ताजा अपडेट »

बागमती सरकारलाई एमालेको समर्थन फिर्ता, ५ मन्त्रीले दिए राजीनामा

सोमबार, २४ असार २०८१, १० : ५७
182 Shares
सोमबार, २४ असार २०८१
182 Shares

हेटौंडा । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्तासँगै एमालेका ५ मन्त्रीले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार भेटेर एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित मन्त्रीहरूले हेटौंडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर संयुक्त राजीनामा बुझाएका छन् ।

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए ।

अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको उनले जानकारी दिए ।

नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने तयारी छ । मुख्यमन्त्रीमा कांग्रेसले दावी गरिरहेको छ । कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिं लामा मुख्यमन्त्रीका दाबेदार छन् । लामा यसअघिको सरकारमा एक वर्ष आर्थिक मामिला तथा योजना मन्त्री थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।