ताजा अपडेट »

लुम्बिनीमा मुख्यमन्त्री आचार्यसहित मन्त्रीहरुले लिए सपथ

बुधबार, ०९ साउन २०८१, ०९ : २४
536 Shares
बुधबार, ०९ साउन २०८१
536 Shares

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमिलसिनाको नाम काटिएको छ ।

एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका हुन् । यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी छन् । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकास मन्त्री पन्थी आन्तरिक मामिला मन्त्री थिए ।

पाल्पाका सारु र दाङकी शर्मा मन्त्रीमा नयाँ अनुहार हुन् । यसैगरी नेपाली कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन् । गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन् । कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुन् भने अरु सबै नयाँ हुन् ।

कांग्रेसले प्रमुख सचेतक रहेका तिमिल्सिनाको नाम विवाद भएपछि अन्तिममा काटिएको छ । आज बिनाविभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए ।

यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएपनि अहिलेसम्म सहभागी छैनन् तर उनीहरुका लागि २ मन्त्रालय खाली राखिएको छ । ८७ सदस्यीय प्रदेश सभामा अब माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक एक गरी १३ सांसद मात्रै विपक्षमा रहने भएका छन् ।

मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित भए । दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।