ताजा अपडेट »
युवा पुस्ता

‘फोटोग्राफी’मा निखारता खोज्दै प्रशिम..

शनिबार, २९ असार २०८१, ०८ : १३
514 Shares
शनिबार, २९ असार २०८१
514 Shares

बुटवल । क्यामेराको लेन्सले जसरी आकृतिहरुलाई कैद गरेर सुन्दर बनाएर प्रस्तुत गर्न सकिन्छ त्यसैगरी आफ्नो व्यवसायिक जीवनलाई पनि सुन्दर बनाउने भोकमा छन प्रशिम । सानैदेखि स्केच आर्ट तथा पेन्टिङमा उनको रुची थियो । आर्टप्रति उनको झुकाब उनका हजुरबुवादेखिको पारिवारिक वातावरणले नै सिर्जना गरेको उनको बुझाई छ । सानै उमेरदेखि रङ्गहरुको समिश्रणमा रमाउने बानी लागेको उनी बिस्तारै प्रकृतिका दृश्य र विभिन्न बस्तुलाई लेन्समा कैद गरी थप आकर्षित गर्नेतर्फ मोडिए । 

अहिले उनको खुबी र रुचीको विषयनै व्यक्तिचित्र र दृश्यचित्र उतार्नेमा रहेको भन्न रुचाउँछन् । आर्टमा स्नातक गरेका प्रशिमकुमार खनालले नेपालमा मात्र नभई विभिन्न विदेश यात्रामा आफ्नो सीपलाई निखार ल्याउने अवसरहरु प्राप्त गरे । उनको प्रतिभाको प्रशंसा गर्दै विभिन्न विदेशी कम्पनीहरुबाट मस्तै सेवा सुविधा दिने गरी उनलाई काम गर्ने अवसरहरु नआएका पनि होइनन् । तर, उनलाई लाग्यो नेपाली भूमिमै बसेर केही गर्नुछ । 

बुटवलमा प्रशिमके भिज्यूअल आर्ट्स स्थापना गरी सेवा प्रदान गर्दै आएको पनि दश वर्ष पुगेको छ । सन् २०१४ मा स्टुडियो स्थापना गरी काम गर्दै आएका उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मात्रै होइन ३ दर्जन बढी चर्चित सेलीब्रेटीहरुको व्यक्तिचित्र आफ्नो लेन्समा कैद गरिसकेका छन् । 

photo grahey

आर्ट प्रोटेट फोटोग्राफी, फेसन, सेलिब्रेटी कन्सर्ट र कमर्शियलमा विशेषज्ञ फोटोग्राफरको रूपमा, भिजुअल आर्टिस्टको रूपमा काम गरेका उनलाई सन् २०१९ मा थाइल्याण्ड र लाओसको अन्तर्राष्ट्रिय कला र नैतिक भ्रमणको अवसर मिल्यो । उक्त ‘आर्ट एण्ड एथिक्स कन्फ्रेन्स’मा एसियाका उत्कृष्ट १० जना प्रशिक्षकहरुबाट उनले धेरै नयाँ सिक्ने अवसर प्राप्त गरे । उक्त अवसरलाई उनले व्यवसायिक जीवनका लागि एक उत्कृष्ट ‘टर्निङ प्वाइन्ट’का रुपमा मान्ने गर्दछन् ।

उक्त भ्रमणको क्रममा विश्वका १ हजार बढी उत्कृष्ट फोटोग्राफरहरुसँग काम गर्ने र सिक्ने अवसर उनलाई प्राप्त भएको थियो । यसपछि सन् २०२३ मा समेत उनलाई थप अर्को अवसर प्राप्त भयो । उक्त दिनलाई प्रशिमले आफ्नो व्यवसायिक जीवनको अर्को ‘टर्निङ प्वाइन्ट’को रुपमा लिने गरेका छन् ।

अँग्रेजी महिना अप्रिलतिरको एक साँझ विदेशी एक संस्थाले आफ्नो प्रस्तावनालाई स्वीकृत गरेर छनोट गरेको खबर प्राप्त गर्दा उनी खुसीले गद्गद् भएका थिए । नेपालबाट छनोट भई संयुक्त अरब इमिरेट्समा लेन्स घुमाउन पाउँदा विगतमा आफूले भविष्य नदेखेको फोटो ग्राफीमा जीवन चल्छ भन्ने कुरा उनले परिवारलाई समेत बुझाउन सजिलो भयो । जहाँ उनले १५ दिनको भिसा अनुमतिसहित विश्वका उत्कृष्ट फोटोग्राफरहरु बीच काम गर्ने अवसर पाएका थिए । 

सोही क्रममा उनले जर्मनी टिमका फिल्म मेकरहरुसँग सहकार्य गर्ने अवसर पाए । त्यहाँको जीवन शैली, सँस्कृतिलाई समेत नजिकबाट बुझ्ने अवसर उनलाई मिल्यो । उक्त कार्यशालामा प्रशिमले विश्वव्यापी समुदायको जीवनशैली, सभ्यता र सँस्कृतिलाई आफ्नो दृश्यचित्रमा कैदन गर्न सफल भए । उनको क्यामेरामा कैद भएका दृश्य र प्रतिभालाई कदर गर्दै आयोजक कम्पनीबाट पुरस्कृत हुन समेत सफल भए ।

