ताजा अपडेट »

अपहरण तथा बेपत्ता पारेको आरोपित कुर्मी लुम्बिनीको मन्त्री  !

बुधबार, ०९ साउन २०८१, ०८ : ५६
376 Shares
बुधबार, ०९ साउन २०८१
376 Shares

बुटवल । बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री बन्दै छन् । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा आरोपित कुर्मी मन्त्री बन्न लागेका हुन्। 

उनीसहित ८ मन्त्रीले आज शपथ खाँदै छन्। जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन्। सरकारी प्रतिवेदनबाट पनि बादशाह दोषी देखिएको दाबी उनीहरूले गरेका छन्। बादशाह नेपाली कांग्रेसका प्रदेश सांसद हुन्। 

२०७५ सालमा एकाएक हराएकी निर्मलाको जग्गा हत्याउन कुटपिट गर्ने र अपहरण गरी बेपत्ता पार्नेमा गृह मन्त्रालयको प्रतिवेदनले नै बादशाहको नाम उल्लेख गरेको छ। तर पहुँचका भरमा कारबाहीबाट बच्दै आएका उनी यस पटक मन्त्री बन्ने भाग्यमानीमा परेका छन्।

निर्मला कुर्मीको न्यायको अभियान चलाएकी अधिकारकर्मी रुवी खांनले न्यायको आन्दोलनमा सरकारले पटक पटक धोका दिएको र मान्छेको हत्या गर्ने जस्तो जघन्य अपराधमा सम्लग्नलाई पुरस्कार दिएको भन्दै आफुहरुको आन्दोलनमा साथ दिन सबैलाई आग्रह गरेकी छन्।

पछिल्लो पटक अधिकारकर्मी रुवी खान लगायत १२ जना अधिकारकर्मीहरु अनसन बसेपछि तत्कालिन गृहमन्त्री रवि लामिछानेले गएको ११ गते लिखित सहमती गरेर अपराधमा सम्लग्न जोसुकै भएपनि कानुन्को दायरामा ल्याउने बचन दिएका थिए। १८ दिन अनसन बसेका रुवी खानहरु अनसन तोडेर नेपालगन्ज फर्केपछि उक्त सहमती मन्त्रालयमै थन्किएको गुनासो रुवी खानको छ। 

यस्तो छ घटना विवरण
निर्मलाका श्रीमानको ०६२ मा मृत्यु भएको थियो । त्यसपछि आफ्ना दुई छोरासँग बसिरहेकी कुर्मीको ०६६ मंसिरमा १० दिनको अन्तरालमा निर्मलाका दुई छोराको रहस्यमय ढंगले मृत्यु भएको थियो । त्यसपछि छोराहरु हत्या भएको हुन सक्ने आशंका गर्दै गुहार माग्दै हिडेकी निर्मला २०७५ साल माघबाट अचानक गायव भईन र २०७६ साल चैत्रमा मृत्युको खवर फैलियो ।

बादशाह र निर्मला नजिकका छिमेकी थिए । त्यसअघि फाट्टफुट्ट मात्र घरमा आउजाउ गर्ने बादशाह श्रीमानको मृत्यु भएपछि निर्मलाको घरमा बाक्लो आउजाउ गर्न थालेका थिए । एउटै समुदाय र नजिकका छिमेकी समेत रहेकोले निर्मलालाई पनि बादशाहले आडभरोसा दिन्छन् भन्ने विश्वास थियो । घरमा जाँदा बादशाहले निर्मलाका छोराहरुलाई विभिन्न खानेकुरा लगिदिन्थे ।

एउटा छोराको मृत्युलाई स्वभाविक होला भन्ने ठानेकी निर्मलाले दुईसाता पछि अर्को छोराको पनि अचानक मृत्यु भएपछि भने मृत्यु नभई हत्या गरिएको हुनसक्ने आशंका गरिन् । कुनै रोग विमार नभई एक्कासी दुईवटा छोरा गुमाएको वियोगमा विक्षिप्त बनेकी निर्मलाले दोश्रो छोराको शवको पोष्टमार्टमपछि मात्रै दाहसंस्कार गराउनुपर्ने बताएकी थिईन् । तर निर्मलालाई कोठामा थुनेर बादशाहले नै पोष्टमार्टम नगरि आफूलाई मुख समेत हेर्न नदिई खेतको आलीमा दाहसंस्कार गरिदिएको अधिकारकर्मीसामु निर्मलाले बताएकी थिईन् ।

श्रीमान र दुबै छोरा गुमाएर एक्लो बनेकी निर्मलामाथि बादशाहले दुव्र्यवहार र ज्यादती गर्न थालेपछि निर्मलाले २०६६ साल माघमा महिला अधिकार मञ्च र नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रमा निवेदन दिइन् । निर्मलाले आफुविरुद्ध जिल्लामा सबैतिर उजुरी गर्न थालेपछि बादशाहले निर्मलालाई नियन्त्रणमा लिएर बन्धक समेत बनाएका थिए । जुन कुरा निर्मला आफैले २०६६ सालमा मानवअधिकार मञ्च बांकेका अधिकारकर्मी सामु बताएकी थिईन् ।

आफ्नो जमिन हडप्नकै लागि बादशाहले आफूलाई नियन्त्रणमा लिएर कुटपिट गरेको र उनका अरु मान्छेहरुले साइकलको चेनले हानेर खुट्टामा चोट लागेको कुरा निर्मला आफैले भिडियोमै बोलेकी थिईन् । बादशाहले आफूमाथि पटकपटक कुटपिट र ज्यादती गरेको भन्दै निर्मलाले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि जाहेरी दर्ता भएन । सोहि क्रममा २०७५ साल माघ २५ गतेदेखि निर्मला अचानक वेपत्ता भएपछि उनको खोजि तथा न्यायको लागि महिला अधिकार मञ्चले आन्दोलन र आवाज उठाईरहेको छ ।

लुम्बिनी प्रदेशसभामा प्रहरीले फरार रहेको भनिएका बादशाहले लिए सपथ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।