ताजा अपडेट »
उच्च अदालतको पूर्णपाठ

गौशाला–२६ बालिगनै भएकाे उच्च अदालतको ठहर, सन्दीपसँगका सम्पूर्ण घटनाक्रम सहमतिमै

शुक्रबार, ०४ साउन २०८१, २३ : १०
158 Shares
शुक्रबार, ०४ साउन २०८१
158 Shares

काठमाणडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसलाको पूर्ण पाठ पाटन उच्च अदालतले सार्वजनिक गरेको छ। उच्च अदालतले गौशाला–२६ लाई बालिग (१८ वर्ष पुगेको) ठहर गर्दै सन्दीप लामिछानेसँग भएका सम्पूर्ण घटनाक्रम आपसी सहमतिमै भएको पूर्ण पाठमा उल्लेख गरेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासबाट गत जेठ २ गते भएको फैसलाको पूर्ण पाठमा पीडित भनिएकी किशोरी आफै सन्दीपको गाडीमा चढ्न गएकी, २ महिनापछि विदेशबाट फर्किँदा भेटौँला भन्दा पनि नमानेकी, राति अबेरसम्म नगरकोट घुम्न गएकी, पहिला होस्टल जुनसुकै बेला खुला हुन्छ भने पनि काठमाडौँ आइसकेपछि राति खुला हुँदैन भनेकी, होटलमा कुनै झै–झगडा वा मनमुटावको संकेत नदेखाएकी लगायत तर्क गरिएको छ।

‘पीडित आफैले प्रतिवादीलाई फ्रेन्ड रिक्वेस्ट पठाएको, प्रतिवादी-सन्दीप लाई स्न्याप च्याटमार्फत फोटोहरू पठाउने गरेको, प्रतिवादीले आफू क्रिकेट खेल्न विदेश गई २ महिनापछि फर्केर आई भेट्छुभन्दा पीडितले मलाई सहयोग गर्नुपर्यो भनेर तुरुन्तै भेट्न चाहेको, प्रतिवादीले गाडी लिएर आउँदा स्वस्फूर्त रूपमा गाडीमा गई बसेको, नगरकोट जाँदा समेत पीडितले कुनै प्रतिकार नगरेको,’ फैसलामा लेखिएको छ, ।

‘प्रतिवादीले नगरकोटबाट पीडितलाई चाँडै जाउँ तिम्रो होस्टेल बन्द हुन्छ भन्दा होस्टेल जुनसुकै बखत पनि खुल्ला हुन्छ भनी विश्वास दिलाएको, नगरकोटको होटेल प्रतिवादीले बुक गराएको भन्ने तथ्य पुष्टि नभएको र पछि आउँदा मेरो होस्टेल बन्द भइसकेको भनेकोले प्रतिवादीले म तिमीलाई एउटा होटलमा एउटा कोठा लिइदिन्छु, म क्लोज क्याम्प रहेको होटलमा साथीहरूसँग बस्न जानुपर्छ भन्दा नमानी आफूलाई एक्लै नछोड्नू भनी जिकिर गरेको, दुवै जना स्वस्फूर्तरूपमा नगरकोटको वोजिनी होटलबाट काठमाडौं फर्केको, होटल काठमाडौं इनमा दुवै जना बसेको, होटल प्रवेश गरेदेखि होटलबाट निस्केको बखतसम्म पीडित र प्रतिवादीबीच कुनै झगडा मनमुटाव नभई पीडितले सहमति बमोजिम नै सम्पूर्ण घटनाक्रम भएको तथ्यलाई अन्यथा मान्नुपर्ने देखिँदैन’ फैसलामा लेखिएको छ ।

पीडितले प्रतिकार गरेको, कराएको, चिच्याएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको भन्ने नदेखिएको र उक्त होटेलमा जान पीडितको सहमति रहेको पुष्टि भएको उच्च अदालतको ठहर छ।

काठमाडौँ जिल्ला अदालतले गत पुस २५ गते गौशाला–२६ बालिग -१८ वर्ष पुगेकी_ नै भए पनि उनीहरूबीच भएको भनिएको करणीलाई सहमतिको सम्बन्ध मान्न नसकिने फैसला गरेको थियो। सन्दीपले आफ्नो ख्यातिको दुरूपयोग गरेको, व्यक्तित्वको प्रभाव र आर्थिक सहयोगको प्रलोभनमा पारेर ती किशोरीलाई करणी गरेको तर्कसहित बलात्कार ठहर्ने फैसला जिल्ला अदालतले गरेको थियो। अदालतले ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख क्षतिपूर्ति ; तिर्नुपर्ने फैसला पनि  सुनाएको थियो। त्यसविरूद्ध सन्दीप उच्च अदालतमा पुनरावेदन गर्न पुगेका थिए।

त्यस्तै सरकारी पक्ष पनि सन्दीपलाई सजाय कम तोकिएको भन्दै किशोरीका तर्फबाट उच्च अदालतमा पुनरावेदन गर्न पुगेको थियो। किशोरी १८ वर्षभन्दा कम उमेरकी भएकीले उनीसँगको शारीरिक सम्बन्ध स्वतः जबरजस्ती करणी हुने दाबी अभियोगपत्रमा गरिएको थियो।गौशाला २६ -पीडितले सन्दीपविरुद्ध २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। गत जेठ २ गते उच्च अदालत पाटनले काठमाणडौं जिल्ला अदालतको फैसला उल्ट्याउदै सन्दिप लामीछानेलाई निर्दोष ठहरगरी रिहा गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।