ताजा अपडेट »

लुम्बिनीको मुख्यमन्त्रीमा गिरीले दाबी पेस गर्दै, आजै नयाँ सरकार बन्ने

सोमबार, ०७ साउन २०८१, ०७ : ११
344 Shares
सोमबार, ०७ साउन २०८१
344 Shares

बुटवल । लुम्बिनी प्रदेशमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेसँगै आज नयाँ सरकार बन्ने भएको छ । एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीका लागि आज दाबी पेस गर्दै छन् । 

अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले हिजो आइतबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएर साँझ नै त्यो पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएपछि शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री हराले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएका थिए ।

आज सोमबार साँझ साढे ६ बजेसम्मको समय तोकिएकाले सोमबार नै एमालेबाट नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् । एमाले–कांग्रेसले सोमबार दिउँसो १ बजे नै दाबी पेश गर्न बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा जाने योजना बनाइसकेका छन् । यही योजनाअनुसार सांसदहरूलाई तयारी रहन खबर गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पनि पहिलो चरणमै सरकारलाई पूर्णता दिएर अगाडि बढ्ने सहमति गरिएको बताए । मुख्यमन्त्रीसहित सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ एक चरणमा गर्ने गरी तयारी थालिएको चौधरीले बताए ।

लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित १२ मन्त्रालय छन् । अव बन्ने नयाँ सरकारले मन्त्रालयको संख्या घटाउनेदेखि प्रदेशको कामकाजलाई प्रभावकारी बनाउन जिम्मेवारी निर्वाह गर्ने तयारी गरेको देखिन्छ । एमालेका प्रमुख सचेतक तुलसी चौधरीका अनुसार अन्य साना दलहरुलाई समेत सरकारमा सहभागी बनाइने छ । 

प्रदेशसभामा ८७ सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद भए पुग्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।