग रामबहादुर थापालगायतका नयाँ साथीहरु जापान सरकारको सहयोगमा बनेको घुम्तिसहितको आकर्षक बाटोहुँदै  सिन्धुलीगढीको प्रवेशद्वारमा पुग्दा साँझको साढे छ बज्दै थियो घडीमा । 

कुहिरो टम्म । चिसो उस्तै । कानै ठिहि¥याउने । आफ्नो नाक छाम्दा त आफ्नै हो भन्ने विश्वास नै नलाग्ने । दूधवाला तात्तातो चियाले जाडो हटाउन खोजे पनि केही साथीहरुले चिसो चियाले चिसो हटाउने जिकिर गरे । अनि उतै भीडे पनि । मलाई अचम्म लाग्यो तातो चियाले चिसो हटाउँछ कि चिसो चियाले चिसो हटाला ? छिनभरको बसाईपछि प्रवेशद्वारबाट सात किलोमीटर दूरीमा रहेको सिन्धुली कलाघरको आँगनका लागि यात्रा तय ग¥यौं । मोटरको लाइटले समेत भूइँकुहिरोलाई चिर्न हम्मेहम्मे परेको थियो । 

मन्दिर अघिको घरमा पुगेपछि रामबहादुर र तोयाले घ्याच्च मोटर रोके । हामीहरु कुखुराको धुमबाट कुखुरा निस्किेजस्तै मोटरबाट फुत्तफुत्त बाहिर निस्कियौं । हामीलाई त्यही स्वागत गरेका थिए सिन्धुली कलाघरका अध्यक्ष एवम् कला अभियन्ता नेपाली बाबु सुमनले । कलाघरसम्म ल्याइ पुराउने विशेष भूमिका सिद्धबाबा माविका शिक्षक धनमाया राईको नै थियो । सुमनको पछि लागेर हामी कलाघर हेर्न पुग्यौं । त्यतिबेला फुस्सफुस्स पानी परिरहेको थियो । चिसोको सीमा थिएन । साउनको महिना झरिको महिना हुने नै भयो । 

6

आगन्तुकका रुपमा होइन,पाहुनाका रुपमा हामीले कलाघर प्रवेश गरेका थियौं । राष्ट्रिय कला संग्रहालयमा हामीलाई सुमनले पुनः स्वागत गरे । त्यहाँ भएका पुराना तथा नयाँ सबै कुराको जानकारी गराए । पुर्खाको नासो ः नयाँपुस्ताको चासो भन्दै सुमनले कलाघरको सम्पत्तिका रुपमा रहेका महत्वपूर्ण कलाकृतिहरुका बारेमा जानकारी गराए । विष्णुप्रसाद पाण्डेयले पाल्पाको तिनाउमा समेत यस्तै संग्रहालय चाहिने कुरा थपे । राजेश श्रेष्ठले अविरल पार्कको कुरा जोडे । कृष्ण पाण्डेयले युवाको जोस देखेर तीनछक परे । 

कलाघरको प्रवेशद्वारमै टिकट काउण्टर छ । जनाको ५० रुपैयाँ प्रवेश शुल्क रहेछ । ढोकामा नौमती बाजाका कलाकार महिलाका चित्र हेर्न र देख्न पाइन्छ । नेपालको नक्सा आकृतिभित्र प्रवेश गरेपछि नेपाली लोकसांस्कृतिक बाजाहरु देख्न पाइन्छ । छुन पाइन्छ । बजाउन पाइन्छ । पशुपतिनाथलाई दर्शन गर्न सकिन्छ । जनकपुरको रामजानकी मन्दिर झललल देखियो रातिको समयमा । छेवैमा साउदी अरवको भव्य सहर देखियो । अनि मकवानपुर गढी पनि । 
रातको समयमा हेर्दा लाइटको उचित प्रवन्धले होला त्यहाँका धार्मिक, ऐतिहासिक, पुरातात्विक एवम् पर्यटकीय गन्तव्यहरु मनोरम देखिन्थे । झिलीमिली थिए । त्यहाँबाट माथिपट्टि रहेको नेपालको राष्ट्रिय झण्डा,संग्रहालयमा रहेका पुरानाबस्तुहरु ढिकी, जाँतो, कुवा, आरन,खलाँती ,लाइटर,टुकी,लालटीन,मैनटोल लगायत देखिए । 

रातको नौ बज्दैगर्दा पनि हाम्रा आँखा थाकेनन् हेरेर । बरु कलाघर सिन्धुली लेखेको बिसौनीमा टुसुक्क बसेर फोटो खिच्यौं पालोपालो । लालीगुराँसको आकृतिले हामीलाई तानिरहेको थियो । सुमन थापामगरको नेतृत्वले थालेको सिन्धुली कलाघर,जसले सिर्जना गरेका हरेक कर्महरु देखेर मनै लोभिए । साथीहरुले भिडियो र  फोटो खिचे । मैले भने मनको क्यामेराले सयौंपटक मस्तिष्कका लागि सम्झना खिचें ।  हामीले कलाघरका बारेमा टिभीमा,यूट्युवमा खुवै हेरेका थियौं  तर प्रत्यक्षदर्शी भएर हेर्न पाउँदाका अनुभवहरु सुनाउन पाउँदा खुसीको सीमा छैन । युवाहरुको जमघट । कलापारखीका पारङ्गत सीप । सिर्जनशील कर्म र व्यवहारिक ज्ञानले सिन्धुली कलाघरका कलाकारहरु तिखारिएका छन्

सुमन थापाको अध्यक्षतामा गठित सिन्धुली कलाघरमा पवित्रा रम्तेल उपाध्यक्ष छिन् । रीता थिङ् सचिव,सहसचिवमा सञ्चिता थापा मगर र कोषाध्यक्षमा शिशिर सिद्ध छन् । ११ जनाको कार्यसमितिमा सिर्जना गोले,जीवन थापामगर,निरुता लामा,रीता विश्वकर्मा,पदम बर्माशाखा,रुविना पुलामीमगर ,गंगा ठटाल र मानकुमार विक सदस्यका रुपमा क्रियाशील छन् । यीनीहरुकै सामुहिक नेतृत्वले आज सिन्धुली कलाघरले नेपालका गाउँघरदेखि विश्वका धेरै स्थानहरुमा चर्चा पाइरहेको छ । सोही कारण यतिबेलासम्म कलाघरका कलाकारहरु भारतदेखि हङकङसम्म गरी ६ वटा देशहरुमा पुगिसकेका छन् । 

कलाघरको राष्ट्रिय कला संग्रहालय पुग्दा प्राकृतिक संग्रहालय पुगेजस्तै लाग्छ । मनोरम छ । आफ्नै कलाघरजस्तै लाग्छ । कलाकारहरु आफ्नै घरपरिवारजस्तै लाग्छन् । भार्सेली घुम्नेघर देखेपछि पुरानो कुँडुले घरको यादले सताइरह्यो । हामीलाई पाहुना बनेर त्यही घरमा सुत्ने रहर थियो । 

खाना खाइयो । कलाघरमा पुगियो । कलाकारहरु र हाम्रो परिचय भयो । कलाकारहरुले आफ्नो नौमती बाजा बजाए । नृत्यमार्फत बाजा बजाउँदै गरेको दृश्यले मनै खिच्यो । बैनीहरुको खुवीलाई करोड सलाम गरियो । दोहोरी सुरु भयो । कृष्ण पाण्डेयले बैनीहरुसँग ‘छिनको छिनैमा ,भेट भो माया के भनी बोलाउँ म पहिलो दिनैमा ।’ भाकामा दोहोरी सुरु गरे । थपथाप गीत गाउनेमा म पनि परें । बुद्ध बस्नेत दाइको नृत्य प्रभावकारी थियो । विष्णु पाण्डेयको नाँच ब्राण्ड नै बन्यो । राजेश श्रेष्ठको क्रान्तिकारी नृत्यसँग रीता र सिर्जनाले साथ दिए । रामु,अरविन्द र कमलको नृत्य कमजोर थिएन । 

2

दोहोरीगीतमा बहिनीहरु माहिर रहेछन् । हुन त उनीहरुले देश,विदेशसम्म कला संरक्षणका लागि अभियाननै छेडेका छन् । कहिले मुक्तक,कहिले भजन ,कहिले टुक्का हानहान गर्दै नेपाली लोकसंगीतमा आफूहरुलाई तिखारेका छन् । उनीहरुको कलाबाट प्रभावित भएर हाम्रा साथीहरुले हात्ती,बाघ र गैंडाहरु स्नेहपूर्वक प्रदान गरेका थिए । 

विहानपख सोही कलाघर नजिकै रहेको झण्डानिर उभिएर गौरीशंकर हिमाल,काभ्रेका डाँडाहरु,मधेशका फाँटहरु नियाल्यौं । कुहिरोले आँखामा धमिलो चस्मा लगाइ रह्यो । कलाघरमा रहेको चिया किट्ली नजिकै बसेर चियाको चुस्की लियौं ,सुरुप्प सुरुप्प गर्दै । चियाको चुस्कीसँगै सुमनले आफूहरुले थालेको कलाघरको अभियान र बाँकी सपना समेत बाँडे । हामीले उनको सपनालाई मिहिन तरिकाले सुनिरह्यौं । सुमन आफैमा कलाकार । राजधानीमा कला सिक्न जानुपर्ने बाध्यतालाई अन्त्य गर्न चाहन्छन् उनी । कला विद्यालय खोल्ने उनको अठोटप्रति सम्मान जाग्यो । 

स्थानीय र प्रदेश सरकारले नाममात्रका सहयोग गरेको कुरा हात्तीको मुखमा जीरा सावित छ । आफ्नै चार रोपनी जग्गामा भौतिक निर्माण,कलाकृति र सिर्जनाहरु देख्दा अचम्म लाग्छ । एउटा युवाको सकारात्मक र सक्षम नेतृत्वले यतिसम्म गर्न सक्दो रहेछ भन्ने कुराको थप प्रमाण अन्त खोज्नै जानैपर्दैन । 

3

‘विश्व कलाघर’ बनाउने अभियानमा जुटेको कलाघरले मलेसियाका प्रसिद्ध स्थलहरु समेत फलाममा उतार्दैछ आकृतिका रुपमा । संयुक्त राज्य इमिरेटसका प्रसिद्ध स्थलहरुको निर्माण कार्यसम्पन्न गरिसकेको छ । 
सिन्धुली कलाघरका कलाकारहरु आवसीय रुपमा कलाघरमै बस्छन् । खान्छन् र दैनिक काम गर्छन् । निम्तो पाउँदा देशका कुनाकाप्चासम्म पुग्छन् नौमती बाजा बजाउन । सडक नाटक देखाउन । सांस्कृतिक कार्यक्रम गर्न समेत । विश्व कलाघर निर्माणका लागि संसारभरका कलाप्रेमीहरुसँग आर्थिक,भौतिक एवम् नैतिक समर्थन मागिरहेको कलाघर घुमेर हेर्दा अनौठो लाग्यो । आश्चर्यपूर्ण लाग्यो । भव्य लाग्यो । श्रम र सीपको संगम लाग्यो । मिहिनेती र पौरखीकोपसिनाले सिर्जित विपनाको महल लाग्यो । विश्वास र आदरको सगरमाथाजस्तै लाग्यो । 

5

फर्किने बेला हामीलाई पाहुना मानेर मायाको चिनो दिए । हामीले प्रेमपूर्वक स्वीकार गयौं । खुसीले विदा भयौं । सबैलाई फेरि पनि भन्छौं हामी,एकपटक सिन्धुली कलाघर पुगौं । कलाकारको कलालाई सम्मान गरौं । व्यापक प्रचार गरौं । युवाहरुको नवीन सोच,नौलो अभ्यास र पवित्र कर्मलाई प्रोत्साहन गर्दै नेपाली लोककला,संस्कृति र संस्कारको विकासमा मलजल गरौं । 

कलालाई आर्थिक समृद्धिको पाटो बनाऔं । कलाकारका असजिला समयका लागि कला आश्रम बनाउने सोचप्रति सम्मान गरौं । कलालाई मागी खाने होइन ,गरी खाने आधारका रुपमा विकास गरौं भन्ने उनीहरुको अभियानमा हातेमालो गरौं । 


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार