ताजा अपडेट »
बिद्युत व्यपार घाटा

सस्तोमा भारतलाई बिजुली बेचेर नेपाली उपभोक्ता लाई प्राधिकरणले शोषण गर्‍यो – जलस्रोत विद् ज्ञवाली

बुधबार, ०२ साउन २०८१, २२ : ४३
64 Shares
बुधबार, ०२ साउन २०८१
64 Shares

विराटनगर । सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले अनियमित विद्युत आपूर्तिका कारण उद्योग संकटमा परेको गुनासो गरिरहेका बेला जलस्रोतविद् दीपक ज्ञवालीले सरकारले भारतलाई विद्युत बिक्री गरेर मुलुक धनी नहुने भन्दै स्वदेशमै विद्युतको खपत बढाउनु पर्नेमा जोड दिएका छन् । भारतलाई सस्तोमा विद्युत बिक्री गरेर विद्युत प्राधिकरणले नेपाली उपभोक्तालाई शोषण गरिरहेको पनि ज्ञवालीले बताए । उद्योग संगठन मोरङले बुधबार बिराटनगरमा आयोजना गरेको नेपालको उर्जा संक्रमण कार्यक्रममा पूर्वजलस्रोत मन्त्रीसमेत रहेका ज्ञवालीले भारतमा बिजुली बेच्दा प्रतियुनिट ६ सेन्ट पाउने तर नेपालमै खपत गरे प्रतियुनिट ८६ सेन्ट कमाइ हुने पनि उनले बताए ।

सन् २०२२–२३ मा नेपाल विद्युत प्राधिकरणले भारतसँगको विद्युत व्यापारमा ९ अर्ब घाटा व्यहोरेको तर समग्र रुपमा प्राधिकरणले २४ प्रतिशत मुनाफा कमाएको भन्दै जलस्रोतविद ज्ञवालीले नेपालीलाई महँगोमा बिक्री गरेर भारतसँगको विद्युत घाटा पूर्ति गरेको उल्लेख गरे।

उर्जा संकट समाधान गर्न जल विद्युत, पम्प स्टोरेज सिस्टम र सौर्य उर्जा प्रणालीलाई सँगसँगै अघि  बढाउनुपर्ने ज्ञवालीको तर्क थियो । भारतमा प्रतिकिलोवाट उत्पादन लागत पाँच सय अमेरिकी डलर रहेको तर नेपालको उत्पादन लागत दुई हजार पाँच सय डलर रहेको उल्लेख गर्दै उनले आफ्नो उत्पादन आफैं प्रयोग गर्न सुझाव दिए ।

विद्युत संकट समाधान गर्न छाता विद्युत ऐन आवश्यक रहेको ज्ञवालीको तर्क छ । अहिलेको विद्युत ऐनले बत्ती बाल्नमात्र विद्युतको व्यवस्था गरेको दाबी गर्दै उनले वर्तमान विद्युत ऐनले उद्योग सञ्चालन लगायतका अन्य कार्यकालागि दीर्घकालीन व्यवस्थापन गर्न नसकेको बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सुनसरी मोरङ औधोगिक क्षेत्रमा विगत ९ महिनादेखि अनियमित विद्युत आपूर्ति जारी रहँदा उद्योग नै कोल्याप्स हुने स्थिति आएको गुनासो पोखे । ‘हरेक उद्योगीले उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्य लिन्छ । तर अनियमित विद्युत आपूर्तिले उद्योगीको लक्ष्य नै तहसनहस गर्दै आएको छ,’ उनले भने ।

सम्बन्धित निकाय, सम्बन्धित मन्त्री र राजनीतिज्ञलाई यसबारे उद्योगीहरुको समूहले पटक पटक अवगत गराए पनि समस्याको समाधान नभएको उल्लेख गर्दै सुरानाले न्यायका लागि अदालत पुग्न मात्र बाँकी रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।