ताजा अपडेट »

लुम्बिनीमा पोखरेल हाबी हुँदा मुख्यमन्त्री बन्न तयार गिरीको नाममा लाग्यो ‘टिपेक्स’

सोमबार, ०७ साउन २०८१, १३ : ०५
0.90K Shares
सोमबार, ०७ साउन २०८१
0.90K Shares

बुटवल । नेकपा एमाले भित्रको शक्ति संघर्ष र गुट राजनीति लुम्बिनी प्रदेशबाट सतहमा देखिएको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बीच विगतदेखि नै हुँदै आएको शक्ति संघर्षका बारेमा बेला बेला चर्चा हुने गरेको छ । 

यसै बीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा एकाएक फेरिएको निर्णयले एमाले भित्र गुट राजनीति भएको आरोपलाई थप जोड पुगेको छ । लुम्बिनीमा संसदीय दलका नेता लिला गिरीलाई छाडेर उप नेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने केन्द्रको ठाडो निर्देशनपछि महासचिव पोखरेल हाबी भएको प्रष्ट हुने स्वयम् एमाले नेताहरुले बताउने गरेका छन् । 

एमालेका एक सांसदका अनुसार दलका नेता गिरीको नाम उपाध्यक्ष पौडेलसँग जोडिएकै कारण उनी मुख्यमन्त्री हुन पाएनन् । एमाले भित्र उपाध्यक्ष र महासचिव बीचको संघर्ष लुम्बिनीमा प्रदेश राजधानी तोक्ने विषय, एमाले लुम्बिनीको अधिवेशन होस वा रुपन्देही जिल्ला अधिवेशनमा समेत कार्यकर्ताले बुझ्नेगरी देखिएको थियो । 

पार्टी भित्रको निर्णयमा उपाध्यक्षमाथि हाबी हुँदै आएका पोखरेलले यस पटक लुम्बिनीमा बन्ने सरकारमा समेत देखाएका छन् । राष्ट्रिय राजनीतिका सत्ता समीकरण परिवर्तनसँगै लुम्बिनीमा एमाले र काँग्रेस मिलेर सरकार बनाउने सहमती अनुसार यहाँ नेत्व पहिले एमालेले गर्ने सहमती बनेको थियो । उक्त सहमती अनुसार दलका नेता लिला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्ने पक्कापक्की भएको अवस्थामा अप्रत्यासित रुपमा निर्णय परिवर्तन भएको हो । गिरीलाई छाडेर उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टी केन्द्रको निर्देशनपछि गिरी पछि हट्नु परेको छ । एमालेबाट मुख्यमन्त्री बन्दै गरेका आचार्य पार्टी महासचिव पोखरेल निकटका मानिन्छन् भने गिरी उपाध्यक्ष पौडेल निकटका मानिन्छन् ।

यसरी लाग्यो गिरीको नाममा ‘टिपेक्स’ 

लीला गिरीलाई एमालेको तर्फबाट मुख्यमन्त्री बनाउने पत्र तयार हुँदै गर्दा केन्द्रको निर्देशनमा उनको नाममा टिपेक्स लगाएर चेतनारायण आचार्यको नाम लेखिएको पाइएको छ । लीला गिरीको नाममा दावी पेश गर्न जाने गरी एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले पत्र तयार गरिसकेका थियो । तर त्यहीबेला पार्टी महासचिव शंकर पोखरेको फोन आएपछि गिरीको नाममा टिपेक्स लगाएर चेतनारायण आचार्यको नाम लेखिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।

एकाएक यस्तो निर्देशन आएपछि गिरी आफैले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका थिए । त्यसक्रममा ओलीले ‘यसपाली यस्तै भयो’ भनेको गिरीले बताए । सोमबार बिहानसम्म लिला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै थियो । तर एकाएक यस्तो निर्देशन आएपछि गिरी असन्तुष्ट भएका छन् । उनले राजनीति यस्तै हो भनी प्रतिक्रिया दिए । “यो विधि सम्मत भएन, संसदस्य मूल्य अनुरुप पनि भएन, मैले माथि भनिसकेको छु”–उनले भने ।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि दलका तर्फबाट लिला गिरीलाई मुख्यमन्त्री बनाउने भन्ने सहमति पत्र आफूले आइतबार नै दिइसकेको बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।