ताजा अपडेट »
पर्यटन

रहीनन् पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, नेपाली पर्यटन क्षेत्रले एउटा पर्यटन हस्ती गुमायो ।

विहीबार, ०३ साउन २०८१, २३ : १९
282 Shares
विहीबार, ०३ साउन २०८१
282 Shares

काठमाडौँ । नेपाली पर्यटन क्षेत्रले बिहीबार नेपालकै प्रतिष्ठित प्रर्यटन व्यवसायी महिला तथा होटल व्यवसायकी कहलिएकी हस्ती, होटल द द्वारिकाज की संस्थापक अम्बिका श्रेष्ठलाई गुमाउन पुगेको छ। पछिल्लो समयमा निमोनिया र बाथबाट पीडित उनी दुई महिनायता उपचाररत थिइन्। बिहीबार ललितपुरको मेडिसिटी अस्पतालमा उनको ९२ वर्षको उमेरमा निधन भएको हो।  क्यान्सरलाई जितेर वृद्धा उमेरमा पनि समाजसेवा र पर्यटन उद्योगको श्रीवृद्धिमा निरन्तर सक्रिय अम्बिकाका  दुई छोरी छन् । जेठी छोरी संगीता र नाति विजय (संगीताका छोरा)ले अहिले द्वारिकाजको व्यवसाय सम्हालिरहेका छन् । कान्छी छोरी विनिता भने अमेरिकामा बसोबास गर्दै आएकी छिन् ।

९० वर्ष पार गरिसक्दा पनि उत्तिकै सक्रिय उनी द द्वारिकाज होटलकी सञ्चालक मात्रै थिइनन्, नेपाली होटल व्यावसायमा हेरिटेज शैली भित्र्याएर नेपाली पर्यटनलाई नयाँ आयाम दिने एक सफल महिला उद्यमी समेत थिइन्। सन १९५५ मा भारतको सिक्किमबाट काठमाण्डौका द्वारिकादास श्रेष्ठको बेहुलीका रुपमा नेपाल भित्रिएकी अम्बिका समय संगै नेपालको पर्यटन क्षेत्रलाई अन्तराष्ट्र्रिय रुपमा चिनाउने एउटा विम्ब बन्न पुगिन्। 

श्रीमान् र पुत्र वियोग बेहोरेकी अम्बिकाले चरम पीडाको समयमा पनि आफ्नो लय छाडिनन् । सन् १९७७ मा दर्ता भएको होटल द्वारिकाज आज नेपालको सबैभन्दा स्तरीय लक्जरी बुटिक होटल हो ।सन् १९९२ मा श्रीमान् द्वारिकादास श्रेष्ठको निधन भएपछि उनले होटलको नेतृत्व सम्हालेकी हुन । होटल व्यवसायको क्षेत्रमा उनले भित्र्याएको हेरिटेज शैलीलाई पछ्याएर अहिले धेरै व्यवसायीले नेपालको संस्कृति चिनाउने गरी हेरिटेज शैलीमा आफ्ना होटल सञ्चालनमा ल्याएका छन्।

नेपालभित्र केही गर्छु भनेर लागेको मानिसलाई सधैं प्रेरणा दिने बानी अम्बिकामा रहेको नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशी बताउछन।। ‘उहाँ क्वालिटी पर्यटनको पर्याय पनि हो, वातावरण संरक्षण र सम्पदा यसका माध्यम हुन् भन्नेमा उहाँको स्पष्ट मान्यता थियो’ उनी भन्छन्, ‘उमेरले ९० को दशकमा हिंडिरहँदा पनि उहाँले हरेक फोरममा यसकै लागि वकालत गरिरहनुभयो ।’ अम्बिका पछिल्लो समय स्पेनका लागि अवैतनिक महावाणिज्य दूतका रूपमा समेत सक्रिय थिइन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) की पूर्वअध्यक्ष  समेत रहेकी अम्बिकाले एसिया प्यासेफिक ट्राभल एसोसिएसनको नेपाल च्याप्टरका लागि समेत सक्रिय रूपमा काम गरेकी थिइन् । सार्वजनिक निजी साझेदारी अवधारणामा नेपाल पर्यटन बोर्ड स्थापना गर्दा होस् वा विभिन्न वर्षमा आयोजना भएका पर्यटन र भ्रमण वर्षमा निजी क्षेत्रबाट सहभागी हुने अम्बिका एक अग्रणी व्यक्तित्व थिइन् । उनी नेपालको प्रथम महिला जेसिस अध्यक्ष पनि हुन । 

अम्बिका ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को पूर्वअध्यक्ष पनि रहीसकेकी थिईन । हेरिटेज सोसाइटीमा पनि उनी आबद्ध थिइन्। महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष र नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत थिइन्।

 काठमाडौंको बत्तीसपुतलीमा द द्वारिकाज हाेटल, काभ्रेको धुलिखेलमा द्वारिकाज  रिसोर्ट, केशर महलमा गार्डेन अफ ड्रिम्स तथा पाटन म्युजियममा पनि द्वारिकाजको रेस्टुरेन्ट सञ्चालनमा छ । नेपनलकै पहिलो ट्राभल एजेन्सी काठमाण्डौं ट्राभल पनि  द्वारिकाजकै  रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।