ताजा अपडेट »

आज साउनको पहिलो सोमबार, बोलबम यात्रा सुरु

सोमबार, ०७ साउन २०८१, ०८ : २१
0.99K Shares
सोमबार, ०७ साउन २०८१
0.99K Shares

बुटवल । आज साउनको पहिलो सोमबार । साउन महिनाको अर्को रौनक हो बोलबम काँवरिया । निश्चित समूह बनाएर हरेक सोमबार पानीको मुहान नजिक गएर चोखो पानी लिएर शिवालयसम्म पुगेर अर्पण गर्ने र चोखो नितो गर्ने चलनलाई बोलबम भनिन्छ । साउन महिनाको सोमबार हिन्दू धर्माबलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गर्छन्। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । 

यसैबीच पश्चिम नेपालको पशुपतिनाथ भनेर चिनिने रुपन्देहीको सैनामैना–१, स्थित पर्रोहा बोलबम धाममा जलार्पण गर्ने भक्तजनको घुइँचो लागेको छ । नेपालको एकमात्र स्वयम उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने पर्रोहा बोलबम धाममा विशेष गरी सोमबारका दिन पहेँलो बस्त्र धारी दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्छ ।

साउनको पहिलो सोमबारको अवसरमा बोलबम धाम बिकास समितिले आज धार्मिक मोटरसाइकल र्यालीको आयोजना गरेको छ । बोलबम पोसाक (गेरु बस्त्र) मा सजिएर भक्तजनहरुले आज दिउँसो ३ बजेपछि मोटर साइकल र्यालीमा सहभागी हुने छन् । 

भक्तजनले रुपन्देहीको रामघाट, कपिलवस्तुको लक्ष्मणघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्यूठानको स्वर्गद्धारी, काठमाडौंको सुन्दरीजल, पशुपतिनाथ लगायतका स्थानहरुबाट गंगाजल ल्याइ यहाँ ल्याएर अर्पण गर्दछन् ।

गुरुपूणिर्मादेखि जनैपूणिर्मासम्म एक महिना सञ्चालन हुने यहाँको बोलबम मेलामा भगवान् शिवलाई जलार्पण गर्न नेपालका विभिन्न जिल्ला र भारतको उत्तर प्रदेश, बिहारका विभिन्न जिल्ला सहित हरिद्वार र हरियाणाबाट समेत भक्तजनहरु जलार्पणका लागि आउने गर्दछन् । 

बोलबम यात्राका क्रममा दर्शनार्थीहरुले चर्को घाम र वर्षाको समेत प्रवाह नगरी जलार्पणका लागि आउने गर्दछन् । पैदल मात्र नभइ सुतेर शरीर नापेर यात्रा गर्ने, श्रवणकुमार झैँ बाबुआमा बोकेर तीर्थस्थलदेखि बोलबम धामसम्म यात्रा गर्नेहरु पनि यहाँ भेटिन्छन् ।

करिब डेढ सय वर्षअघि सौनामैनाको पर्रोहाका स्वर्गीय चन्द्रभान चौधरीका जिजु हजुरबुबाले जङ्गल र झाडीभित्र शिवलिङ्ग फेला पारेको जनश्रुति रहेको छ ।

उनले शिवलिङ्गलाई आफ्नो घरमा लगेर स्थापना गर्ने प्रयास गरेका र खन्दाखन्दै त्यसको फेद फेला पार्न नसकेको भनाइ छ । त्यसै समयमा चौधरीले सपनामा शिवलिङ्गले कोही कसैले मलाई कहीँ लान पाउँदैन भनेको सुनेपछि सोही ठाउँमा मन्दिर निर्माण प्रयास गरेका थिए । मन्दिर निर्माण पूरा नहुँदै उनको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ पूजाआजा शुरु भएको थियो ।

२०४५ सालको फागुनमा पर्रोहा बोलबम धाममा शिव पञ्चायन मन्दिर बनाउन जग बसालिएको, २०४८ सालमा मन्दिर स्थापना भएको र ०४९ सालबाट बोलबमधाममा जलार्पण गर्न शुरु भएको स्थानीयहरु बताउँछन् ।

बुटवलबाट १४ किलोमिटर पश्चिम पूर्व–पश्चिम राजमार्गको रानिबगियाबाट दुई किलोमिटर दक्षिणमा अवस्थित पौराणिक कालको ज्योतिर्लिङ्ग रहेको पर्रोहा परमेश्वरधाम ३२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

धाममा मूल मन्दिर, १०८ शिव लिङ्ग, अर्धचन्द्र आकारको धाम सरोवार, धाम सरोवरमा साढे ५ फुट अग्लो शिवजीको मूर्ति छ । गणेश, हनुमान, सन्तोषीमाता, पार्वती, लक्ष्मी नारायण, राधकृष्ण मन्दिर पनि छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।