ताजा अपडेट »
लुम्बिनी प्रदेशः

आर्थिक ‘हौसियत’ राम्रै भएका सांसदले बुुझछन् उपचार खर्च, ३ हजारसम्म पनि छोडेनन् !

विहीबार, ०३ साउन २०८१, १६ : ५३
464 Shares
विहीबार, ०३ साउन २०८१
464 Shares

बुटवल । लुम्बिनी प्रदेशसभामा निर्वाचित डिल्लीराज भुसाल गुल्मीमा ठुलो व्यापारी मध्येका एक हुन् । गुल्मीको रेसुङ्गा नगरपालिकाको निवर्तमान मेयर समेत रहेका उनी प्रदेश सभाबाट सामान्य चेकजाँचको खर्च लिनुपर्ने स्थितिका भने होइनन् ।

तर, उनी उपचार   गर्दाका विल समेत पेश गरेर पैसा बुझछन् । उनले आर्थिक वर्ष २०८०/८१ मा मात्रै २ लाख ६१ हजार १३० उपचार वाफतको रकम बुझेका छन् ।

लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्माको दाङमा घर छ । धैरे जस्तो काठमाडौँ बस्ने शर्मा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी हुन् ।

आर्थिक अवस्था राम्रै भएकी शर्माले सामान्य उपचार गरेपनि बिल प्रदेश सभामा बुझाउन्छिन् । उनले उपचार बाफत आर्थिक वर्ष २०८०/८१ मा २१ हजार १७४ रुपौँया बुझेकी छिन् ।  

यस्तै रुपन्देहीबाट प्रदेश सभामा दोस्रोपटक निर्वाचित भोजप्रसाद श्रेष्ठको बुटवलस्थित सुख्खानगरमा पक्की घर छ । राम्रो आर्थिक अवस्था भए पनि श्रेष्ठले प्रेसरदेखि विभिन्न रोगको उपचार खर्चबापत लगातार प्रदेश सभाबाट रकम बुझेका छन् ।

श्रेष्ठले पनि उपचारका लागि आर्थिक वर्ष २०८०/०८१ मा ७७ हजार ६ सय रुपैयाँ उपचार बाफत बुझेका छन् ।

उनीहरु जस्ता अन्य धेरै राम्रो आर्थिक हैसियत भएका प्रदेश सभा सदस्यले उपचार खर्चका लागि धमाधम रकम बुझ्ने गरेका छन् । जनस्तरबाट यसको विरोध हुने गरेता पनि धनाढ्य सासंदहरुले समेत समान्य उपचारको खर्च समेत लिने गरेका छन् । 

लुम्बिनी प्रदेशसभामा ८७ जना प्रदेशसभा सदस्य छन् । जसमध्य आर्थिक वर्ष २०८०/०८१ मा ३० सांसदले उपचार खर्च बापत २३ लाख ३५ हजार रुपैयाँ लिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सम्झना सुवेदीले बताइन् ।

कसले कति बुझे उपचार खर्च ?

लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार सो आर्थिक वर्षमा प्रदेशसभा सदस्य खड्का बस्नेतले उपचार वाफत सबै भन्दा धेरै रकम प्रदेशसभाबाट बुझेका छन् । उनले मात्रै ४ लाख १४ हजार ८५६ रुपौयाँ बुझेका छन् । कतिसम्म भने लुम्बिनी प्रदेशसभा सदस्य मिनाकुमारी बोहोराले उपचार वाफतको ३ हजार १५० रुपैयाँ पनि बुझेकी छिन् ।  

यस्तै गिरीधारीलाल न्यौपानेले १ लाख २२ हजार ५ सय रुपैयाँ लिएका छन् । गीता गुरुङले ८२ हजार ४८२ रुपैयाँ उपचार खर्चका लागि लिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।धनलक्ष्मी श्रेष्ठले २ लाख ६ हजार २४० रुपैयाँ, यामबहादुर नेपालीले ६९ हजार ६००, सरिता पुनले ९४ हजार ६४, मिनाकुमार श्रेष्ठले ६२  हजार ३९, अब्दुल रज्जाक गद्दीले ६१ हजार ६८९ रुपैयाँ, खड्ग बस्नेतले ४ लाख १४ हजार ८५६ रुपैयाँ उपचार खर्च बुझेका छन् ।

यसैगरी शान्ति लोधले १२ हजार ४११, तुलसीप्रसाद चौधरीले ४० हजार २७६, निर्मलादेवी चौधरीले ३३ हजार ५८७, अम्बिका काफ्लेले ८७ हजार ३८७ रुपैयाँ उपचार खर्च बुझेका छन् । प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले १५ हजार ६५८ रुपैयाँ, जमुना ढकालले १ लाख २४ हजार ८२०, माया पुनले ४३ हजार ३४१, दीपेन्द्र पुन मगरले ४४ हजार ४७, लोक कुमारी विकले ७६ हजार ३४४, जानकी न्यौपाने १७ हजार १५०, इन्द्र कुमारी गहतराजले २७ हजार ५६५, राजु प्रसाद श्रेष्ठले १ लाख १८ हजार ५०५ रुपैयाँ बुझेका छन्।

प्रदेश सभा सदस्य हेमा बेल्वासेले ३० हजार ६८६, देवीप्रसाद चौधरीले ७६ हजार ४२३, तारा थापाले १८ हजार ३९९ रुपैयाँ उपचार खर्च बुझेको छन् । 

चिकित्सकको प्रेस्क्रिप्सन, औषधि, मेडिकल जाँचको रिपोर्ट र बिलसहित सचिवालयमा निवेदन पेस भएपछि उपचार कोषबाट रकम पाइने व्यवस्था छ । प्रदेश सभाले बनाएको कार्यविधि अनुसार १ जना सांसदले उपचारबापत एक आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म लिन पाउने व्यवस्था छ ।

1_tCsp6SaEwU4_gIDJbLKHml6_DSpwyQMcf4


 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।