ताजा अपडेट »

कुरा: पिँढीका पाहुनाका

आइतबार, २३ असार २०८१, १५ : ३७
0.97K Shares
आइतबार, २३ असार २०८१
0.97K Shares

‘पिँढीका पाहुना’ अनौठो कार्यक्रम हो । यो कुनै औपचारिक कार्यक्रम भने होइन । न रेडियोमा बज्छ न टेलीभिजनमा आउँछ । यो कार्यक्रम कुनै पत्रिकाको नियमित स्तम्भ पनि  होइन । तर चलिरहेको छ रामपुरको बासु ढकालको पिँढीमा । उनको घरको पिँढीमा पाहुनाहरु आउँछन् । गुन्द्रीमा बस्छन् । पानी पिउँछन् । इच्छा हुनेले चिया चाख्छन् । बात मार्छन् । गाउँदेखि देश,दुनियाँका गफ मार्छन् । रमाईलो कार्यक्रम हो पिँढीका पाहुना । यसका मूली उनै बासु ढकाल हुन् । 

यतिबेला उनी रामपुर नगरपालिका वडा नं.५ का कर्मचारी हुन् । तर उनको परिचय फराकिलो छ । रामपुर एफएममा स्टेशन मेनेजर भएर चार वर्ष बिताए । त्योभन्दा पहिला उनले रेडियो मदनपोखराको स्थानीय सम्वाददाता भएर केही समय गुजारे । सुरुमा त उनले गाउँले देउराली पत्रिकाले दिएको एकहप्ते आधारभूत ग्रामीण पत्रकारिताको तालिम घुँडा टेकेर लिएका थिए ।  यतिबेला उनले पत्रकारितामा स्नातकोत्तरको थेसीस बाहेक सैद्धान्तिक परीक्षा तुरेका छन् । जनसंख्या शिक्षामा मास्टर्स गरेकै कारणले विहानी र विमर्श बाहेक धेरै सन्तान जन्माउने रुची राखेनन् । दुई भए ठीक्क,धेरै भए दिक्क भन्ने कुरा उनले जनसंख्या शिक्षामा पढेका रहेछन् ।

1 

पिँढीका पाहुना कार्यक्रम रेडियोमा बोल्न र पत्रिकामा लेख्न छाडेपछिको उनको धङधङ्गी रहेछ । उनले पाहुनालाई पिँढीमा बसाल्न बोलाउने हैनछन् । आउनुस भनेर मोबाईलको पैसा भ्याउँदा रैनछन् । अनौठो कार्यक्रम चलाउने उनको हुटहुटी देखेर सबै छक्क पर्छन् । यो कार्यक्रम सञ्चालन भएको पनि दुई वर्षजति भएछ तर कति जना आए उनका पिँढीमा बस्न कुनै टिपोट भने छैन । पाहुना कोको आए फेसबुकको वाल हेर्न पर्छ रे बासुलाई ! कस्तो हुस्सुजस्तो लाग्यो बासु । हुन त उनको यो कार्यक्रम कुनै डोनर एजेन्सीले दिएको अनुदान हैन । कसैलाई प्रतिवेदन बुझाउने खालको रकमी कार्यक्रम पनि हैन । कसैले दयाले दिएको उपहार पनि होइन । कसैसँग ज्यूहजुरी गरी मागेर  सञ्चालन गरेको औपचारिक कार्यक्रम समेत परेन । अनि किन राखुन त अभिलेख ? 

बासुलाई यो कार्यक्रमले चिनाएको छ तर हल्का चिनी,चियापत्ती पनि खर्च भएको छ । पिँढीमा गुन्द्री दछ्याउन नभ्याउँदै दुई कक्षामा पढ्ने आठ वर्षीया छोरी विहानीले पाहुनालाई पानी टकार्न आइपुग्छिन् । जहान भीमाले भान्छाकोठामा चिया उमाल्न थाल्छिन् । छोरो विमर्शले बाउको मोबाईल तेर्साएर फोटो खिच्न थाल्छन् पाहुनासँगै बाउको पनि ।  उनको घर रामपुर नगरपालिका वडा नं.६ को विजयपुर( बुद्ध पार्कनजिकै)मा छ । माझटोल पनि भन्छन् भन्नेहरुले उनको घर भएको ठाउँलाई । कालोपत्रे बाटोसँग जोडिएको घर छ  ।  तालपोखरा सोही बाटो हुँदै गइन्छ ।  बाटोमा घर परेकै कारण होला यही बाटो भएर हिड्ने उनका आफन्त,चिनजानका साथीहरु र बासुलाई भेट्न रुचाउनेहरु एकैछिन पिँढीमा बस्छन् र कुरा नार्न थाल्छन् । यो कार्यक्रममा कोही प्रमुख अतिथि र कोही वक्ता वा उद्घोषक रहने चलन नभएको बासुले ठाडै सुनाए । 