यस क्रममा उनलाई आयोजक संस्थाले थप १५ दिनको भिसा अनुमति दिएर थप कामको जिम्मेवारी सुम्पियो । उनमा देखिएको लगाव कौशलताले प्रभावित भएर दुबईमानै उनलाई राम्रो पारिश्रमिकसहित काम गर्ने थप अफरहरु आयो । तर उनले उक्त कुरालाई स्वीकार गर्न सकेनन् । किनकी उनलाई नेपालमै आएर केही गर्नुपर्ने थियो । 

photo of pramod

नेपालमै बसेर पनि आफूलाई विभिन्न अवसरहरु सिर्जना गर्न सक्ने खुबी भएका उनलाई धेरै कुराहरु अझै सिक्न बाँकी रहेको लाग्छ । व्यवसायीक जीवनमा विभिन्न घुम्तीहरु पार गरेका उनले सन् २०२२ को अन्तिम तिर बुटवलमै एक अवसर प्राप्त गरेका थिए । बुटवलमा पहिलो पटक प्रकाशित पत्रिका ‘विविध’ नामको अँग्रेजी भाषामा प्रकाशित हुने म्यागेजिनमा वरिष्ठ फोटोग्राफरको रुपमा काम गर्ने अवसर प्राप्त गरे ।

उक्त पत्रिकामा मानिसका जीवनशैलीलाई क्यामेरामा कैद गरेर प्रकाशित गरिन्थ्यो । उक्त पत्रिका लामो समयसम्म चल्न नसकेपनि प्रशिमलाई भने एक उत्कृष्ट फोटोग्राफरको रुपमा चिनाउन मद्दत गरेको थियो । ६ अंक प्रकाशित भएको उक्त म्यागेजीनको कभर स्टोरीका लागि उनले व्यवसायिक तथा सफल व्यक्तित्वहरुको तस्विरलाई उतार्ने काम गरे ।

काठमाडौंमा आर्ट फोटोग्राफी स्कूलमा स्नातक गर्दै गर्दा उनलाई कान्तिपुर टिभीको लागि ‘एम एण्ड एस वी–म्याग’मा इन्टर्नशिपको लागि छनोट हुनु पनि एक उत्कृष्ट अवसरको रुप बन्यो । लोकप्रिय फेसन फोटोग्राफर पवन जोशीबाट प्रभावित उनले ३ वर्षे मास्टर क्लास समेत जोशीबाट लिएका हुन् । सिकाईको यात्रामा आफूलाई निरन्तर अघि बढाईरहेका प्रशिम विगत र वर्तमानभन्दा भविष्यमा केन्द्रीत हुने गरेको बताउँछन् । भविष्यमा केन्द्रीत हुनका लागि उनले अगाडिनै गन्तव्य तय गरेका कारण पूरा गर्न सहज हुने दाबी गर्छन् । 

pic 3

व्यवसायिक यात्राको क्रममा आफूजस्तै गन्तव्य तय गरेका नयाँ प्रतिभाहरुलाई समेत केही दिने उनको चाहना छ । यसै क्रममा लुम्बिनीका २५ जना प्रतिभाहरुलाई जम्मा पारेर आफूले स्थापना गरेको प्रशिमके आर्टसको १० वर्ष पूरा गरेको अवसरमा मास्टर्स क्लास समेत सञ्चालन गरे । नर्थ अमेरिकाकी कलाकार सब्रिमाको विशेष उपस्थितीमा आयोजित उक्त कार्यशालामा प्रशिमले आफ्ना अनुभवहरु मात्र सुनाएनन्, सहभागीहरुको अनुभव समेत संकलन गरेका थिए ।

हाल उनी अधिकांश समय बुटवलमा र कामकै शिलशिलामा संघीय राजधानी काठमाठौंमा करिब आधा समय बिताउने गर्दछन् । फोटोग्राफी होस वा भिडियो ग्राफी सामान्य मानिसको बुझाई जस्तो सहज, सरल र हल्का नभएको उनी बताउँछन् । तर, जीवन बुझ्नलाई यसले सरल भने बनाउने उनको बुझाई छ । जीवनमा अझ धेरै ‘प्रमिश’हरु पूरा गर्न बाँकी रहेको प्रशिम बताउँछन् । सुरुवातमा क्यामेरा चलाउन नजान्दा एउटा राम्रो तस्विर क्लिक गर्न सकेभने पनि म सफल हुन्छु भनेर लागेका उनलाई लेन्सको एङ्गल मिलाउन सकेपछि भने सात समुन्द्र पारीसम्मको यात्रामा सहभागी हुने अवसर प्राप्त भएको उनी बताउछन् । यसरी पनि जीविकोपार्जन हुन्छ भन्नेमा उनी र उनको परिवार ढुक्क भएको छ । 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।