काठमाडौं । क्यानाडामा ग्लोबल टी २० लिगको नयाँ संस्करण आजबाट सुरू भएको छ । पहिलो खेलमा भ्यान्कुभर नाइट्सलाई टोरन्टो नेसनल्सले ९ विकेटले पराजित गरेको छ ।
भ्यानकुभरमा नेपालका दुई स्टार सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध छन् । यस्तै टोरन्टोबाट पहिलोपटक नेपालका रोहित पौडेलले खेल्दैछन् । तर पहिलो म्याचमा दीपेन्द्र र रोहित अनुपस्थित बने । उनीहरू क्यानाडा पुगिनसकेकोले उद्घाटन खेल छुटाएका हुन् । सन्दीप लामिछानेले भने भ्यान्कुभरबाट खेलेका थिए । उनको टीमले लज्जास्पद हारे पनि सन्दीपको व्यक्तिगत प्रदर्शन सन्तोषजनक रह्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको भ्यान्कुभर १९.३ ओभर खेल्दै ११० रनमा समेटिएको थियो । टीमका लागि रिजा हेन्ड्रिक्स र मुनिर अहमदले सर्वाधिक २३÷२३ रन बनाए । भ्यान्कुभरका कप्तान उस्मान ख्वाजा ३ रनमै आउट भएका थिए ।
नवौं नम्बरमा ब्याटिङमा आएका सन्दीपले ९ बलमा ३ चौकासहित १५ रन जोडे । उनलाई मुह्ममद रसिदले कोलिन मुनरोको हातबाट क्याचआउट गराएका थिए । टोरन्टोले केवल दुई विकेट क्षतिमा १४.४ ओभरमै लक्ष्य भेट्टायो । सन्दीप र पल भान मिकेरेनले एक÷एक विकेट लिए । सन्दीपले ४ ओभरमा २९ रन खर्चिए । भ्यानकुभरबाट उनले मात्रै पूरा कोटा बलिङ गर्न पाएका थिए । मोहम्मद आमिरले कसिलो बलिङ गर्दै २ ओभरमा ७ रन मात्रै दिए ।
भ्यानकुभरका कप्तान मुनरो उन्मुक्त चन्दले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरे । मुनरोले ४४ र चन्दले २३ रन जोडेर आउट भएका थिए । तेस्रो नम्बरमा आएका रसी भान डेर डसेनले १८ बलमा ३३ रन हान्दै टीमलाई जित दिलाए । खेलमा २५ रन खर्चेर ४ विकेट लिएका टोरन्टोका जुनैद सिद्दकी म्यान अफ द म्याच भएका छन् ।
प्रतिक्रिया