ताजा अपडेट »

त्रिशूलीमा खसेको बस नभेटिएपछि भारत र बंगलादेशसँग मागियो सहयोग

सोमबार, ३१ असार २०८१, ०८ : १२
354 Shares
सोमबार, ३१ असार २०८१
354 Shares

काठमाडौं । गत शुक्रबार पहिरोले त्रिशूलीमा खसेको यात्रुबहाक २ वटा बस निरन्तरको खोजतलासमा पनि फेला नपरेपछि भारत र बंगलादेशसँग सहयोग मागिएको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहितको टोलीले दुर्घटनास्थल सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।

नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिर्दा पनि हराएको बस पत्ता नलागेपछि खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई सहयोग मागिएको गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी दिए । भारतीय टोलीसँग भारतमा सिधै सम्पर्क गरेर सहयोग मागेको उनले बताए । उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका जानकारी आइतबार नै पठाइएको भन्दै भूसालले उताबाट प्रतिउत्तरको प्रतीक्षामा रहेको बताए ।

यसैगरी बंगलादेशसँग भने काठमाडौंस्थित दूतावासमार्फत् सम्पर्क गरेर आवश्यक प्रविधि र जनशक्तिको सहयोग मागिएको भूसालले बताए । बंगलादेशका गोताखोर उद्धारमा उत्कृष्ट मानिन्छन् । तर बंगलादेशको टोलीले जलप्रवाह तीव्र भएको स्थानमा खोज्ने गरेको छैन । दूतावासका कर्मचारीहरुले पनि शान्त खालका नदी तथा तलाउहरुमा खोज्ने दक्षता मात्र आफूहरुसँग भएको तर त्रिशूलीजस्तो तीव्र बहाव भएको नदीहरुमा उद्धारको अनुभव नभएको जवाफ दिएका थिए ।

नारायणगढ(मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई त्रिशूली नदीमा खसालेको थियो । सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव फेला परेको छ । खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोरसहित करिब पाँच सय जनाको टोली परिचालन गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।