ताजा अपडेट »
पुस्तक समीक्षा

कवितामा कवि खोज्दैजाँदा ..

शनिबार, २९ असार २०८१, १३ : २९
464 Shares
शनिबार, २९ असार २०८१
464 Shares

कविमनसँग कविता हुन्छन् । कविताले नै कवि बनाउँदो रहेछ । यो त मेरो बुझाइ न हो । कविता, अक्षरका थुप्रा र भावनाका पर्खालमात्र होइनन् । कविताले मन बोलेको हुन्छ । मस्तिष्कलाई स्पर्श गरेको हुन्छ र आफूसँग आफैलाई हिडालेको हुँदोरहेछ । कविता विम्व, प्रतिविम्वको खेलोमात्र होइन बरु यसले जीवनका भोगाइलाई मनमा सिउँरिदो रहेछ । 

जमुना भट्टराई कवि हुनुमा उनको बाँकी जीवनको शेष नै रहेछ । कठोर पीडाको तपस्याबाट प्राप्त दोस्रो जीवनको पहिलो यात्रा नै ‘अपदस्थ अस्तित्व’ कवितासंग्रह रहेछ । लाग्छ, उनको जीवन यही कवितासंग्रहबाट सुरु हुँदैछ पुनः ।  कवितामा देखिएका हरेक पक्षलाई केलाएर हेर्दा जीवनका नयाँ आयामहरु देखिन्छन् । कविता, कविताजस्ता छन् । रहरले अक्षर खेलाएका होइनन् उनले । अक्षरले उनलाई नै कविताको साथी बनाएको सत्य हो । 

क्यालिफोर्निया, अमेरिकामा बस्दै आएकी कवि जमुनाले सुखका बयान गरेका छैनन् कवितामा । त्यहाँका वैवभ र ऐयासी जीवनको वर्णन गरेका छैनन् । बरु जीवन भोगाईका नालीवेली समावेश छन् कवितामा । कवितामा देशभक्तिका कुरामात्र होइन, पीडाका सगरमाथा भेटिन्छन् । रहरका जूनकीरीमात्र होइन, बाध्यताका अँध्यारा छन् प्रशस्त । 
कविता पढ्दैजाँदा यस्तो भेटें । टपक्क यो लहरले मन छोयो । आँखा उतै तानिए । भावनाको गहिराईमा मनको फित्ताले नाँपें । 
कहिलेकाँही सोचिरहन्छु
चट्टान हौ तिमी 
मैले चिमोट्दा पनि चाल नपाउने 
मेरो स्पर्श पनि थाहा नपाउने 
तर म त्यही चट्टान कँुदेर 
भगवान् बनाउन चाहन्छु । 

आखिर मानिस किन चाहन्छ ढुंगालाई भगवान् बनाउन ? किन मान्छेका मन पनि चट्टान जस्तै कठोर हुन्छ ? चटटनलाई न स्पर्शको न स्नेहको अर्थ थाहा छ । मानिसमा प्रेमको भोक छ । प्यास छ । खोइ किन !  मानिस, कसैका लागि भगवान् बन्न आत्तुर छ । जसले जे भनेपनि भगवानपछिको भगवान् मानिस नै हो । विश्वास आ–आफ्नै हुन् । 

म तिमी भएर बग्नु छ 
र मैले बगाउनु छ 
आफैभित्रको अहङ्कारको 
एउटा नदी । 

जीवनमा समस्या देखिन्छ तर समाधान लुकेको हुन्छ । समस्या अघिअघि र समाधान पछिपछि हिडेको हुन्छ । अहङ्कार पनि एउटा मानवीय समस्या हो । यसको निराकारण गर्दै अघि बढ्नुपर्ने बाध्यता छ मानिससँग । कहिलेकाँही मानिसले अहङ्कारलाई गर्व ठान्दछ । र, बोकेर निरन्तर अघि बढ्दछ । कवि जमुनाले विराट मन लिएर आफ्नो अहङ्कारलाई आफूबाट बगाउन चाहन्छिन् । यो नै उनको महानता हो । 

किन मलाई परपुरुषसँग दाँज्यौ
एक पटक जन्मेको मान्छे 
मात्र एक पटक मर्छ 
तर किन मलाई पटक–पटक मार्यौ ? 

हृदयको गहिराईमा प्रेमको मोती खोज्न हिडेको हुन्छ मानिस । एकले अर्कालाई बुझ्ने र प्रेम साट्ने अभियानमा हुन्छ मायाको घडीमा । तर, मानिस एकले अर्कालाई नबुझ्दा कस्तो पीडा भोग्नुपर्छ शाब्दिक कुरा कविताको लहरमा कविले प्रश्नचिन्ह् खडा गरेकी छिन् । 

शास्त्रले पुरुष शोषणका र महिला समर्पणका भोका हुन्छन् भनी लेखिएको बेला आफ्नै जो पुरुष छ, त्यसले किन परपुरुषसँग आफूलाई दाँजेर पटक–पटक मार्न चाहन्छ ? कविको युगीन प्रश्नको जवाफ कसले, कहिले र कसरी दिन सक्ला ? प्रश्नले नै परिवर्तन जन्माउँछ भन्ने कुरा यहींबाट सुरु हुने रहेछ । 
यहींनिर प्रेमको सागरमा डुब्लुकी मारेकी कविले प्रकृतिसँग संवाद गरेकी छन् यसरी –
यी पोथ्रा मनका पातहरुमा 
तिम्रो मायाको झ्याँकिरीको 
किरकिर आवाजले 
मलाई बिथोल्ने गर्छन् हरदम । 

प्रेम, शान्त सागरमात्र होइन बरु यो सुनामी रहेछभन्ने कविताको अंशले संकेत गरिहेको छ । मन बिथोल्ने अनेक कारण र अर्थ हुँदारहेछन् । भावनामा खिया लाग्ने अनेक तर्कना भेटिएपनि मान्छेले भावनात्मक माया, स्नेह र प्रेम गर्न छाडेको इतिहास भेटिँदैन । 

अन्त्यमा कविले जीवनका सार पोखेकी छन् कवितासंग्रहमा । उनी लेख्छिन्–क्यान्सरलाई जित्न पहिला परिवारसँग लड्नु पर्यो अनिमात्र रोग र औषधीसँग । यो वाक्य नै काफी छ । अरु कुरा त कवितासंग्रह पढेपछि थाहा भइहाल्छ नि !
जाँदाजाँदै कविताको यो अंशले मन छोएको छ । भावुक बनाएको छ । त्यतिमात्र होइन मस्तिष्कमा झड्का हानेको छ । राष्ट्रप्रति मुठ्ठी कसेर स्नेहको चुम्बन गर्ने रहर जागृत भएको छ । यही कविताले जमुना भट्टराईलाई साँचो रुपमा कवि बनाएको छ । 
अहिले तिमी 
तिम्रा बा–आमा पाल्न सक्दैनौं 
भोलि तिम्रा छोराछोरीले 
तिमीलाई पाल्न सक्दैनन् 
देश तिम्रो अस्तित्व हो 
देश तिम्रो स्वतन्त्रता र स्वाभिमानको शिर हो 
पराजित पराईको भूमिमा बसेर 
मातृभूमिको बखान नगर 
जिन्दगीमा कहिल्यै
आफ्नो देशै नदेखेकाले 
देश बुझ्न कदापि सक्दैनन् । 


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार