ताजा अपडेट »

बेपत्ता बस र यात्रुको खोजीका लागि भारतीय सीमावर्ती जिल्लामा समन्वय

मंगलबार, ०१ साउन २०८१, १४ : १६
162 Shares
मंगलबार, ०१ साउन २०८१
162 Shares

चितवन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ ।भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डिएमसँग समन्वय गरिएको हो । यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी बर्दघाट–सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डिएमसँग समन्वय गरिरहेको बताए। नदीमा शव भेटिएमा जानकारी दिन दुवै डिएमलाई आग्रह गरिएको यादवले जानकारी दिए । उनका अनुसार हालसम्म शव भेटिएको कुनै जानकारी आएको छैन । गण्डक ब्यारेजसम्म शव पुगेपछि त्यहाँबाट पारिसमेत जान सक्ने भएकाले समन्वय गरिएको उनले बताए।

सीमा जोडिएका जिल्लासँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार भए पनि पत्राचार गर्नुपरेमा परराष्ट्र मन्त्रालयमार्फत जानुपर्ने भएकाले तत्कालका लागि मौखिकरुपमा कुराकानी गरिरहेको उनले बताए । त्रिशूली नदी नारायणीमा मिसिएर त्रिवेणी हुँदै भारततर्फ बगेको छ । नदीमा बाढी आइरहेकाले शव भारत पुग्न सक्ने अनुमान गरिएको हो । 

गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म १५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । घटनाको विषयमा अध्ययन गर्न गृहमन्त्रालयले सोमबार गठन गरेको कार्यदलले बुधबार स्थलगत रुपमा अध्ययन गर्ने भएको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।