ताजा अपडेट »
कृषि उत्पादनमा विद्यार्थी

पढ्दै काम गर्दै अभियानमा बिद्यार्थीलाई सहभागी बनाउदै मगर गाउँ माध्यमिक विद्यालय

विहीबार, २७ असार २०८१, ०६ : १७
254 Shares
विहीबार, २७ असार २०८१
254 Shares

काठमाडौं। ललितपुरको मगर गाउँ माध्यमिक विद्यालयकाे प्राबिधिक शिक्षालयका विद्यार्थी किताबी ज्ञानमा मात्रै सीमित छैनन्, किताबमा अध्ययन गरेको कुरालाई दैनिक व्यवहारमा समेत उतार्छन्। ‘कक्षा–कोठामा सैद्धान्तिक ज्ञान लिन्छौं, बाँकी समय त्यसलाई व्यवहारमा प्रयोग गर्छौं,’ उक्त विद्यालयका एक विद्यार्थीले भने, ‘यसले पढेको कुरालाई व्यवहारमा लागू गर्न सहज हुनुका साथै व्यक्तिगत आम्दानी पनि भइरहेको छ।’

विद्यालयले उनीजस्तै प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई निःशुल्क जमिन उपलब्ध गराएको छ। त्यही जमिनमा विद्यार्थीहरू पढेको कुरालाई व्यवहारमा लागू गर्छन्, उत्पादन बिक्री गरेर पकेट खर्च समेत चलाउँछन्। 

प्राबिधिक शिक्षक नवीन घिसिङ सहित विद्यालयका बिद्यार्थीहरूले विद्यालयले दिएको जमिनमा प्याज, टमाटर, धनियाँ, काउली, करेला, सिमी लटरम्म फलाएका छन्। ‘बिहान कक्षा–कोठामा किताबी ज्ञान लिन्छौं, बाँकी समय त्यसलाई व्यवहारमा प्रयोग गर्छौ,’ शिक्षक घिसिङले भने, ‘हामी पढ्दै, सिक्दै र कमाउँदै गरिरहेका छौं।’

1

विद्यालयको स्वामित्वमा रहेकाे केही आफ्नै जमिन छ। साेही जमिनको केही क्षेत्रफलमा विद्यालय आफैंले एकीकृत अर्गानिक कृषि मोडेल फार्म सञ्चालन गरिहेको छ। विद्यालयले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै फार्ममा व्यावहारिक ज्ञान पनि सिकाउँछ। ‘बागमतीलाई आत्मनिर्भर प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्यलाई साकार पार्न विद्यार्थीलाई अर्गानिक खेतीसम्बन्धी व्यावहारिक ज्ञान दिने गरेकाे  प्राविधिक धारका विभागीय प्रमुख नवीन घिसिङले बताए ।

'हाम्रा विद्यार्थीले किताबी र व्यावहारिक ज्ञानमात्रै सिकेका छैनन्, कृषि–कर्मबाट आम्दानी पनि गरिरहेका छन्’ उनले भने ।

3

विद्यालयले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीको छवटा समूह बनाएको छ। समूहका विद्यार्थीलाई कृषि–कार्य गर्न लागि निःशुल्क जमिन समेत दिइएको छ। ‘विद्यालयको जमिनलाई दुई भागमा बाँडेका छौं,’ घिसिङले भने, ‘एउटा ब्लकको आम्दानी विद्यालयको खातामा जान्छ भने अर्को ब्लगको आन्दानी विद्यार्थी आफैंले लिन पाउँछन्।’ 

यो सिजनमा विद्यार्थीले स्थानीय प्रविधिबाट लहरे प्रजातिको तरकारी बाली लगाएका छन्। ‘अघिल्लो सिजनमा आलु, टमाटर बिक्री ग-यौं,’ ‘यो वर्ष धेरै जमिनमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेकाले धेरै आम्दानी हुने अपेक्षा गरेका छौं।’  उनले अर्गानिक उत्पादन भएकाले व्यवसायीहरू बारीमै आएर उत्पादित वस्तुहरू खरिद गर्ने गरेकोि पनि बताए।

4

विद्यालयले यसबाहेक सालको पातमा तरकारीका बेर्नाहरू पनि उत्पादन गरिरहेको छ। ‘बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा विद्यालयलाई एकीकृत अर्गानिक कृषि प्रशिक्षण तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्दैछौं,’ विद्यालयका प्रधानाध्यापक फुलध्वज लामाले भने, ‘अनुसन्धान केन्द्रको अवधारणाअनुसार संरचना निर्माण गरेर काम गरिरहेका छौं।’

विद्यालयले बेमौसमी तरकारी खेतीका लागि चारवटा हाइटेक टनेलसमेत निर्माण गरेको छ। अर्गानिक मोडल पार्क पनि निर्माण गरेको यस विद्यालयले केही समयमै गाई, कुखुरा तथा माछापालन सुरु गर्ने योजना समेत बनाएको छ। #Krishi Press

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।