ताजा अपडेट »

एमाले लुम्बिनी संसदीय दलका नेता गिरीले दिए राजीनामा

बुधबार, ०९ साउन २०८१, १० : २७
0.96K Shares
बुधबार, ०९ साउन २०८१
0.96K Shares

बुटवल । लुम्बिनीमा नयाँ सरकार गठनसँगै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । गिरीलाई रोकेर पार्टी नेतृत्वले दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि रुष्ट बनेका गिरीले पदबाट राजीनामा दिएका हुन् । 

गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पठाए पनि मुख्यमन्त्रीले सपथ लिएपछि मात्र राजीनामाको औपचारिक जानकारी दिन भन्दै सार्वजनिक गरेका थिएनन् । गिरीले पार्टी अध्यक्ष ओलीलाई राजीनामा पठाएको जानकारी दिए । उनले राजीनामा पठाएपनि स्वीकृत भएको जानकारी आफूले नपाएको बताए । ‘मैले अध्यक्ष कमरेडलाई राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको बारे जानकारी छैन, मलाई केही भन्नुभएको पनि छैन ।’ उनले भने ।

मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरि सिधै महासचिव शंकर पोखरेलको ठाडो निर्देशन आएको भन्दै एमालेमा असन्तुष्टी देखिएको छ । महासचिव पोखरेलले सिधै एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेललाई फोन गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तका लागि सिफारिस गर्न निर्देशन दिएको एमालेका एक सांसदले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।