ताजा अपडेट »

मन्त्री छनोटका लागि कांग्रेसले मापदण्ड बनाउने

शनिबार, २९ असार २०८१, १८ : ४४
190 Shares
शनिबार, २९ असार २०८१
190 Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिए । 

भौगोलिक, प्रादेशिक एवं समावेशी सन्तुलन, योग्यता र योगदानलाई आधार मानेर मन्त्री छनोटको मापदण्ड तय गरिने उनले बताए । कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा कांग्रेसले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्रीको शपथग्रहणसँगै मन्त्रीले पनि शपथग्रहण गर्नेगरी तयारी भइरहेको कांग्रेसले जनाएको छ । 

बैठकले आगामी सरकारमा सहभागी हुने औपचारिक निर्णयसमेत गरेको पार्टी प्रवक्ता डा. महतले जानकारी दिए । यसैगरी शुक्रबार बिहान चितवनमा भएको बस दुर्घटनामा परी बेपत्ता भइरहेकाहरूको छिटो खोजी गर्न पनि बैठकले सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार बेलुकासम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका थिए । सोहीअनुसार कांग्रेसको साथ लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नै प्रधानमन्त्रीका लागि दाबी पेस गरिसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।