ताजा अपडेट »

एसीसी महिला टी-२० कप : नेपालले आज यूएईको सामना गर्दै

शुक्रबार, ०४ साउन २०८१, ०६ : ५१
380 Shares
शुक्रबार, ०४ साउन २०८१
380 Shares

बुटवल । एसीसी महिला टी-२० एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि श्रीलङ्काको डम्बुलामा सुरु हुँदै छ । महिला एसिया कपको यो नवौँ संस्करणमा नेपालले आज यूइईको सामना गर्दै छ । 

नेपाली समय अनुसार दिउँसो २ः१५ बजे खेल सुरु हुने छ । यसैगरी भारत र पाकिस्तान बीचको खेल भने साँझ ७ः१५ बजेदेखि हुने छ । जुलाई २८ (साउन १३ गते)सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र यूएई समूह ‘ए’मा परेको छ । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा छन् । समूह ‘बी’ मा आयोजक श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई-दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । 

नेपाली टोलीले समूहगत चरणमा आफ्नो दोस्रो खेल जुलाई २१ तारिखमा पाकिस्तानसँग डम्बुलामै खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल जुलाई २३ तारिखमा भारतसँग खेल्नेछ । एसिया कपको अन्तिम तयारी र सहभागिताका लागि नेपाली टोली करिब दुई साताअघि नै श्रीलङ्का पुगिसकेको छ । एसिया कपअघि नेपाली टोलीले श्रीलङ्कामै अभ्यास खेल पनि खेलेको थियो । नेपाली टोलीले श्रीलङ्का डेभलपमेन्ट स्क्वाड टोलीसँग खेलेको तीनवटा अभ्यास खेलमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो । 

नेपाली टोली पहिलो अभ्यास खेलमा ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको थियो । नेपाली टोली दोस्रो अभ्यास खेलमा चार विकेटले पराजित भएको थियो । तेस्रो अभ्यास खेलमा भने नेपाली टोलीले दुई रनको रोमाञ्चक जित हासिल गरेको हो । 

महिला एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका दुई संस्करणमा नेपालले एक खेल पनि जित्न सकेको थिएन । यसअघि सन् २०१२ मा चीनमा सम्पन्न एसिया कपको पाँचौँ संस्करणमा सहभागिता जनाएको थियो । यसैगरी सन् २०१६ मा थाइल्यान्डमा सम्पन्न महिला एसिया कपको छैटौँ संस्करणमा पनि सहभागिता जनाएको थियो । 

नेपाली टोली : इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।