ताजा अपडेट »
लघुकथा:

माइला ‘बा’ को चलाखी !

मंगलबार, २५ असार २०८१, ११ : ३४
854 Shares
मंगलबार, २५ असार २०८१
854 Shares

हाम्रा माइला बा सानै उमेरदेखि टाठा, निकै चलाख र चतुर हुनुहुन्थ्यो। पढाइमा पनि उहाँ अग्रस्थानमा नै हुनुहुन्थ्यो। जहाँतहीँ माइला ‘बा’ को निकै चर्चा हुने गर्दथ्यो। माइला ‘बा’ मा म सबैभन्दा चलाख छु भन्ने घमण्ड थियो।
उहाँ खुलेआम भन्नुहुन्थ्यो, ‘म सबैलाई छक्काउन सक्छु तर मलाई कसैले छक्काउन सक्दैन।’ माइला ‘बा’ कहिले वोल्लो घरकासगँ मिलेर पल्लो घरका लाई भित्तामा पुराउनुहुन्थ्यो, कहिले पल्लो घरकासगँ मिलेर वोल्लो घरकालाई भित्तामा पुराउनुहुन्थ्यो। माइला ‘बा’ नचलवलाइकन बस्न सक्नुहुन्नथ्यो। 

आधा उमेरसम्म माइला ‘बा’ सारै असल हुनुहुन्थ्यो, सबैको निम्ति राम्रो गर्नुहुन्थ्यो। पछि उहाँ बढी खेलाडी हुनुभयो। खाली उथलपुथल मात्र गर्न थाल्नुभयो। बेला बेलामा माइला ‘बा’ले घमण्ड पनि गर्नुहुन्थ्यो। ‘म बत्तिस लक्षणले युक्त छु, मेरो बत्तिस लक्षणको अगाडि कसैको दाल गल्दैन ।’ भनेर माइला ‘बा’ सबैलाई चुनौती दिनुहुन्थ्यो। उहाँले दुईटी श्रीमती विवाह गर्नु भएको थियो। एउटी जिमुवालाकी छोरी र अर्की साइला मुखियाकी छोरी। श्रीमतीहरूसँगको व्यवहार पनि साइला ‘बा’को त्यस्तै थियो। कहिले कान्छीसँग मिल्नुहुन्थ्यो भने कहिले जेठीसँग। 

कान्छीसँग मिल्दा जेठीलाई नानाथरी भन्ने गर्नुहुन्थ्यो। त्यो जिमुवालाकी छोरी, सामन्ती परिवार, हाम्रो चालचलन, संस्कार, संस्कृति, बोली भाषा केहि पनि मिल्दैन। त्यसै भएर त मैले तिमीलाई विवाह गरेको। तिमी आएपछि मात्र यो घर हराभरा भएको छ। मेरा गाला पनि पोटिला भएका छन्। तिमीले सबै कुरामा ध्यान पुराउँछेउ। सिपमा, जागरमा, माया र सम्मानमा तिमी अग्रस्थानमा छिउँ, मेरी प्रिय ! यसो भनेपछि कान्छी आमा मख्ख पर्नुहुन्थ्यो। माइतबाट ल्याएका सबै कोशेली पनि खोपीमा लुकाएर ख्वाउनुहुन्थ्यो। घिउ मह माइला ‘बा’ लाई गाउँमा खोजेरै भएपनि ख्वाउने गर्नुहुन्थ्यो।

केही महिना पछि माइला ‘बा’लाई के झोक चल्यो कुन्नि, कान्छी आमालाई छाडेर जेठी आमाकहाँ आइपुग्नुभयो। जेठी आमालाई भन्न थाल्नुभयो, ‘हेर त! म त झुक्केछु नी ! कहाँ तिमी, कहाँ त्यो सामन्तकी छोरी। आहा! तिम्रो माइतको खानदान, तिम्रा माइतको चालचलन। भन्ने पनि गरिन्छ, मुलको पानी कुलको नानी। यस्तो राम्रो ससुराली, तिमी जस्तै सुन्दर श्रीमती हुँदा हुँदै अरूको उक्साहटमा लागेर सौता हाल्न मोरेछु। धिक्कार छ मेरो जुनी। त्यो पाखेको खलकले कहाँ तिमीलाई भेटाउनु, तिम्रो जागर, तिम्रो सिप, तिम्रो म प्रतिको माया र सम्मान। आहा! हेर न, तिमीलाई छाडेर उता लप्कीने म कस्तो मूर्ख हुँ! प्रिय, मलाई माफ गरिदिन्छ्यौ की?’ 

माइला ‘बा’को यो वर्णन सुनेपछि ठूली आमा मक्खै पर्नुहुन्थ्यो। माइला ‘बा’लाई अगाँलो मार्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘आहा! यस्ता दिन पनि आउँदा रहेछन्। मैले त तिमीलाई त्यही नकटीसँग जीवन गुजार्ने भयो भनेर माया मारेकी थिएँ। उसलाई चिन्नु भयो राम्रो भयो।’  कान्छी आमाले भन्दा अझ बढी माया र सम्मान दिने गर्नुहुन्थ्यो। फेरी केही महिना पछि माइला ‘बा’ लाई के झोक चल्यो कुन्नि, एकाएक फ्याट्ट उठेर फेरी कान्छी आमाकहाँ पुग्नुहुन्थ्यो र फेरी उही कुरा दोहो¥याउनु हुन्थ्यो। 

यसै गरी उहाँको दिनचर्या चलेको थियो। कहिले जेठीसँग आउने र कान्छीलाई नङ्ग्याउने, कहिले कान्छीसँग जाने र जेठीलाई नङ्ग्याउने। पटकपटकको यो चरित्र देखेर दुवै आमाहरू वाक्क दिक्क परेछन्। कतिबेला आउँछ त्यो पनि थाहा छैन, कतिबेला जान्छ त्यो पनि थाहा छैन। 

एकदिन दुबै आमाहरू मिलेछन् र माइला ‘बा’लाई दुवै घरबाट निकाली दिएछन्। अहिले माइला ‘बा’ ले चोकचौराहामा बसेर ‘दुवै सामन्तकी छोरी हुन्, दुवैबाट मैले धोका पाएको छु, अब अर्को विवाह गर्न पर्छ’ भनेर धम्क्याउँदै छन्। हेरौँ, सत्तरी कटेका माइला ‘बा’ लाई कसले छोरी देला र खै! माइला ‘बा’ को बानी खराब भए पनि माइला ‘बा’ को सम्पत्ति देखेर इनै सामन्ती भनिएका हरूले नातिनी पो दिने हुन् कि खै, हेरौँ । 

विष्णुहरि शर्मा
लेखकको बारेमा
विष्णुहरि शर्मा
रतम्भकार