यात्राअनुभव, स्थानअनुभव वा यात्रावर्णन नै नियात्रा हो । यात्राकारको नीजि यात्रा अनुभवको श्रृङ्खला नै नियात्रा हो । नेपाली साहित्यमा नियात्राले पाठकहरुलाई गजवले आकर्षित गरिरहेको पाइन्छ । सागर गैरेको नियात्रा पढ्ने अवसर जुर्यो । २०८१ को पहिलो नियात्रा नै हो मेरो लागि ‘बलैगाउँदेखि बाकुसम्म’ । लकडाउनको समयमा उनले निकालेको यो पुस्तक ढिला गरी हातमा आइपुगेको हो । हुन त उनको पछिल्लो कृति ‘मोहोर’ पढ्ने अवसर प्राप्त भएको थियो । असारको महिना उनकै पुस्तक पढ्ने महिनाजस्तै भो मेरो लागि ।
नियात्रा पढिरहँदा उनीजहाँ पुगे मलाई नै उतै पुराएजस्तो लाग्छ । उनको पछिपछिलागेर मैले एकसय ९५ पेजको पुस्तक ‘बलैगाउँदेखि बाकुसम्म’पढें । नियात्रा लेख्न रहर गर्ने म मान्छेलाई यो पुस्तक गतिलो खुराक भयो । सागरले सटिक बयान गरेका छन् आफू पुगेका स्थानका । भोगाई पोखेका छन् तीता–मीठा । सुनाएका छन्–दुःख,सुखका कुरा । उनले आफ्नो परिवेशलाई देश,विदेशको यात्रामा दाँजेका छन् । तुलना गरेका छन् । स्थानविशेषमात्र होइन, शासन व्यवस्था, आर्थिक,सामाजिक र राजनीतिक चरित्रसँग नेपाललाई आफ्नो मनको तुलामा जोखेका छन् ।
उनले आफ्नै खाँटी शब्दहरु प्रयोग गरेका छन् नियात्रामा । जस्तै ः हामी जहाजको पेटभित्र पस्न थाल्यौं । फलामको विशाल भाँडो चराजस्तै आकाशमा उडिरहेको छ । मलाई खुब मन पर्यो । यस्ता झर्रा र ठेट शब्दहरुले नेपाली शब्दकोषको भकारीलाई भरेको पाउन सकिन्छ ।
इन्डोनेशियाको बालीमा एक कप चियाको पाँच हजार रुपी पर्ने कुराले अजरबैजान बाकुमा छ सय रुपैयाँ पर्ने चिया नखाएर आफै धित मारेको पढ्दा मज्जा लाग्छ । समुद्रको पानी किन नुनिलो भयो भन्ने कुराको बैज्ञानिक कारणदेखि पानी जहाजको सुरुआतसम्मका कुरा पढ्दा आनन्द लाग्छ । बुलेट ट्रेनदेखि पैदलयात्रासम्मका कुरालाई सविस्तार वर्णन गरेका छन् उनले । नियात्रा पढिरहँदा मन खिचिरहन्छ ।
थाइल्याण्डको पटाया सहरका बारेमा मज्जाको खोज,अध्ययन र अनुसन्धान गरेका उनलाई त्यहाँको खुल्लमखुल्ला यौनव्यापारसँग जोडिन मन लागेको छैन । सरकारको नीतिले सफलता पाएपनि यौनव्यवसायीहरुको दुखेसो बुझिदिने को होलान् र ? बैंसको व्यापार नै यौनव्यापार हो भन्ने कुरालाई उनले कथामार्फत टुङ्ग्याएका छन् । भूगोलको सपाट बयानमात्र छैन । बरु भावनाको भवसागर तरेका कुराहरु प्रशस्तै भेटिन्छन् पुस्तकमा ।
सागरले मोहोर उपन्यासमा बाबाको बुइचढेर लेखेका छन् भने यहाँ आफ्नै विस्फारित आँखा सबैतिर दछ्याएका छन् । कहिले तराईका फाँटतिर मन दौडाएका छन् । कहिले समुद्रीछालसँग जिस्किएका छन् । चीनको ग्रेटवालमा आफूलाई हिडालीरहँदा आफैलाई बिर्सिएका छन् । जीवनलाई यात्रासँग दाँजेका छन् । यात्रा नै जीवन हो भन्ने उनको ठम्याई सावित गर्ने कोशिस गरिरहेका छन् ।
सानैमा आमासँग भारतको बलैगाउँ जाँदाको मीठोस्मरण छ भने अजरबैजानको बाकुमा श्रीमती यशोदासँग पुग्दाको रमणीय यात्रालाई शब्दमा बलियो गरि उतारेका छन् । कहिंकतै पट्यार लाग्दा वाक्यहरु र अनावश्यक शब्दहरु खर्चिएका छैनन् उनले । पुस्तक बाक्लो बनाउने नाममा शब्दको अनावश्यक प्रयोग भेटिदैन । यही नै पुस्तकको सुन्दर पक्षमध्येको एक हो । पुस्तकमा आवश्यक तथ्य,तथ्यांक भेटिन्छन् । पुस्तक लेख्दा उनले भाषा,शैलीमात्र होइन गतिलो अध्यनन र अनुसन्धान समेत गरेको पुस्तक पढेपछि सबैलाई हेक्का हुनेछ ।
सागर गैरे यतिबेला व्यापारी हुन् । तर अक्षरका खेतीमा तल्लीन छन् । उनलाई अक्षरको व्यापारी किन बनाएन समयले सोध्न मन लाग्छ । हुन त अक्षरको यात्रामा निस्किने मान्छेहरु अक्षर र शब्दको तीर्थबाहेक अन्यत्र कहाँ पुग्न सक्छन् र ? देश,देशाटन गराउन उनले व्यापार नै रोजेको,खोजेको प्रमाणित हुन्छ । सागरमा शब्दप्रति खेल्ने खुवी बेजोड छ । अक्षरलाई उन्ने राम्रो कला छ । वाक्य गठनमा विशेष ज्ञान छ भन्ने कुरा उनको उपन्यास मोहोर र यही नियात्रासंग्रह पढेपछि मैले बुझें ।
‘अरवीहरु प्रत्येक खजुरको बोटलाई सन्तान झैं स्याहार गर्छन् ।’यो वाक्य पढेपछि सागर वन,वातावरणप्रति जागरुक व्यक्ति हुन् जस्तो लाग्छ । उनको खोजीले वन,वातावरण र जैविक विविधताप्रति चेष्टा राख्ने म फुच्चेलाई खुबै चाख बढेको पाउँछु । खासमा नेपालीहरु भौतिक विकासलाई ठूलो उपलब्धि ठान्छन् तर प्रकृति र संस्कृति संरक्षणमा धीमा गतिमा गतिशील देखिन्छन् । प्रकृतिले नै जीवन जोगाउने हो । प्रकृतिको सुन्दरताले नै मानिसको आयु बढाउने हो । संस्कृतिले नै सभ्यताको पहिचान दिने हो ।
नेपालीहरु संसारका सबैस्थानमा पुगेका छन् । उनीहरु नेपाल फर्किदा के ल्याएर आएका छन् ? ज्ञान,सीप,क्षमता,दक्षता,व्यवहार वा अरु केही ? कतिपय नेपालीहरुले नेपाल आउँदा बोटविरुवा लिएर आएको पढ्न पाउँछौं । कतिपय नेपालीहरुले सीप सिकेर आएर नेपालमा प्रयोग गरिरहेका छन् । कतिपय नेपालीहरुले जुवा,तास खेल्न सिकेर आएपछि नेपाली सभ्यता र संस्कारलाई हिप्पी संस्कृतिमा रुपान्तरण गर्ने दुस्शाहस गरेका पनि छन् । यस्तै प्रसंगमा सागरले आफ्नो मन,मस्तिष्कलाई सागरजस्तै फराकिलो बनाएर आफू पुगेका स्थानविशेषको भूगोल ,भावना ल्याइपुराएका छन् अक्षरहरुमा । शब्दहरुमा । यात्राअनुभवहरुलाई गाँसेका छन् वाक्यहरुमा । र, त उनले सिर्जित गरे एउटा सिंगो पुस्तक ‘बलैगाउँदेखि बाकुसम्म’।
पढ्नै पर्ने पुस्तक रहेछ भनेर मैले अनुरोध गर्ने त हो । अरु कुरा त पुस्तक पढेपछि सिक्ने अवसर प्राप्त हुने नै छ । पुस्तक त इतिहास हो । वर्तमान हो । भविष्य पनि पुस्तक रहेछ । पुस्तक सन्तान हो । अभिभावक र आफन्ती पनि रहेछ । पुस्तकले टाढाका कुराहरुलाई गाढा बनाएर निकट ल्याइपुराउँदो रहेछ भन्ने कुरा सागरको नियात्रासंग्रह ‘बलैगाउँदेखि बाकुसम्म’ पढेपछि थप जान्ने मौका मिल्यो ।
प्रतिक्रिया