2

एउटो भैंसी पालेका रहेछन् । घाँस,कुँडाफाँडो उनकी जहानले गर्दिरहेछिन । डेरीमा लैजान बचेको दूधबाट बनेको मोही पिलाउँदा रहेछन् घरिघरि पाहुनाहरुलाई । दूधवाला चिया खानेलाई पनि व्यवस्था हुने कुरो बासुले सुनाए । बासुको सानो र सुन्दर परिवार धान्न  वडा सचिवको जागिर भकारी नि नभरिने भकारी नि नरिक्तिने खालको रहेछ ।  २०५२ सालमा दोस्रो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण उनले लोकसेवा आयोग नदिएका पनि होइनन् तर भनेजस्तो नतीजा नआएपछि यतै पिँढीमा पाहुना बटुलेर बसेका छन् । घरव्यवहार,सामाजिक काम,जागिर,पत्रकारिताले उनलाई सरकारी स्थायी जागिर खान नदिएकै त होला नि ? नत्र यतिबेला उनी घुम्ने कुर्चीमा फन्किदै उपसचिव हुने बेला भएकै थियो । पढाईले,योग्यताले र समयले । 

उनले हवाई पत्रिका निकाले,दैनिक लुम्बिनी पत्रिका रामपुरमा दिनमा ३०० प्रतिसम्म बेचे । जनचेतना पत्रिकामा काम गरे । पाल्पा सन्देश पत्रिका निकाले । अहिले पनि उनी रेडियो नेपाल र दैनिक लुम्बिनीको स्थानीय सम्वाददाता छन् । उमेर त  खासै गएको हैन तर काम अनुसारको दाम नआएकै कारण पत्रकारितामा रुची क्रमशः घट्दै गएको छ रे !   पिँढीका पाहुना कार्यक्रम कहिलेसम्म सञ्चालन हुन्छ त ? उनको एकीन जवाफ छैन  । कार्यक्रम अबदेखि व्यवस्थित तरिकाले चलाउने उनको योजनामा मैले केही सुझाव दिएको छु । कार्यक्रमका सञ्चालन गर्दा वर्षभरिका निम्ति कुनै एउटा मूल थीम तयार पार्ने ( जस्तै: समृद्धिका लागि कृषि, शिक्षा, पर्यटन) । पिँढीमा आउने पाहुनाहरुले सोही विषयमा आफ्ना तर्कहरु र अनुभवहरु प्रस्तुत गर्ने । विचार,विमर्शहरु पेश गर्ने । आएका पाहुनाहरुलाई आफूले बोलेका विषयमा संक्षिप्त कुरा लेख्न दिने । यो ऐच्छिक हुनेछ । पाहुनाहरुका नाम,नम्बर,ठेगाना र सम्पर्क नम्बर समेत टिप्ने । यसले एउटा अभिलेखीकरणमा सहयोग गर्ने छ । 

3

वर्षभरिमा आएका उचित पृष्ठपोषण र विचारहरुलाई आधार बनाएर पत्रपत्रिका र अनलाईनका लागि राम्रो र ऐतिहासिक मेटर तयार गर्ने । करिव पाँच वर्षसम्मका सबै खुराकहरुलाई संकलन गरि आवश्यक सम्पादन गर्दै राम्रो दस्तावेज हुने गरी बुक तयार पार्नुपर्छ भन्दा बासु खिसिक्क हाँसे ।  पिँढीमा आउने पाहुनाहरुका विचार अमूल्य हुन्छन् । उनीहरुको समय र थीम अनुसारको विचारले समाजलाई नयाँ उर्जा,दिशानिर्देश र सन्देश प्रवाह गर्ने छ । पिँढीका पाहुना बनेर पानी र चिया पिएर सञ्चो,विसञ्चो सोध्न र बासुका पनि चिनेका जानेका सानादेखि ठूला मान्छेहरुसँग सँगत छ भन्न देखाउनका लागि गरिने वा गरिएको कार्यक्रम हो भने चिया र पानीको नाश बाहेक अरु देख्दिनँ मैले । 
कस्तो संयोग ! बासु जन्मिएको पनि असार २३ गते आज । ठ्याक्कै ४५ वर्ष पुगेका रहेछन् । उनी र उनको कार्यक्रमलाई सफलताको शुभकामना । 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार