ताजा अपडेट »

लुम्बिनीका मुख्यमन्त्री महराले पदबाट दिए राजीनामा

आइतबार, ०६ साउन २०८१, १५ : २२
234 Shares
आइतबार, ०६ साउन २०८१
234 Shares

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबाहादुर महराले पदबाट राजीनामा दिएका छन् । महराले आज दिउँसो प्रदेशसभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन् । 

सो अवसरमा बोल्दै उनले आफू काम चलाउनमा एकछिन पनि बस्न नसक्ने बताउँदै छिटो सरकार गठनका लागि आग्रह गरे । अब बन्ने सरकारलाई शुभकामना व्यक्त गर्दै उनले छिटो सरकार गठन गरी मन्त्रीपरिषदलाई पूर्णता दिन आग्रह गरे । 

केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महराले आफू अल्पमतमा परेपछि कुनै निर्णय गर्दैन भनेर अडान लिएको र त्यो बाचालाई समेत पूरा गरेको बताए । ‘घिटी घिटी भएर बस्ने मेरो चाहाना थिएन असार मसान्त भएका कारण म बस्नै पर्ने बाध्यता थियो ।’–महराले भने अब असार मसान्त पनि सकिएको छ । नयाँ सरकार गठनका लागि शुभकामना दिन चाहान्छु ।  

आफू नेतृत्वको सरकारमा सहभागी हुँदा एमाले तथा अन्य दलका मन्त्रीहरुले सोचेकोभन्दा बढी विश्वासको साथ काम गरेको उल्लेख गर्दै उनले केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्नु दुःखद भएको उल्लेख गरे । महराले आफू नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन हुँदैन कि भन्ने चिन्ता गर्ने वातावरण नबनाउन नयाँ सरकारलाई आग्रह समेत गरेका छन् । महराको राजीनामासँगै एमाले संसदीय दलका नेता लिला गिरीले आज नै प्रदेशप्रमुख समक्ष सरकारका लागि दाबी पेस गर्ने तयारी भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।